भारतीय पत्रकार रविश कुमारले टेलिभिजन च्यानल 'एनडिटिभी इन्डिया' को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएका छन्।
एनडिटिभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि उनले राजीनामा दिएका हुन्।
एनडिटिभीका अध्यक्ष सुपर्णा सिंहले आफ्ना कर्मचारीहरूलाई पठाएको आन्तरिक इमेलमार्फत् रविश कुमारको राजीनामाको खबर बाहिर आएको बिबिसीले जनाएको छ।
भारतमा नरेन्द्र मोदी सरकार आएपछि त्यहाँका धेरै पुराना सञ्चार माध्यम र पत्रकारहरू मोदी सरकारको गुणगानमा लागेका छन्। त्यस्ता मिडियालाई भारतमा 'गोदी मिडिया' भनेर व्यंग्य गरिन्छ। रविश कुमार भने त्यस्ता कम पत्रकारमध्ये एक हुन्, जो मोदी सरकारले लिँदै आएको अल्पसंख्यक समुदायविरोधी नीतिहरूको आलोचना गर्छन् र अल्पसंख्यक समुदायको हक-अधिकारका पक्षमा नियमित रिपोर्टिङ गर्छन्।
रोमन म्यागासासे अवार्ड विजेता रविश कुमार ‘हम लोग’, ‘रविशकी रिपोर्ट’, ‘देशकी बात’, ‘प्राइम टाइम’ जस्ता टेलिभिजन कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय छन्।
भारतीय वेबसाइट स्क्रोल डटइनका अनुसार एनडिभीले रविशको राजीनामा तत्कालै लागू हुने गरी स्वीकार गरेको जानकारी दिएको छ।
‘रविशजस्तो आममानिसमा प्रभाव जमाउन सफल पत्रकार कमै छन्,’ एनडिभीले आफ्ना कर्मचारीलाई पठाएको इमेल उद्धृत गर्दै स्क्रोलले भनेको छ, ‘रविशको प्रभाव उनको कार्यक्रममा आउने प्रतिक्रियाहरूबाट थाहा हुन्छ। उनी जहाँ गए पनि समर्थकहरूको जुन भीड जम्मा हुन्छ, त्यसले उनको लोकप्रियता झल्काउँछ। उनले पाएका अवार्ड र अन्तर्राष्ट्रिय स्तरमा पाएको सम्मानले रविशको प्रभाव देखाउँछ।’
एनडिटिभीका सञ्चालकहरू प्रणय रोय र राधिका रोयले आरआरपिआर होल्डिङ प्राइभेट लिमिटेड कम्पनीको निर्देशक पदबाट राजीनामा दिएको दोस्रो दिन रविश कुमारले एनडिटिभी छाडेको स्क्रोलले जनाएको छ।
एनडिटिभीमा आरआरपिआर (राधिका रोय प्रणय रोय) होल्डिङको २९.१८ प्रतिशत सेयर थियो।
आरआरपिआरले एक दिनअघि बम्बई स्टक एक्सचेन्जमा दिएको जानकारीअनुसार उसको ९९ प्रतिशतभन्दा बढी सेयर अब विश्वप्रधान कमर्सियल प्राइभेट लिमिटेड (भिसिपिएल) सँग छ। भिसिपिएल भनेको त्यो कम्पनी हो जसको अधिग्रहण अडानी समूहअन्तर्गतको एएमजी मिडिया नेटवर्कले गरेको थियो।
गत अगष्ट २३ मा अडानी समूहको पूर्ण स्वामित्वप्राप्त एएमजी मिडिया नेटवर्कले भिसिपिएलको ९९ प्रतिशतभन्दा बढी सेयर ११३.७४ करोडमा किनेको हो।
त्यसै महिनाको अन्त्यमा अडानीले भिसिपिएलमार्फत् एनडिटिभीको २९.१८ प्रतिशत सेयर किन्ने घोषणा गरेको थियो।
त्यसपछि नोभेम्बर महिनामा अडानी समूहले एनडिटिभीको थप २६ प्रतिशत सेयर किन्न खुला प्रस्ताव गर्ने निर्णय गर्यो। यसले एनडिटिभीमा अडानीको सेयर स्वामित्व ५५.१८ प्रतिशत पुग्नेछ।