कालीगण्डकी गाउँपालिका ७ आँधीमुहानका वयोवृद्ध बमबहादुर माझी अहिले फुर्सदमा छन्। साहुको घरमा काम गरेर जवानी बिताए।अहिले उनको आफ्नै घर छ, परिवार छ। साहुको घरमा बेहिसाब काम गर्न जानु पर्ने बाध्यता छैन।
कालीगण्डकी नदी किनारमा सानो घर बनाएर बसेका बमबहादुरका श्रीमती, जेठा छोरा र एक छोरी बितिसकेका छन्। तीन छोरा, बुहारी र कान्छी छोरी आआफ्नै घरव्यवहारमा व्यस्त छन्।
कालीगण्डकी किनारको बस्ती आँधीमुहानको एउटा सानो घरको पिँढीमा भेटिएका ९२ वर्षीय बमबहादुर गाउँका सबैभन्दा पाका हुन्।
बमबहादुर माझी बस्तीका जिउँदा इतिहास हुन्। उनलाई बस्तीको स्थापनादेखिको सबै कहानी सम्झना छ।
उनी र उनका दौँतरीहरूले धेरै अरोह–अवरोह पार गरे।
वयोवृद्ध बमबहादुरका अनुसार कालीगण्डकी जलविद्युत आयोजना बनाउने कुरा नहुँदै उक्त स्थानमा माझी बस्ती थियो। उनका बुबा र कान्छा बुबा स्याङ्जाकै बिर्घा गाउँबाट कालीगण्डकी किनार झरेका थिए। कान्छा बुबा लाहुरे भए। बुबासहित बाग्लुङ, पर्वत र अन्य ठाउँबाट आएका करिब १० परिवार सुरुमा कालीगण्डकी किनारमा बस्न थालेका थिए।
बमबहादुरका अनुसार सुरुमा उनीहरू ओडारमा बस्थे। कालीगण्डकी नदीमा माछा मारेर जिविका चलाउँथे।
उनीहरूले नदी वारपार गर्न काठ खोपेर डुंगा बनाए। यात्रुहरूलाई नदी पार गराए। उनीहरूको परम्परागत पेसा यही थियो।
त्यतिबेला डुंगामा नदी तार्दा २ पैसादेखि ४ पैसासम्म लिएको बमबहादुरलाई सम्झना छ ।
उहिले र अहिलेको समय सम्झेर उनले भने, ‘अहिले यस्तो पैसाको हिसाब नै हुँदैन। कालीको गहिरो भेलमा हामी डुंगामा मान्छे र सामान तार्थ्यौं।’
उनले बुबासँगै सानै उमेरमा डुंगा चलाउन सिके।
बमबहादुरका अनुसार उनका आमाबुबाले १९ जना छोराछोरी जन्माएका थिए। हैजा फैलिरहन्थ्यो। उपचारको सुविधा थिएन। तीमध्ये धेरै जना सानैमा बिते।
‘अहिले मेरा एकजना दाइ र एक बहिनी छन्। बाँच्ने बाँचे, बित्ने बितेर गए,’ उनले भने।
त्यो समय माछाको भाउ पनि सस्तो थिायो। तौलमा सेरको हिसाब हुन्थ्यो, एक सेरमा ८० तोला। एक सेरको ४ पैसा लिएको उनलाई सम्झना छ।
कालीगण्डकी वारपार गराए बापत स्थानीयवासीले माझीलाई वार्षिक हिसाबमा अन्न पनि दिन्थे। आफ्नो परिवारले १५ मुरीसम्म धान–मकै पाएको पनि बमबहादुरलाई सम्झना छन्।
वर्षभरिको पारिश्रमिकका रूपमा अन्न उठाउन घरघरै जानु पर्थ्यो।
मिर्मीका बासिन्दा घाँसदाउरा गर्न कालीपारि जान्थे, पारिका वारि आउँथे। माझीका डुंगा खाली बस्न पाउँदैनथे। बाल्यकालमै यस्ता अनुभव हासिल गरेका बमबहादुरले साहुको घरमा बसेर काम गर्नुपर्ने भयो। बुबाले ऋण लागेको भनेर छोरालाई एक जना साहुको घर पठाए।
यसरी बमबहादुर २० वर्षभन्दा बढी साहुको घरमा बसे।
त्यतिबेला कति ऋण लागेको थियो, उनलाई थाहा छैन। उनी जाँदा साहुको घरमा १९ वटा गाई थिए। खेतबारी जोत्नुपथ्र्यो। कति वर्ष यसरी काम गर्दा ऋण चुक्ता हुन्छ भन्ने पनि उनलाई थाहा थिएन।
बिहे भयो। बमबहादुरले साहुको घर छाडे तर काम छाड्न पाएनन्। बिहेपछि उनले आफ्नो घरमा अधियामा दुई वटा भैँसी पाले। श्रीमती घरका भैँसीलाई घाँस काट्थिन्, बमबहादुर साहुका गाईलाई काट्थे। साहुकै खेतबारी जोत्थे।
छोराछोरी जन्मे। छोराहरू कमाउने भए तर बमबहादुरको ऋण चुक्ता भएन। छोराहरूले हिसाब गरेर तिरेपछिमात्रै उनी मुक्त भए, साहुको काम गर्नु परेन।
साहुले पाँच लाख रुपैयाँको हिसाब सुनाएको बमबहादुरले सुनेका हुन् तर छोराहरूले कति तिरे भन्ने थाहा पाएनन्। उनको कामको के हिसाब भयो, त्यो पनि थाहा पाएनन्।
साहुको घरमा वर्षौं काम गरे पनि बमबहादुरले केही पाएनन्, उल्टै छोराहरूले ऋण तिर्नु पर्यो। अचेल छोराहरू पनि टाढिएका छन्।
‘म साहुको घरमा बस्दा उनका चार भाइ छोरा जन्मे। मिर्मीमा छ साहुको घर। छोराहरू यतातिर पनि आउँछन् तर मलाई हेर्दैनन्,’ उनले भने।
नेपालकै सबैभन्दा ठूलो, १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको जलाशय किनारमा छ माझी बस्ती। अहिले यहाँका युवाहरू अर्काको घरमा काम गर्न जानु पर्ने बाध्य छैनन्। बेहिसाब कुनै पनि काम गर्नु पर्दैन।
अहिले गाउँगाउँमा सडक पुगेको छ। डोजर खनेका सडकमा ट्याक्टर चल्छन्। मानिसले भारी बोक्नु पर्दैन।
तैपनि माझी गाउँको पीडा सकिएको छैन, अर्को पीडा आइलागेको छ।
आँधीमुहानका माझी बस्तीको पीडा अझै सकिएको छैन। २०५४ सालमा कालीगण्डकी जलविद्युत आयोजना बनाउन सुरु गरेपछि माझी बस्तीको जीवन धान्ने परम्परागत पेसामा धक्का लाग्यो।
जलविद्युतका संरचना बन्दै गए। मिर्मीमुनि बाँध बाँधेर कालीगण्डकी थुनियो। नदीमा ताल पर्यो। कालीगण्डकीको बाँधले नदी किनारको माझी बस्ती डुबायो। डुंगा चलाएर पैसा कमाउने पेसा बन्द भयो।
माछा पाइन छाड्यो। स्थानीबासी कृष्णकुमारी बोटेका अनुसार तालमा जाल थाप्दा नदीमा जस्तो माछा पर्दैन।
‘अचेल पहिलाजस्तो माछा पर्दैन,’ उनले भनिन्, ‘१० वटा जाल थापरेर तीन–चार दिन छाड्दा पनि माछा पर्दैन।’
पन्ध्र वर्षकै उमेरमा बिहे गरेर पाल्पाबाट आँधीमुहान आएकी कृष्णकुमारी गाउँलेका दुःख यथावत् रहेको बताउँछिन्।
जलाशयले माझी बस्ती डुबाएपछि जलविद्युत आयोजनाले एउटामा दुई परिवार बस्ने गरी १० वटा घर बनाइदिएको छ। प्रत्येक घरमा ६ कोठा छन्। एक परिवारले तीन कोठा पाएको छ।
डुबानमा नपरे पनि विस्थापित परिवारका लागि आयोजनाले आँधीमुहानभन्दा केही माथि सात वटा घर बनाइदिएको छ। दुई कोठे ती घर सात परिवारले एउटा पाएका छन्।
आँधीमुहानमा तीन कोठा पाएका परिवारले कोठा विस्तार पनि गरेका छन्। आयोजनाबाट विस्थापित माझीले जेजस्तो भए पनि घर पाए तर लालपुर्जा पाएका छैनन्। गरिखान खेतबारी छैन।
आँधीमुहानका युवा प्रेमबहादुर बोटेका अनुसार लालपुर्जाका लागि कालीगण्डकी गाउँपालिकाले सिफारिस गरेको छ तर प्राप्त भएको छैन। दाजुभाइको अंशबण्डा हुन पाएको छैन।
‘लालपुर्जा भए काम गरेर खाने बाटो बन्थ्यो। धितो राखेर ऋण लिन पाइन्थ्यो। हामी अझै ढुक्क छैनौँ,’ प्रेमबहादुर भन्छन्, ‘लालपूर्जा नहुनु अहिले यहाँको सबैभन्दा ठूलो समस्या हो।’
२०५४ सालमा निर्माण थालेर २०६९ सालमा पूरा भएको कालीगण्डकी जलविद्युत आयोजना चालु छ। नेपाललाई लोडसेडिङमुक्त बनाउन सबैभन्दा ठुलो योगदान यसैको छ।
यो आयोजना कुल ५० अर्ब रुपैयाँ लगानीमा बनेको हो।
आयोजनाले दिएको जग्गाको मात्र होइन, आँधीमुहानका अन्य नयाँ घरहरूको पनि लालपूर्जा छैन। आधुनिक शैलीमा बनेका यस्ता घरहरूमा होटल, रेस्टुरेन्ट र पसलहरू छन्।
कोरोना महामारीअघि यी होटल र रेस्टुरेन्ट स्वदेशी र विदेशी पर्यटकहरूले भरिन्थे। धेरै जसो भारतीय पर्यटक हुन्थे। कोरोना महामारीपछि पर्यटक आगमन ह्वात्तै घट्यो। कृष्णकुमारीका अनुसार कहिलेकाहीँ केही विदेशी पर्यटक आए पनि आफ्नै क्याम्प लिएर आउँछन्।
कालीगण्डकी जलविद्युत आयोजनाले बसाएको आँधीमुहान माझी बस्तीको जग्गा अहिले मिर्मीकै भगवती नमुना माविको नाममा गएको छ।
विद्यालयका अध्यक्ष विष्णुप्रसाद भट्टराईका अनुसार उक्त जग्गा राणाकालदेखि नै आलनदेवी मन्दिर गुठीको नाममा थियो। भट्टराई परिवारहरू पनि यस गुठीका मोही थिए।
गुठीको जग्गामा भट्टराई परिवारले धान रोप्थे। आधा धान गुठीले लैजान्थ्यो। जग्गाको विषयमा मुद्दा परेपछि स्याङ्जा जिल्ला अदालत र उच्च अदालत कास्कीले उक्त जग्गा स्कुलको हुने फैसला दिए।
धान फल्ने खेत कालीगण्डकी जलविद्युतले आयोजनाले अधिग्रहण गरेको छ। अधिग्रहणबाट आएको रकम गुठीको अक्षय कोषमा राखिएको भट्टराईले बताए।
अदालतको फैसलाबाट स्कुलको नाममा पुगेको जग्गामा खेतबारीभन्दा जंगलक्षेत्र बढी छ। चार सय रोपनी जंगल क्षेत्र भनिएको उक्त जग्गामै आँधीमुहान बजार पनि छ।
स्थानीय युवा प्रेमबहादुर बोटेका अनुसार आँधीमुहानका माझीहरूले स्कुललाई पैसा तिरेर बस्ती बसाएका हुन्। जलविद्युत आयोजना बनेपछि आँधीमुहानका बासिन्दाले पोखराको फेवातालबाट डुंगा लगेर कालीगण्डकीको जलाशयमा चलाएका थिए। अहिले स्टिमर पनि राखेका छन्।
आगन्तुकहरू स्टिमर चढेर संसारकै ठूलो शालीग्राम भनिएको सेतीवेणी शालीग्राम शिला मन्दिर जाने गर्छन्।
कोभिडपछि स्टिमर व्यवसायमा पनि धक्का लागेको छ।
जलाशयमा स्टिमर र डुंगा चलाउने व्यवसाय जोखिममा छ।
प्रेमबहादुरका अनुसार जलाशयपारि बाटो बनाउन डोजर चलाइएपछि पहिरो जान थालेको छ। ठूलो पहिरो जलाशयमा झर्दा पानीको छालले डुंगा र स्टिमर डुबाउने समस्या भएको छ।
उनका अनुसार एउटा स्टिमर तयार गर्न कम्तीमा १५ लाख रुपैयाँ खर्च हुन्छ।
देशकै ठूलो कालीगण्डकी जलविद्युत आयोजनाले आँधीमुहानको परम्परागत जीवनशैली खलबल्याइदियो। नयाँ प्रबन्धले लय समाएको छैन।
पम्परागत पेसा बन्द भएपछि एकातिर रोजगारीको समस्या छ, अर्कातिर लालपूर्जा पाउने टुंगो छैन। पर्यटक आगमन ठप्प हुँदा ससाना व्यवसाय पनि चलेका छैनन्।
राजनीतिक दलका नेताहरूले गाउँलेका पिरमर्कामा चासो नदिएको आँधीमुहानका बासिन्दाको साझा गुनासो छ। नेताहरूले लालपुर्जा दिलाउने भन्ने गरेका भए पनि काम भएको छैन।
स्याङ्जाकै नेताहरू मन्त्री हुँदा पनि लालपुर्जा पाउन नसकेको धेरैको गुनासो छ।
आँधीमुहानका माझी मात्र होइन, मिर्मीका केही बासिन्दासँग पनि लालपुर्जा छैन। त्यही जग्गामा पक्की घर बनेका छन्। मिर्मीका करिब सय घरको लालपुर्जा नरहेको भुक्तभोगीहरूको भनाइ छ।
आँधीमुहानका माझी महिलाहरूले आमा समूह गठन गरेका छन्। मासिकरूपमा गाउँमा सरसफाइ गर्छन् । साना माछा जोगाउन ठूलो प्वाल भएको जालमात्र थाप्ने निर्णय गरेका छन्।
कालीगण्डकीमा माछा मार्न विष हाल्न आउने अन्यत्रका युवालाई समातेर प्रहरीलाई बुझाउने गरेका छन्। आँधीमुहान आमा समूहकी सचिव बलिदेवी बोटेका अनुसार महिलाहरू गाउँ सुधारको काममा लागेका छन्। आँधीमुहानमै स्थायी बसोबासको व्यवस्था मिलाउन संघर्षरत छन्।
अहिले फेरि सरकारको अर्को ठूलो परियोजनाले उनीहरूलाई चिन्ता थपिदिएको छ।
भारत–चीन जोड्ने गरी निर्माण थालिएको सडक आयोजनाको बोर्ड गाउँकै एउटा छेउमा राखिएको छ। यो बोर्डले आँधीमुहानका बासिन्दालाई तर्साइरहन्छ।
कालीगण्डकी जलाशय किनारको आँधीमुहान बजार सानो छ। सडक साँघुरा छन्। कालीगण्डकी करिडोरले माझी परिवारका केही घर भत्किन सक्ने कृष्णकुमारीले बताइन्।
‘ठूलो बाटो बनाउँदा कुनातिरका घर भत्किन्छन् भनेका छन्। फेरि हामी कहाँ जाने हो, थाहा छैन,’ उनले भनिन्।