दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो।
उनीहरू असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए। साढे दश बजेपछि सम्पर्कबिहीन थिए।
आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्न घरबाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना व्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए।
बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिकैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए। सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।
शनिबार दिउँसो नै प्रहरीले पत्रकार सम्मेलन गरी घटनामा संलग्न चार जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ। पक्राउ परेका चारै जना दमारगाउँका स्थानीय हुन्।
रोशनीको बायाँ हातमा करेन्टले जलेको स्पष्ट खत थियो। पोष्टमर्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो।
पोष्टमर्टम रिपोर्टपछि प्रहरी थप अन्यौलमा परेर नयाँ ढंगले घटना अनुसन्धान गर्न सुरू गरेको थियो। घटना अनुसन्धानका लागि सिआइबीको टोली पनि खटिएको थियो।
बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परी रोशनी र शरदको एकसाथ मृत्यु भएपछि उक्त धराप थाप्ने चार जनाले सोही दिन राति आपसमा सल्लाह गरेर उनीहरूको शव व्यवस्थापन गरेका थिए।
त्यसरी घटनास्थलमै रोशनी र शरदको शव छोड्दा बँदेल मार्न थापेको धरापमा परी उनीहरूको मृत्यु भएको गाउँ समाजले थाहा पाउने र त्यसले आफूहरूलाई अप्ठेरो हुने निस्कर्षपछि उनीहरूले दुबैको शव व्यवस्थापन गरेको प्रहरी अधिकारीले जानकारी दिए।
‘विद्युतीय धरापमा परी दुबैको मृत्यु भएपछि उनीहरूका बीचमा सल्लाह अनुसार घर गएर बोरा र खन्नलाई फरूवा ल्याएछन्,’ ती प्रहरी अधिकारीले भने, ‘त्यहीँ बोरामा राखेर शव जंगलबीचको चिरोमा लगेर फरूवाले खनेर माटोले पुरेको तथ्य उनीहरूले स्वीकार गरिसकेका छन्।’
त्यसपछि उनीहरूले शव बोकेर लगेका बोराहरू जलाएको प्रहरीले बताएको छ।
यसअघि पक्राउ परेकामध्येहरू सामाजिक सञ्जाल र युट्युबमा हत्याविरूद्ध चर्को आवाज उठाउँदै आएका ती प्रहरी अधिकारीले बताए।
‘यो घटनामा जो चोर उसैको ठूलो स्वर भने जस्तै देखियो,’ ती प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्नमध्ये केहीले हत्यारालाई फाँसीको सजाय हुनुपर्छ भन्दै युट्युबमा अन्तर्वार्तासमेत दिएका छन्।’
यसअघि पनि प्रहरीले चिनजानकै र नजिकैको व्यक्तिबाट उनीहरुको हत्या भएको आशंका गर्दै आएको थियो। हालसम्म उनीहरूको हत्या भएको दाबी हुँदै आएको थियो।
रोशनी र शरदको करेन्टबाट मृत्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरूको टाउको र शरीरका विभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।
त्यहीँ घाउ चोटका आधारमा प्रहरीले उनीहरूको हत्या भएको बताउँदै आएको थियो। उनीहरू दुबैको टाउको र अनुहारका साथै शरदको अण्डकोषमा पनि गम्भीर चोट थियो। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ।
शरदकी मावली हजुरआमा असोज २८ गते स्थानीय दमारगाउँ अस्थायी प्रहरी चौकीमा र २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर नाति हराएकोबारे लिखित निवेदन दिँदै खोजी गरिदिन आग्रह गरेकी थिइन्।
बुबासँग आमाको छोडपत्र भएकाले शरद आमासँगै मामाघरमा बस्दै आएका थिए। रोशनी र शरद स्थानीय अम्बापुर माविमा कक्षा ८ र ९ मा पढ्ने गर्थे। रोशनीका आमा बुवा र दाजुसमेत छिमेकी देश भारतमा रोजगारीका लागि गएका थिए। दुई बहिनी मात्रै घरमा बस्दै आएका थिए।
सुशीलको अडानले जोगिए हेटौंडाका सुवास
असोज ३० गते दिउँसो १२ बजेतिर खोजी गर्दै जाने क्रममा शरदका मावली हजुरबुवाले उनीहरूको शव फेला पारेका थिए। त्यसपछि प्रहरीलाई घटनाबारे खबर दिइएको थियो।
त्यसअगाडि नै गाउँमा हेटौंडाका टिपर चालक सुवास थिङले शरदकी हजुरआमालाई फोन गरी सोधपुछ गरेकाले उनीहरू हराएकोबारे हल्ला भइसकेको थियो।
सोही सूचनाका आधारमा उनीहरूको शव फेला परेको केहीसमयपछिनै प्रहरीले टिपर चालक सुवासलाई लमहीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको थियो।
सल्यानका सुशील थापा र सुवाश मिल्ने साथी थिए। सुशील पनि गाडी चालक हुन्। सुशीलको मावली गाउँ पनि दमरगाउँ नै हो। अघिल्लो दिन मात्रै उनीहरूले सुशील र सुवासले मोबाइल सेट आपसमा साटेका थिए। सुशीलको मोबाइलमा सम्पर्क हुन नसकेपछि पुरानो सेटमा चलाउँदै गर्दा सुवासले शरदकी हजुरआमाको फोन नम्बरमा गल्तीबस फोन डायल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए।
घटनापछि पक्राउ परेका हटौंडाका थिङले प्रहरीको दबाब थेग्न नसकेपछि उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका थिए। तर घटनामा सुवास र सुशील दुबै निर्दोष देखिएको प्रहरी अधिकारीले स्पष्ट पारेका छन्।
यसअघि प्रहरीले सुवासलाई मुख्य दोषी मानेर अनुसन्धान अगाडि बढाएको थियो।
रोशनी र शरदको शव फेला परेको दुई दिनपछि हेटौंडाका सुवासकै बयानका आधारमा सल्यानका सुशील पक्राउ परेका थिए। तर जति गर्दा पनि उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेपछि प्रहरी तथ्य पत्ता लगाउन उनीहरूको पोलिग्राफ टेष्ट पनि गराएको थियो।
‘सुशीलेले पक्राउ परेदेखि नै आफूलाई घटनाबारे कुनै पनि थाहा नभएको भन्दै आएका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘डे वानदेखिको सुशीलको बयान त्यही थियो, बरू मलाई गोली हानी मारिदिनुस् तर म यो घटनामा संलग्न छँदै छैन भन्थे।’
केही दिन पहिले तिनै सुवासको बयानका आधारमा हेटौंडाका अर्का युवालाई प्रहरीले पक्राउ गरेको थियो।
‘सुवासको कुरा सुन्दा त घटनाको दुई दिन पछि नै प्रहरीलाई मुद्दा चलाउन पर्याप्त प्रमाण थियो,’ घटना अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘तर सुशीलको अडान र बयानले प्रहरीलाई नयाँ तरिकाले सोच्न बाध्य बनायो र अन्तिममा सुवास पनि निर्दोष रहेको तथ्य पुष्टि भयो।’
हेटौंडाका सुवासलाई पक्राउ गर्नुको एउटै कारण सुवासकी हजुरआमालाई फोन सम्पर्क गर्नु नै थियो। तर उनी प्रहरी समक्ष पुगेपछि डर त्रासका कारण असत्य कुरा पनि स्वीकार्दा थप समस्या भएको ती प्रहरी अधिकारीले बताए।
अन्त्यमा कुनै उपाए नचलेपछि प्रहरीले दमारगाउँका केही चर्चामा रहेका युवासहित अधबैंसेमाथि निगरानी बढाएको थियो। अन्तिममा दुई दिन अगाडि पक्राउ परेकामाथि अनुसन्धान गर्दा प्रहरीले शरद र रोशनी हत्या घटनाको नयाँ तथ्य कुरा पत्ता लगाएको हो।
प्रहरीले रोशनी र शरदको घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकर पनि जिल्ला ल्याएर हप्ता दिन जति राखेको थियो। सोही कुकुरले रोशनी र शरदले प्रयोग गर्ने मोबाइल जंगलबाट फेला पारेको थियो।
सामाजिक र राजनीतिक दबाबबीच प्रहरीले ठूलो प्रेसरमा रहेर काम गर्दा केही कमीकमजोरी भए पनि धैर्यकै कारण प्रहरीले तथ्य कुरा पत्ता लगाएको ती प्रहरी अधिकारीले दाबी गरे।