आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ हुने गरेको झापाको पर्यटकीय दोमुखा जाने सडक अब कालोपत्रे हुने भएको छ।
शिवसताक्षी नगरपालिकाले पूर्व-पश्चिम राजमार्गको माइधार देखि दोमुखा सम्मको २९ सय मिटर सडक कालोपत्रे गर्ने भएको हो।
नगरपालिकाले उक्त सडक कालोपत्रे गर्न दसौं नगर सभाबाट ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख मेघाहाङ थोप्रा (रोषन)ले बताए। यो सडक ७ मिटर चौडाई हुने छ।
०४८ पछिका हरेक निर्वाचनमा उम्मेदवारले यहि सडकलाई चुनावी एजेण्डा बनाएर निर्वाचन जित्ने गरेपनि सडक निर्माण हुन सकेको थिएन।
‘माइधार-दोमुखा सडक निर्वाचन जितेपछि कालोपत्रे गर्छौं भनेर मतदाता प्रभावमा पार्थे,’ दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका वरिष्ठ उपाध्यक्ष रमेश तिम्सिनाले भने, ‘तर यो सडकको कालोपत्रे हुन सकेको थिएन। उम्मेदवारको चुनावी एजेन्डा र भाषणमा मात्र सडक कालोपत्रे भयो।’
यो क्षेत्रमा हाल सम्म सिपी मैनाली, राधाकृष्ण मैनाली, तारासम याङया, केशवकुमार बुढाथोकी, लालप्रसाद साँवाले निर्वाचन जितेका छन्। याङया र साँवा मात्रै यहाँका स्थानीय हुन्।
तर उनीहरूले सडक कालोपत्रेका लागि ध्यान दिएनन्।
स्थानीय तहको निर्वाचन ०७४ मा नगर प्रमुखका प्रत्यासी उम्मेदवार सबैले यही विषयलाई एजेन्डा बनाएका थिए।
तात्कालीन मेयर चन्द्रकुमार शेर्माले भने आफूले बाचा गरेअनुसार काम भइरहेपनि कालोपत्रे गर्न नसकिएको बताए।
‘मैले मत माग्न जाँदा नगरका पर्यटकीय क्षेत्र सम्म पुग्न सडक कालोपत्रे गरिने छ भनेको थिएँ। रिङ रोड बन्यो,’ उनले भने, ‘सडक निर्माणका लागि प्रदेश र केन्द्रसँग पटकपटक पहल गर्दासमेत सुनुवाइ भएन। नगर एक्लैको बजेटले सम्भव नहुँदा मेरो कार्यकालमा माइधार-दोमुखा सडक फराकिलो भयो। तर कालोपत्रे गर्न सकिएन।’
अहिले पनि नेकपा एमालेले शिवसताक्षी नगरपालिकाको प्रमुख कार्यकारी पद जितेको छ। नगर सभाबाटै अनुमोदन गरेर आन्तरिक स्रोतबाट सडक कालोपत्रे गर्न शिवसताक्षी नगरपालिका जुटेको नगर प्रमुख थोप्राले बताए।
प्रमुख थोप्राले पनि चुनाव अगाडि एक वर्षभित्र सडक कालोपत्रे गर्ने बाचा गरेका थिए। अहिले सडक कालोपत्रे गर्न नगरपालिकाले ठेक्का आह्वान समेत गरिसकेको छ।
आह्वान भएसँगै माघको पहिलो हप्तादेखि कालोपत्रेको काम सुरू गरिने र यही चालु आवमै सकाउने बताए।
दोमुखा जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र हो। दोमुखा धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष धनवहादुर लावतीका अनुसार सिजनमा दैनिक कम्तिमा एक हजार पर्यटक घुम्न, वनभोज खान र रमाइलो गर्न आउँछन्। दोमुखाबाट गत वर्षमात्र समितिले ४६ लाख आम्दानी गरेको थियो।
सडक कालोपत्रे भएपछि एक करोड आम्दानी हुन सक्ने समितिका अध्यक्ष लावतीले बताए।
‘पर्यटकीय क्षेत्रको सडक भएकाले कालोपत्रेका लागि हामीले पनि धेरै वर्षदेखि पहल गर्दै आएका थियौं, नेतालाई भेट्यौं, मन्त्रालयसम्म पुग्यौं, कसैले सुनुवाइ गरेन,’ उनले भने, ‘अन्तिममा नगरपालिकाले नै सडक कालोपत्रे बनाउन पुग्ने गरी बजेट विनियोजन गरेको छ, हामी साह्रै खुसी छौं।’