नलगाड जलविद्युत आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ।
नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो।
सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत सास्ती व्यहोर्नु परेको छ।
जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले लिएको पुलको ठेक्काको काम नगर्दा अलपत्र परेको हो।
भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डसँग जोडिएको नलगाड पहुँचमार्गले जुम्लासँग सडक जोड्ने काम गर्दछ।
पुल निर्माण नहुँदा नलगाड नदीमा परेर धेरैले ज्यानसमेत गुमाएको स्थानीय रामबहादुर खत्रीले बताए।
खत्रीले भने, 'पुल निर्माण नहुँदा हामीले धेरै दु:ख पाएका छौं, नलगाड नदीमा काठको लाप्को बनाएर यातायातका साधन खोलामा तार्दा जोखिम हुने गर्छ। काठबाट पुल बनाउँदा थप पैसा खर्च भएपछि त्यो सबै यात्रुबाट नै असुल्ने काम हुन्छ।'
नगरप्रमुख खड्काको कम्पनी खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिले सडक र पुल निर्माणको जिम्मेवारी लिएको थियो।
पुल निर्माण नहुँदा भेरी करिडोरबाट गएका सवारी साधन खारा र बारेकोट गाउँपालिकाबाट आएका सवारी साधन साधुतरामा रोकिने गरेका छन्।
नलगाड जलविद्युत आयोजनामा फिल्ड इञ्जिनियर पदम थापाका अनुसार दुई वर्षभित्र पुल निर्माण गर्ने सम्झौता थियो। तर अहिले ६ वर्ष पूरा भइसकेको छ।
पुल निर्माणका लागि खारा र साधुतरा साइटमा दुई पिल्लर उठाइएको छ तर खारापट्टिको पिल्लर निर्माण गर्दा दुई मिटर ढलान गरेर मात्र पिल्लर राख्नुपर्ने थापाको भनाइ छ।
पिल्लर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुनः पूर्ण पिल्लर निर्माण गर्न आग्रह गरिएको थियो।
ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिल्लर हालेपछि कार्यालयद्वारा ठेकेदार कम्पनीलाई रकम भुक्तानी रोकेपछि अहिले समस्या आएको छ।
ठेकेदार कम्पनीले साढे तीन करोड लागतमा वि.सं २०७२ मा पुनर्निर्माणको ठेक्का लिएको थियो।