खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पका कारण सुदूरपश्चिममा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गौरामा जनधनको क्षति पुग्यो। यहाँ भूकम्पका धक्काका कारण घर भत्किँदा ६ जना स्थानीयको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
यस्तै, ८ घर पूर्ण रूपले भत्केका छन्। २० घरहरू आधा भत्किएका छन्। यस्तै वडाका ढाई सय घरहरू भूकम्पका कारण चर्किएका छन्। ३५ घरपरिवारका मान्छेहरू अहिले विस्थापित भएका छन्। उनीहरू बाहिर त्रिपाल लगाएर बसेका छन्।
पूर्वी चौकी गाउँपालिकामा काम गर्ने प्राविधिक कर्मचारी गणेश ओझाले बेलुकाको खाना खाने समयमा भूकम्प गएको थाहा पाए।
‘खाना खाने समयमा घरै हल्लेको थियो, त्यही बेला म सचेत भएँ, किनकी पहिला काठमाडौंको भूकम्पको अनुभव मसँग थियो, पछि धेरैबेरसम्म नआएपछि भने अब आउँदैन होला भनेर म खाना खाएर निदाएँ,’उनले भने।
फेरि राती २ बजेर १२ मिनेटमा घर हल्लिन थालेपछि उनको निन्द्रा खुल्यो। उनी दौडिँदै बाहिर निस्किए। त्यहीबेला पर गैरागाउँबाट चिच्याएको आवाज आयो।
‘एकैचोटि ठूलो आवाज आयो, कराएको, चिच्याएको रोएको, आवाज सुनेपछि त शरीर नै जिरिङ्ग भयो,’ उनले भने।
१५ मिनेटपछि उनले गैरामा भूकम्पले ठूलो क्षति गरेको थाहा पाए। सुरक्षाकर्मीको टोली राती घटनास्थलमा पुग्यो।
पूर्वीचौकी गाउँपालिका–३ का वडा अध्यक्ष खडकबहादुर धामीका अनुसार गैरावासी राती मस्त निन्द्रामा थिए। ९ बजेतिर आएको भूकम्पबारे कतिपयले थाहा पाए पनि पछि लगत्तै नगएपछि स्थानीयहरू निदाए।
फेरि रातीको भूकम्पले स्थानीयहरूको निन्द्रा खुल्यो।
हतारमा ज्यान जोगाउन दौडिँदै बाहिर आउन खोज्दा दुई घरका ६ जना घरभित्र पुरिए।
‘सेकेण्डमै घर भत्किएपछि ज्यान जोगाउन बाहिर आउन खोज्दा पनि केही स्थानीयको दुःखद् मृत्यु भयो, उहाँहरूले बाहिर निस्किन पाउनुभएन, भाग्दै बाहिर आउन खोज्दा पनि भूकम्पको एकै झट्कामा पुरिए स्थानीय’, वडा अध्यक्ष धामीले भने।
उनका अनुसार भत्किएका घरहरू झण्डै १० पर्ष पुराना कच्ची थिए।
घरहरू निकै कमजोर हुँदा मानवीय क्षति छिनभरैमा भएको वडा अध्यक्ष धामीले बताए।
भूकम्पका कारण अन्य ८ जना घाइते छन् । उनीहरूको सिलगढीमा उपचार भइरहेको छ। तीन जना भने धनगढीमा उपचारका लागि रिफर गरिएको छ।
घटनापछि गैराका गाउँका स्थानीयहरूले रातभरी खुला आकाशमा रात कटाए।
‘हिजोको घटनाले स्थानीयहरू धेरै डराइरहेका छन्। विस्थापित भएकाहरू अब कहाँ बस्ने भन्ने समस्यामा छन्,’ धामीले भने।
नेपाल प्रहरी, आर्मी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेको छ।
अहिले पनि केही सुरक्षाकर्मीले पुरिएका स्थानीयका सामान निकाल्ने काम गरिरहेका छन्।
गाउँपालिकाबाट र रेडक्रस सोसाइटीले विस्थापितहरूलाई राहत उपलब्ध गराउने काम गरिरहेको छ। थप राहतका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको वडा अध्यक्ष धामीले बताए।