एघार वर्षअघिको त्यो दसैं अर्जुन तामाङको जीवनमा दशा बनेर आएको थियो।
उनी घर लिप्न पहेँलो माटो खन्न गएका थिए। त्यही माटोले पुरेर घाइते भए। 'स्पाइनल इन्जुरी' का कारण मेरूदण्ड चलेन। उनको सहारा ह्विलचेयर बन्यो।
अर्जुनले ह्विलचेयरमै बसेर बनाउन मिल्ने थांकाको काम सिके। सिक्दासिक्दै काठमाडौंको बोधिसत्व इन एक्सन (बिआइए) सँग सम्पर्क भयो। अहिले उनी थांका मात्र बनाउँदैनन्, आफूजस्तै शारीरिक अपांगता भएका व्यक्तिहरूलाई बास्केटबल पनि सिकाउँछन्। साथीहरूले उनलाई 'राम्रो गीत गाउने मान्छे' भनेर पनि चिन्छन्।
'थांका मेरो काम भयो,' उनले भने, 'बास्केटबल शारीरिक अभ्यासका लागि खेल्छु अनि गीत गाउनु मेरो सोख हो।'
बिआइएमा अर्जुनजस्ता सयौं छन्, जसले अपांगतापछि पनि ऊर्जाशील र सकारात्मक जीवन बिताइरहेका छन्।
बिआइए सन् २०१४ मा स्थापना भएको गैरसरकारी संस्था हो। यसका सञ्चालक चोग्याल रिम्पोचेले पहिलेदेखि अनाथ बालबालिकाको हेरविचार लगायत विभिन्न सामाजिक काम गर्दै आएका थिए। उनी बौद्ध धर्म, योग र जीवनोपयोगी ज्ञान दिने काम पनि गर्छन्।
बौद्धमा जन्मिएका र हाल स्वयम्भू बस्ने उनले स्वयम्भूमै अनाथ बालबालिका उद्धार गर्ने संस्था खोलेका छन्। एकदिन अपांगता भएका व्यक्तिहरू देख्दा उनलाई लागेछ, 'साना केटाकेटीहरू त भोलि आफ्नो भविष्य आफैं बनाउन सक्छन् तर जो अपांग छ, उसले आफ्नो शरीरमा भएको असहजता कहिल्यै फिर्ता पाउन सक्दैन। उनीहरूलाई हामीले थप सहयोग गर्नुपर्ने हो कि?'
यही सोचका कारण उनले आफ्नी आमाको घर चाबहिलमा अपांगता भएका छ जना व्यक्ति राखेर थांका सिकाउन थाले। संख्या बढ्दै गएपछि जोरपाटीमा संस्था नै खोले र नाम राखे– बोधिसत्व इन एक्सन (बिआइए)।
यो नाम राख्नुको कारण खुलाउँदै संस्थाका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले भने, 'बोधिसत्वलाई हामी करूणा भन्छौं। बाटोमा समस्या परेको मान्छे देख्दा सहयोग गर्न पाए हुन्थ्यो भन्ने सोच धेरैको मनमा आउँछ। तर केही दिनमै त्यो सोच यसै बिलाउँछ। पलभरलाई मनमा उब्जिने करूणा, दया र बोधिसत्वको भावना कुरामै सीमित हुन्छ, एक्सन (व्यवहार) मा आउँदैन। हाम्रो बोधिसत्वको भावनाले परिणाम दिने भनेको एक्सनमा आएपछि मात्र हो। त्यही भएर बोधिसत्व व्यवहारमा हुनुपर्छ भन्ने हिसाबले नाम राखेका हौं।'
थांकाबाट सुरू यो संस्थामा अहिले अप्लाइड थांका (सियो–धागो र फ्याब्रिकमार्फत बनाइने), ढाका, सिलाइबुनाइ, गलैंचा बुन्ने, धुपबत्ती बनाउने, मूर्ति बनाउने लगायत पनि सिकाइन्छ। यहाँ आउने व्यक्तिले आफूलाई मन लागेको विषयमा काम गर्न सक्छन्। इच्छा भयो भने छ महिनाभित्र विषय परिवर्तन पनि गर्न पाइन्छ।
जोरपाटीस्थित बिआइएमा करिब १ सय ३० जना अपांगता भएका व्यक्ति छन्। यसको कीर्तिपुर शाखामा थप ३० जनाजति छन्। उनीहरूलाई त्यहीँ खानेबस्ने सुविधा छ। कतिपय नजिकै कोठा भाडामा लिएर बसेका छन्। उनीहरूलाई खानबस्न बिआइएले सहयोग गर्छ।
कामको प्रकृति हेरेर यहाँ मानसिक अपांगता भएका व्यक्तिलाई लिइन्न। १८ वर्षमुनिका बालबालिकालाई पनि लिइन्न।
'थांका बनाउनुछ तर हातले साथ दिँदैन भने उहाँहरूलाई काम गर्न गाह्रो हुन्छ। त्यही भएर हामी त्यस्ता व्यक्तिलाई राख्दैनौं,' गोकर्णले भने, 'कतिपयले म प्रयास गर्छु भन्नुभयो भने हामी अवसर चाहिँ दिन्छौं।'
जसलाई इच्छा छ, उनीहरूले संस्थामा सम्पर्क गरेर तालिम लिन पनि सक्छन्। त्यसबापत कुनै शुल्क तिर्नुपर्दैन।
'हामीसँग सिट खाली छ र कामको मापदण्ड मिल्यो भने हामी जसलाई पनि राख्छौं। कोही यहाँ बस्दिनँ तर तालिम लिन्छु भन्नुहुन्छ भने हामीसँग त्यस्तो सिट धेरै छ,' गोकर्णले भने, 'सकेसम्म हामी त्यस्ता व्यक्तिलाई तालिममा राख्न चाहन्छौं जसको पारिवारिक अवस्था कमजोर छ र जसलाई तालिमको आवश्यकता छ। त्यस्तो व्यक्तिलाई तालिम दिन पाउँदा हामीलाई ठीक मान्छेसम्म पुगियोजस्तो लाग्छ।'
सुरूमा उनीहरूले सिटिइभिटीको पाठ्यक्रमअनुसार तालिम दिने सोचेका थिए। तर त्यस्तो पाठ्यक्रम नभएपछि थांका सिकाउने शिक्षकले नै पाठ्यक्रम तयार गरिदिए। सात वर्ष लामो यो पढाइलाई अहिले छ वर्षमा झार्ने तयारी हुँदैछ। यहाँ वार्षिक परीक्षा पनि लिइन्छ र नतिजाअनुसार मासिक प्रोत्साहन रकम दिइन्छ।
'खानेबस्ने सुविधा भएकाले पैसा धेरै हुँदैन। प्रोत्साहन रकमबाहेक हामीसँग काम गरेको केही समयपछि रिटायरमेन्ट फन्ड भनेर बैंकमा खाता खोलिदिन्छौं जसमा मासिक हजार रूपैयाँ हालिदिन्छौं,' गोकर्णले भने, 'त्यो पैसा यहाँबाट निस्किएपछि मात्र झिक्न पाइन्छ।'
तालिम अवधि लामो हुँदा एउटै सीप सिक्न वर्षौं लाग्छ। बिआइएको उद्देश्य पनि छोटो तालिम दिएर छिट्टै बिदा गर्नुभन्दा शारीरिक अपांगता भएका व्यक्तिलाई लामो समय काम सिकाएर उनीहरूको सीपमा निखार ल्याउनु हो र दीर्घकालसम्म आत्मनिर्भर बनाउनु हो।
संस्थाले लामो तालिम छान्नु पछाडि अर्को कारण पनि छ, गोकर्णले भने, 'साबुन बनाउने, धुपबत्ती बनाउनेजस्ता स–साना तालिम दिने हो भने त्यसले उहाँहरू धेरै आत्मनिर्भर नहुन सक्नुहुन्छ। पछि नयाँ तालिम खोज्न थाल्नुहुन्छ। हामीकहाँ एउटै विषयमा लामो अवधि तालिम लिएपछि त्यसबारे सबै कुरा सिकून् भन्ने हामी चाहन्छौं। यसले उहाँहरूलाई दक्ष बनाउँछ।'
तालिममा हस्तकलालाई प्राथमिकता दिइएको छ। अपांगता भएका व्यक्तिहरूको शारीरिक अवस्थासँग मिल्ने भएकाले हस्तकला राखिएको उनी बताउँछन्।
तालिम लिएपछि कसैले व्यवसाय सुरू गर्न चाहन्छन् भने संस्थाले सहयोग गर्छ। बजार व्यवस्थापन पनि गरिदिन्छ। सीप सिकेर भविष्यमा के गर्ने भनेर कोही अलमलिएका छन् भने त्यस्तालाई पनि बिआइएले सहयोग गर्छ।
'उहाँहरूले बाटो पहिल्याउन नसकुन्जेल बिआइएले प्रोत्साहन रकम दिँदै काम गराउँछ, ताकि तालिम सकियो तर काम पाइनँ भनेर यसै बस्नु नपरोस्,' गोकर्णले भने।
जोरपाटीस्थित बिआइए भवन प्रवेश गर्नेबित्तिकै तपाईंहरूले एउटा कुनामा मेडल र ट्रफीहरू देख्न सक्नुहुन्छ। यी मेडल र ट्रफी यहाँका प्रशिक्षार्थीले विभिन्न खेलमा जितेर ल्याएका हुन्। बिआइएमा तालिम लिने र काम गर्ने समय बिहान १० देखि बेलुकी ५ बजेसम्म भए पनि उनीहरूले यति नै समय काम गर्नुपर्छ भन्ने छैन। बीचबीचमा आराम लिने र खेलकुद गतिविधि पनि गर्न पाइन्छ। धेरैजसो त खेलकुदका विभिन्न प्रतियोगितामा भाग लिन्छन् जसमा चारवटा खेल मुख्य छन्– क्रिकेट, बास्केटबल, टेबल टेनिस र पौडी।
उनीहरूले राष्ट्रिय मात्र नभई भारत, थाइल्यान्ड, जापान लगायत विभिन्न देशमा खेलेर पनि पदक ल्याएका छन्।
मेडल र ट्रफीको अर्को कुनामा उनीहरूले गरेका कामको नमूना प्रदर्शन गरिएको छ। संस्था घुम्न आएका मानिसले कहिलेकाहीँ उनीहरूका सामान देख्छन्, किन्छन् र केहीले सामान अर्डर गरेर जान्छन्।
गत वर्ष बौद्धस्थित तारागाउँ म्युजियममा बिआइएका तालिमकर्ताले बनाएका सामान प्रदर्शन गरिएको थियो। त्यहाँ आएका धेरैले उनीहरूको काम हेरेर प्रेरणा लिए, कति भावुक भए। कतिले भने अपांगता भएका व्यक्तिले बनाएको भनेर थाहा पाउँदा आश्चर्य पनि माने।
यो वर्ष बिआइएमै त्यस्तो प्रदर्शनी आयोजना गर्ने सोच बनेको छ। यसो हुँदा उनीहरूको कामसँगै काम गर्ने तौरतरिका र उनीहरू कस्तो अवस्थामा जीवन बिताइरहेका छन् भन्ने पनि हेर्न पाइनेछ।
यसरी यी तालिमकर्ताले जितेको पदक र कामको नमूना हेर्दै अगाडि बढ्दा हामी उनीहरूको कार्यस्थलमा पुग्छौं। त्यहाँ छुट्टाछुट्टै प्रकृतिका काम गर्ने व्यक्तिहरू छुट्टाछुट्टै कोठामा बसेका हुन्छन्। एउटा कोठा बालबालिकाको 'डे–केयर' का लागि छुट्याइएको छ।
बिआइएमा तालिम लिन आएका कतिपयले यहीँ आफ्नो जीवनसाथी भेटेका छन्। कतिले बच्चा जन्माएका छन्। जोडी व्यक्तिहरू बिआइएमा बस्न पाउँदैनन्। तर उनीहरूले आफ्ना बालबच्चालाई काममा ल्याउन पाउँछन्। ती बच्चाले यहाँ सामान्य बाह्रखरी सिकेपछि स्कुल जान्छन्। अहिले ६ जना बालबालिका नजिकैको गोल्डन फ्युचर स्कुलमा पढिरहेका छन्। त्यहाँ छात्रवृत्ति खोज्ने काम बिआइएले नै गरेको हो।
भविष्यमा काठमाडौं मात्र नभई देशैभर सेवा विस्तार गर्ने बिआइएको योजना छ। उनीहरू आफूले तालिम दिएका व्यक्ति समुदायमा जाऊन् भन्ने चाहन्छन्। त्यसैले बेलाबेला भन्ने गर्छन्, 'तपाईंहरू आफ्नो गाउँमा केही गर्न चाहनुहुन्छ भने हामीलाई भन्नुस्। आफूले सिकेको सीप समुदायमा बाँड्न चाहनुहुन्छ भने पनि हामीलाई भन्नुस्, हामी सहयोग गर्छौं।'
'बिआइए खोल्नुको उद्देश्य अपांगता भएका व्यक्तिमा आशा जगाउनु थियो। त्यो आशा जगाउन हामी धेरै हदसम्म सफल भएका छौं,' गोकर्णले भने।
उनले अगाडि भने, 'अपांगता भएका धेरै व्यक्ति मानसिक रोगले ग्रसित हुन्छन्। राम्रो स्याहार नपुग्दा कतिको मृत्यु पनि हुन्छ। यहाँ आएपछि उहाँहरू आत्मनिर्भर हुनुभएको छ। खेलकुद गतिविधिमा लाग्नुभएको छ। बिहे गर्नुभएको छ। बच्चाबच्ची छन्। हामी उहाँहरूको जीवनमा फेरि आशा जगाउन सक्षम भएका छौं।'
उनले यो पनि भने, 'अपांगता हुनु नै जीवन समाप्त हुनु होइन। त्यसपछि पनि जीवन रहिरहन्छ र त्यो जीवनको बाटो देखाउने काम हामी गर्छौं।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी