जोरपाटीस्थित बोधिसत्व इन एक्सन (बिआइए) को भवनबाहिर एउटा बोर्ड छ, जसमा लेखिएको छ– निःशुल्क ह्विलचेयर मर्मत केन्द्र।
यहाँ ह्विलचेयर मर्मतको काम २८ वर्षीय रामकाजी मिजारले गर्छन्, जो आफैं पनि ह्विलचेयरमा हिँडडुल गर्छन्।
रामकाजीले यो काम थालेको झन्डै एक दशक भयो। दुई महिनायता उनलाई गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग पनि गर्दै आएको छ।
उनले ह्विलचेयर बनाउने कामको सुरूआत रहरभन्दा बाध्यताले गरेका थिए। अहिले यही काम उनको परिचय बनेको छ।
'ह्विलचेयर बिग्रिँदा म लगायत मेरा साथीहरूले एकदमै दुःख पाएका थियौं। गाडी बनाउने वर्कसपहरूमा लग्दा कसैले बनाइदिँदैनथे,' उनले भने, 'म आफैंले खोलखाल पार्ने, रिपेयरिङ गर्ने, पंचर टाल्ने काम गर्न थालेँ।'
रामकाजीले अपांगता हुनुअघि साढे चार वर्ष काठमाडौंमा वेल्डिङको काम गरेका थिए। त्यही सिपले ह्विलचेयर मर्मत गर्न सहयोग पुर्याएको उनी बताउँछन्।
२०६८ असारमा उनी आफ्नो घर दोलखा जाँदा डाले घाँस झार्न रूख चढेका थिए। रूखनजिकै नांगो तारमा जसै हाँगाले छोयो, उनी करेन्ट लागेर भुइँमा खसे। नराम्ररी भुइँमा बजारिँदा उनको मेरूदण्ड भाँचियो।
'गाउँमा अपांगता भएको व्यक्ति कोही नदेख्दा म आत्तिएको थिएँ। खगेन्द्र नवजीवन केन्द्र (जोरपाटी) मा आफूजस्ता धेरै मान्छे देखेपछि मन भुल्यो। अब म हिँड्न नसक्ने रहेछु भन्ने पनि यहीँ आएर थाहा पाएँ,' रामकाजीले भने, 'मभन्दा खुट्टा धेरै चल्ने साथीहरू पनि मेरूदण्ड भाँचिएर हिँडडुल गर्न सकेका थिएनन्। संसारभर हिँडिरहेको, काम गरिरहेको मान्छे, एक्कासि अपांग भएँ भन्ने थाहा पाउँदा दुई–चार दिन त खानै मन लागेन, निद्रै नलाग्ने, छटपटी भयो।'
खगेन्द्र नवजीवन केन्द्रको तीनमहिने बसाइपछि रामकाजीले आफ्नो जीवन अपांगताकै कारण खेर जान नदिने अठोट लिएका थिए।
उनी तातोपानीस्थित सिर्जनशील कला केन्द्रमा थांका सिक्न थाले। त्यहाँ उनीजस्तै अपांगता भएका छ-सात जना व्यक्ति थांका बनाउँथे। तर त्यहाँका संस्थापकले केही समयपछि संस्था राम्ररी चलाउन सकेनन्। उनले काठमाडौंमा विभिन्न सामाजिक काम गर्दै आएका चोग्याल रिम्पोचेसँग सम्पर्क गरे। रिम्पोचेले उनीहरूलाई आफ्नो घर चाबहिल ल्याए र थांकाको कामलाई निरन्तरता दिए।
उनै चोग्याल रिम्पोचेले पछि अपांगता भएका व्यक्तिहरूलाई सिपमूलक काम सिकाउन 'बोधिसत्व इन एक्सन' (बिआइए) नामक संस्था नै खोले।
बिआइए आएपछि रामकाजीले चार–पाँच वर्ष थांकाकै कामलाई निरन्तरता दिए। पछि थांकाभन्दा ह्विलचेयर मर्मतमा उनको मन बस्यो। बिआइएमा सयौंको संख्यामा अपांगता भएका व्यक्ति बस्थे। उनीहरूको ह्विलचेयर बिग्रिने समस्या दिनैजसो आउँथ्यो तर बनाउने ठाउँ पाइन्थेन। रामकाजीलाई थांकाभन्दा ह्विलचेयर मर्मतको काम महत्वपूर्ण लाग्यो।
यसबीच रामकाजीले जापानले दिएका दुइटा तालिम लिने अवसर पाए। यसले ह्विलचेयर मर्मतमा झनै निखार ल्यायो।
'पहिले आफ्नो बलबुताले भ्याएसम्म अलिअलि गर्थेँ। दुइटा तालिम लिएपछि झनै दक्ष भएँ,' उनले भने, 'अहिले त म ह्विलचेयर मर्मत मात्र होइन, मोडिफाइ पनि गर्न सक्छु। कोही साथीहरू घोप्टो परेर बस्ने वा ढल्केर मात्र बस्न सक्ने हुनुहुन्छ भने म ह्विलचेयरलाई त्यति नै डिग्रीमा ढल्काएर बनाउन सक्छु।'
दुई महिनायता रामकाजीले गोकर्णेश्वर नगरपालिका कर्मचारीका रूपमा ह्विलचेयर बनाउन थालेका छन्। उनी बिआइए र आफ्ना साथीहरूसँगै नगरपालिकाभित्र बिग्रिएका ह्विलचेयरको पनि मर्मत गर्छन्।
उनका अनुसार नेपालमा अपांगता भएका सबभन्दा धेरै व्यक्ति गोकर्णेश्वर नगरपालिका वरपर नै बस्छन्। यता धेरै बस्नुको कारण यहाँ अपांगता भएका व्यक्तिका लागि धेरै संघ–संस्था खुल्नु र रोजगारको अवसर हुनु हो।
'नगरपालिकाले अपांगता भएका व्यक्तिहरूको समस्या बुझेको छ। यहाँका हरेक संघ–संस्थालाई बजेट छुट्याएको छ,' उनले भने।
रामकाजीकहाँ गोकर्णेश्वर नगरपालिका मात्र नभएर धेरै टाढादेखिका मान्छे आउँछन्। हामी पुग्दा गोरखासम्म पुर्याउनुपर्ने ह्विलचेयर मर्मतका लागि ल्याइएको थियो।
'काठमाडौंमा ह्विलचेयर प्रयोगकर्तालाई जति सुविधा छ, गाउँकालाई त्यति सुविधा छैन,' उनले भने, 'काठमाडौंमा विभिन्न संघ–संस्थाले बेलाबेला ह्विलचेयर वितरण गर्छन्। यहाँ कति प्रयोगकर्तासँग दुई-तीनवटासम्म ह्विलचेयर छ। गाउँका मान्छेसँग भने एउटा पनि नहुन सक्छ। यस्तो अवस्था हामी मिलेर बदल्नुपर्छ।'
धेरैले चढ्ने स्ट्यान्डर्ड ह्विलचेयर हो। त्यसबाहेक कहिलेकाहीँ विदेशीले फरक खालका ह्विलचेयर बाँड्ने गरेका छन्। कतिले बाहिरबाटै मगाउँछन्।
एकपटक जर्मनीका एक व्यक्तिले करिब हजारवटा ह्विलचेयर नेपालमा वितरण गरेका रहेछन्। त्यो ह्विलचेयर खोल्ने सामान नहुँदा रामकाजीलाई समस्या भएको थियो। एउटा ह्विलचेयरको पछाडि उनले मर्मत सामग्री फेला पारे। अहिले उनी त्यही प्रयोग गर्छन्।
यसरी बेलाबखत आउने फरक खालका ह्विलचेयरबाहेक अन्य सामान्य ह्विलचेयर मर्मत गर्दा पनि केही समस्या आउँछन्। कुनैको टायर पाउन मुस्किल हुन्छ। त्यसलाई विदेशबाट अर्डर गरेर ल्याउनुपर्छ। पहिलेको तुलनामा भने समस्या कम हुँदै गएको उनी बताउँछन्।
'पहिले टायरमा पम्पले हावा हाल्नुपर्थ्यो, अहिले मेसिन छ। धुने, काट्ने, ड्रिल गर्ने सबै प्रकारको मेसिन पाइन्छ,' उनले भने, 'पहिला सामान्य भाँचियो भने पनि वेल्डिङ गर्न बाहिर लग्नुपर्थ्यो। अहिले सहज भएको छ।'
ह्विलचेयर मर्मतका सामान पहिले उनले राष्ट्रिय अपांग पुनर्स्थापना केन्द्र र बिआइएमार्फत् पाउँथे। पुनर्स्थापना केन्द्रले लकडाउनयता सामग्री बाँडेको छैन। बिआइएले पनि उनी नगरपालिकामा कार्यरत भएयता सुविधा कटौती गरेको छ। अब त्यो सुविधा आफैंले दिन बजेट छुट्याएको नगरपालिकाका मेयर दीपक रिसाल बताउँछन्।
रिसाललाई अपांगता भएका व्यक्तिको ह्विलचेयर मर्मतमा सहयोग पुर्याउनु पर्छ भन्ने सोच उनी मेयर निर्वाचित हुनुअघि नै आएको थियो।
'एकदिन बाटोमा हिँड्दै गर्दा ह्विलचेयर बिग्रिएर अलपत्र परेका एक प्रयोगकर्तालाई देखेको थिएँ। कुनै दिन पावरमा पुगेँ भने अपांगता भएका व्यक्तिको ह्विलचेयर मर्मतमा सहयोग गर्छु भन्ने त्यसै दिन सोचेको थिएँ,' उनले भने।
ह्विलचेयर कुन बेला कस्तो ठाउँमा बिग्रिन्छ भन्ने थाहा हुँदैन। बिग्रिएकै ठाउँमा गएर मर्मत गराउने सोच पनि रिसालले बनाएका छन्। त्यसका लागि गाडी किन्न २६ लाख बजेट छुट्याएको उनी बताउँछन्। निःशुल्क ह्विलचेयर मर्मत मात्र होइन, अपांगता भएका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य, पूर्वाधार र खेलकुदमा पनि सहयोग पुर्याएको छ।
'अपांगताको (क) र (ख) वर्गमा पर्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई नगरपालिकाले एक लाख रूपैयाँको स्वास्थ्य बिमा गरिदिएको छ। उनीहरूले मेडिकल कलेजमा स्वास्थ्य उपचार गराउँदा छुट पनि पाउँछन्,' उनले भने।
खेलकुदतर्फ अपांगता भएका व्यक्तिका लागि बास्केटबल, पौडी लगायत प्रतियोगिता आयोजना गरिन्छ। राम्रा खेलाडीलाई प्रोत्साहन दिइन्छ। नगरपालिकामा अपांगतामैत्री बास्केटबल कोर्ट निर्माणको पहल पनि गरेको उनले बताए।
त्यस्तै पूर्वाधारतर्फ अस्पताल क्षेत्रदेखि नगरपालिकाभित्रका विभिन्न ठाउँमा अपांगतामैत्री सडकपेटी निर्माण भइरहेको छ।
'अपांगता भएका व्यक्ति धेरै बस्ने गोकर्णेश्वर नगरपालिकालाई हामी अपांगतामैत्री बनाउन चाहन्छौं। त्यसका लागि सक्दो पहल गरिरहेका छौं,' उनले भने।
नगरपालिकाले आफूजस्ता अपांगता भएका व्यक्तिलाई सहयोग गरेकोमा धन्यवाद दिँदै रामकाजी मिजारले भने, 'यसले हाम्रो मनोबल बढाएको छ। काम गर्न ऊर्जा थपेको छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी