भारतीय पत्रकार रविश कुमारले आफ्नो युट्युब च्यानलबाटै पत्रकारितालाई निरन्तरता दिने भएका छन्।
बुधबार उनले टेलिभिजन च्यानल 'एनडिटिभी इन्डिया' को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएसँगै यो घोषणा गरेका हुन्।
बिहीबार रविशले आफ्नो राजीनामाको कारण खुलाउँदै दर्शकलाई भिडिओमार्फत् सम्बोधन गरेका छन्।
‘मैले राजीनामा दिएँ’ भन्ने शीर्षकमा उनले २४ मिनेट सम्बोधन गरेका हुन्।
भिडिओमा उनले दर्शकको स्वाभिमान, सद्भाव र मायाका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।
‘मैले राजीनामा दिएँ। यो राजीनामा तपाईंहरूको सम्मानमा हो। यसैगरी तपाईंहरूको सद्भाव प्राप्त होस। तपाईंहरूले नै मलाई बनाएको हो,’ उनले भनेका छन्, ‘तपाईंहरूले मलाई सहारा दिनुभयो। करोडौं दर्शकको स्वाभिमान कुनै पनि नोकरी भन्दा धेरै माथि छ। तपाईंहरूको प्रेम प्रति नतमस्तक छु।’
एनडिटिभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि उनले राजीनामा दिएका हुन्।
भारतमा नरेन्द्र मोदी सरकार आएपछि त्यहाँका धेरै पुराना सञ्चार माध्यम र पत्रकारहरू मोदी सरकारको गुणगानमा लागेका छन्। त्यस्ता मिडियालाई भारतमा 'गोदी मिडिया' भनेर व्यंग्य गरिन्छ। रविश कुमार भने त्यस्ता कम पत्रकारमध्ये एक हुन्, जो मोदी सरकारले लिँदै आएको अल्पसंख्यक समुदायविरोधी नीतिहरूको आलोचना गर्छन् र अल्पसंख्यक समुदायको हक-अधिकारका पक्षमा नियमित रिपोर्टिङ गर्छन्।
रोमन म्यागासासे अवार्ड विजेता रविश कुमार ‘हम लोग’, ‘रविशकी रिपोर्ट’, ‘देशकी बात’, ‘प्राइम टाइम’ जस्ता टेलिभिजन कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय छन्।
एनडिटिभीका सञ्चालकहरू प्रणय रोय र राधिका रोयले आरआरपिआर होल्डिङ प्राइभेट लिमिटेड कम्पनीको निर्देशक पदबाट राजीनामा दिएको दोस्रो दिन रविश कुमारले एनडिटिभी छाडेका हुन्।
एनडिटिभीमा आरआरपिआर (राधिका रोय प्रणय रोय) होल्डिङको २९.१८ प्रतिशत सेयर थियो।
आरआरपिआरले एक दिनअघि बम्बई स्टक एक्सचेन्जमा दिएको जानकारीअनुसार उसको ९९ प्रतिशतभन्दा बढी सेयर अब विश्वप्रधान कमर्सियल प्राइभेट लिमिटेड (भिसिपिएल) सँग छ। भिसिपिएल भनेको त्यो कम्पनी हो जसको अधिग्रहण अडानी समूहअन्तर्गतको एएमजी मिडिया नेटवर्कले गरेको थियो।
गत अगष्ट २३ मा अडानी समूहको पूर्ण स्वामित्वप्राप्त एएमजी मिडिया नेटवर्कले भिसिपिएलको ९९ प्रतिशतभन्दा बढी सेयर ११३.७४ करोडमा किनेको हो।
त्यसै महिनाको अन्त्यमा अडानीले भिसिपिएलमार्फत् एनडिटिभीको २९.१८ प्रतिशत सेयर किन्ने घोषणा गरेको थियो।
त्यसपछि नोभेम्बर महिनामा अडानी समूहले एनडिटिभीको थप २६ प्रतिशत सेयर किन्न खुला प्रस्ताव गर्ने निर्णय गर्यो। यसले एनडिटिभीमा अडानीको सेयर स्वामित्व ५५.१८ प्रतिशत पुग्नेछ।