काठमाडौं महानगरपालिकाले दसैंअगाडि असनको डबली खाली गराएपछि योसँग जोडिएका दुइटा पाटा बाहिरिए; संस्कृति र इतिहाससँग नजिक।
एउटा हो यो डबलीमा नचाइने कुम्हो प्याखँ (कुमार नाच)। यो नाच लोप भएकै २६ वर्ष भइसक्यो। नाच कसरी लोप भयो र यसका सांस्कृतिक–ऐतिहासिक पाटा के–कस्ता थिए भन्नेबारे हामीले केही दिनअघि 'कहिले भेटिएलान् २६ वर्षदेखि हराएका कुमार?' शीर्षकको स्टोरी प्रकाशन गरिसकेका छौं।
डबलीको अर्को विशेषता भनेको यहाँ पहिलेपहिले पैसा साट्ने काम हुन्थ्यो। यो काम सराफीहरूले गर्थे।
२०२२ सालदेखि २०२६ सालसम्म कुमार बनेर यही डबलीमा नाचेका दबलकाजी तुलाधरका अनुसार सराफीहरूले पैसा साट्ने काम गर्न डबली प्रयोग गर्थे। यसवापत् उनीहरूले पुरातत्व विभागलाई वार्षिक रकम बुझाउनु पर्थ्यो।
त्यही रकममा थप गरेर कुम्हो प्याखँ सञ्चालन गर्न विभागबाट सहयोग आउँथ्यो।
यसरी यो डबली, कुमार नाच र सराफीहरूको काम एकअर्कासँग जोडिएको थियो।
नाच प्रदर्शन हुने दसैंको समयबाहेक अरू बेला डबलीको प्रयोग तिनै सराफीहरूले गर्थे। यो त्यो बेलाको कुरा हो जति बेला राष्ट्र बैंक स्थापना भएकै थिएन। पैसा साट्ने काम यिनै सराफीहरूको थियो।
असनको डबलीमै किन त?
यहाँ अन्नपूर्ण अजिमाको मन्दिर छ। सराफीहरूले अन्नपूर्ण अजिमालाई लक्ष्मी, अर्थात् धनकी देवीको रूप मानेर यो ठाउँ छानेका हुन्।
सराफीहरू असनको डबलीबाहेक इन्द्रचोक, मरू लगायत ठाउँमा बस्थे।
पछि राष्ट्र बैंकले आधिकारिक रूपमा पैसा साट्ने काम थाल्यो। धेरै सराफीहरू विस्थापित हुँदै गए। असनका सराफीहरूले पनि अन्य पेसा अपनाए।
अहिले यो ठाउँमा धूपबत्ती लगायत पूजा समग्रीको ६–७ वटा पसलहरू हामी देख्न सक्छौं। यहाँ कोही सराफी पैसा साट्न बसेका छैनन्।
हामीले सराफीलाई भेट्न चाह्यौं र सोधखोज गर्यौं। धूपबत्ती पसलका एक व्यापारीले सराफीहरू मरूमा फेला पर्ने बताए।
हामीले मरू गणेशथान नजिकैको लक्ष्मी नारायण मन्दिरमा पैसा साट्ने काम गर्दै गरेका दुई जना व्यक्ति भेट्यौं।
उनीहरूमध्ये एक जना हुन् ७० वर्षका गम्भीरध्वज जोशी।
उनी मरूकै पुराना सराफी हुन्। उनले आफ्ना बुवा सिद्धिध्वजबाट यो पेसा सिकेका थिए।
अर्का रहेछन् ६० वर्षीय लक्ष्मी नारायण श्रेष्ठ। उनले भने यो काम गर्न थालेको जम्मा डेढ वर्ष भयो।
गम्भीरध्वजका अनुसार सराफी शब्द अरबी मूलबाट आएको हो। जसरी अहिले संसारभर अंग्रेजीको चर्चा छ, त्यति बेला भारत र नेपालमा मुसलमान र उनीहरूका अक्षरको चलनचल्ती भएको उनी बताउँछन्। त्यही प्रभावले मुसलमानहरूको शब्दबाटै आफ्नो कामको पहिचान भएको उनले बताए।
'अहिले अंग्रेजीमा मनी एक्सचेन्जर भनेजस्तै त्यो बेला पैसा सटही गर्ने व्यक्तिलाई सराफी भनेर चिनिन्थ्यो,' उनले भने।
कामको पहिचान मात्र होइन, नेपाली सिक्कामै पनि अक्षर अरबी भएको भन्दै उनले चार–पाँचवटा सिक्काहरू देखाउँदै भने, 'अक्षर अरबी हो, शब्द भने नेपाली।'
उनले अगाडि भने, 'मल्लकालमा अरबी शब्द र मुसलमानहरूको यति प्रभाव थियो कि हनुमानढोकामा प्रताप मल्लले विभिन्न लिपि लेख्दा अरबीमा पनि लेखेका छन्। पहिलेपहिलेका चाँदीका मोहरमा मुसलमान र नेपाली अक्षर राखेर बनाएको धेरै भेटिन्छ।'
जसरी अहिले हामी ठाउँठाउँमा बैंकहरू भेट्छौं, त्यति बेला पूर्वदेखि पश्चिमसम्म ठाउँठाउँमा टक्सारहरू थिए। तिनै टक्सारले सिक्का छाप्थे। अहिले राष्ट्र बैंक भएजस्तै त्यति बेला सदर मुलुकी खाना थियो। त्यसले आधिकारिक रूपमा नेपाली नोट साटेर भारतीय र भारतीय नोट साटेर नेपाली बनाउने जिम्मा लिएको थियो। सराफीहरू तिनैकहाँ पैसा साट्न जाने गम्भीरध्वज बताउँछन्।
'हामीले त्यहाँ आइसी (भारू) लिएर नेपाली पैसा दिन्थ्यौं,' उनले भने, 'सय रूपैयाँमा एक आना (चार पैसा) नाफा हुन्थ्यो। त्यति बेला त्यो निकै धेरै थियो।'
विशेषगरी भारतीय र लाहुर गएकाहरू उनीहरूकहाँ पैसा साट्न आउँथे। कोही भारत जानुपर्यो भने पनि भारू साटिदिने उनीहरू नै हुन्थे।
नेपालमा पहिलो पटक २००२ असोज १ गते कागजी नोट प्रचलनमा आएको थियो। पहिलो नोट निकाल्ने संस्था सदर मुलुकी खाना नै हो। राजा त्रिभुवनका पालामा ५, १० र सयका गरी तीन वटा नोट निकालिएको थियो। यी नोटलाई मोरू (मोरू रूपैयाँ) भनिन्थ्यो।
अहिलेका नोटमा जसरी गभर्नरको हस्ताक्षर गरिएको हुन्छ, त्यति बेला खजाञ्चीले ती नोटमा हस्ताक्षर गरेका छन्। तीन वटा खजाञ्ची मुख्य छन्– जनकराज पण्डित, भरतराज पण्डित र नरेन्द्रराज पण्डित।
उनीहरूको नियुक्ति राजगुरुको खलकबाट हुन्थ्यो।
पहिलो नोटमा हस्ताक्षर खजाञ्ची जनकराजले गरेका हुन्। २००९ सालमा नरेन्द्रराजको पालामा बल्ल मोरू १ जारी भयो। यस हिसाबले एक रूपैयाँमा पहिलो हस्ताक्षर गर्ने खजाञ्ची नरेन्द्रराज हुन्। गभर्नरका रूपमा पहिलो हस्ताक्षर गर्ने भने हिमालय शमशेर राणा हुन्। नेपाल राष्ट्र बैंकमार्फत् छापिएका कागजी नोटहरू २०१६ फागुन ७ गतेदेखि प्रचलनमा आएका हुन्।
डेढ वर्षदेखि नोट साट्ने काम गर्दै आएका लक्ष्मी नारायण श्रेष्ठका अनुसार त्रिभुवनको पालाका १, ५, १० र सयका नोट लिने हो भने अहिले ४० हजार रूपैयाँ पर्छ। नेपालकै पहिलो नोट भएकाले पनि यसको मूल्य धेरै भएको उनी बताउँछन्।
यस्ता पुराना नोटमा कुन खजाञ्चीको हस्ताक्षर छ भन्ने कुराले पनि महत्व राख्ने गम्भीरध्वज बताउँछन्। त्यस्तै नोट कुन अवस्थामा छ भन्ने कुराले पनि भाउ तलमाथि हुन्छ।
'यदि खजाञ्ची जनकराज वा भरतराजको छ भने नरेन्द्रराजको भन्दा मूल्य धेरै हुन्छ। नोट च्यातिएको वा थोत्रो अवस्थामा भए त्यसको मूल्य कम हुन्छ,' उनले भने, 'जुन नोट निकै कम पाइन्छ, त्यसको मूल्य त धेरै हुने भइहाल्यो। नपाइने चिज महँगो हुन्छ, पाइने सस्तो।'
त्यस बेला सराफीहरूले भारतीय र नेपाली मुद्रा साट्ने काम बढी गर्थे। अहिले भने उनीहरू तिनै पुराना नोट र सिक्का साटहीको कारोबार गर्छन्। यस्तो कारोबार बैंकले गर्दैन।
गम्भीरध्वज र लक्ष्मी नारायण जस्ता सराफीका ग्राहकहरू पुराना नोट र सिक्का संकलनमा चासो राख्दै आएका संकलकहरू हुन्। किन्नेसँगै बेच्नेहरू पनि उत्तिकै आउँछन्।
'बजारमा हजार भनेजस्तै जो पनि आउँछन्। कहिले पैसा संकलन गर्न, कोही सिक्न, कोही बेच्न, कोही किन्न। धेरै प्रकारका मान्छे आउँछन्,' गम्भीरध्वजले भने।
त्रिभुवनको पालाको पुरानो पैसाजस्तै नेपालको पुरानो लिच्छवि सिक्का पनि उनीसँग छ। साँढे अंकित तामाले बनेको १ पैसाको एउटा सिक्काकै हजार रूपैयाँ पर्ने उनी बताउँछन्।
'आजकल नयाँ पैसाको मूल्य सस्तो भइसक्यो। जति मूल्य छ पुरानोकै छ,' उनले आफ्नो जमाना पनि सम्झिँदै थपे, 'त्यति बेला सय रूपैयाँले काठमाडौंमा एक रोपनी जग्गा आउँथ्यो। गाई पैसाले गाई किन्न मिल्थ्यो। त्यस्तो महँगो जमानाको पैसा हो यो। अहिले त इतिहासै भइसक्यो।'
पहिलो आफू बस्दै आएको मरूमा पैसा साट्ने मान्छेको लस्कर देखेका उनी पुस्तौंदेखि काम गर्दै आएका सराफीहरूमा आफू एक्लै बचेको बताउँछन्।
उनलाई साथ दिन आएका लक्ष्मी नारायण नयाँ भए पनि उनीसँग पैसाबारे ज्ञान छ। उनी यो व्यवसाय गर्नुअघि 'क्वाइन सोसाइटी' मा काम गरेका छन्। क्वाइन सोसाइटीमा हरेक शनिबार पैसाको भाउ के कति तलमाथि भएको छ भनेर छलफल हुन्छ। आफूसँग भएको पैसा एकअर्कामा साटफेर हुन्छ।
यसबाहेक उनीसँग सिक्का र संस्कृतिबारे पढाएको अनुभव छ। २०३८ देखि २०४२ सालसम्म उनी काभ्रे क्याम्पसमा पढाउँथे। उनले यिनै अनुभवका आधारमा यो काम थालेका हुन्।
'अस्तिसम्म २५० को नोटको मूल्य २५००-३ हजार पुगेको थियो। अहिले १५ सयमा झर्यो,' लक्ष्मी नारायणले भने, 'पैसा धेरै आयो भने भाउ घट्छ, कम भयो भने बढ्छ। नोटमा जस्तो सिक्कामा भने त्यति भाउ आउँदैन।'
धेरैजसो ग्राहक घर बनाउँदा जगमा हाल्न र पूजाका लागि सिक्का लिन आउँछन्। उनीहरू तामाको सिक्का खोज्छन्। त्यसको मूल्य डिजाइन हेरेर फरक पर्छ। सबभन्दा सस्तो २० रूपैयाँमा पाइन्छ।
'तामालाई शुद्ध धातु मानिन्छ। त्यसैले घर बनाउँदा गर्भगृहमा राख्न धेरैले किन्छन्। भगवान शिवलाई पनि तामाबाहेक अरू चढाउनु हुँदैन। पित्तलको खासै बिक्री हुँदैन,' लक्ष्मी नारायणले भने, 'सबै पूजामा तामाकै चाहिने भएकाले यसको धेरै बिक्री हुन्छ।'
असनको डबली, मरू, इन्द्रचोक लगायतका ठाउँमा सराफीहरूले पहिलेपहिले साट्ने पैसाको भाउ तोक्ने काम भने कृष्णबहादुर अमात्यले गर्थे। उनी अहिलेका चर्चित उद्योगपति पियुस बहादुर अमात्यका बुवा हुन्।
'आकाश भैरवमुनि उहाँको पसल थियो। उहाँले नै पैसाको भाउ राख्ने काम गर्नु हुन्थ्यो। राष्ट्र बैंक स्थापना हुनुअघि उहाँले नै विदेशी मुद्रा सटहीका सेवासुविधा उपलब्ध गराउनुभएको थियो,' लक्ष्मी नारायणले भने।
कृष्णबहादुरलाई अहिले पनि उनीहरू 'पायोनियर फरेन एक्सचेन्जर' का रूपमा सम्झिन्छन्।