किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद सजाय तोकेको छ।
पोखराको बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद र ५० हजार जरिवाना गरिएको हो। किरियापुत्रीलाई जातीय विभेद गर्ने देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीले सजाय पाएका हुन्।
न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले जरिवानासँगै एक लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको सूचना अधिकारी निलप्रसाद पनेरूले बताए। उनीहरूले बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा दलितलाई बस्न नदिने भन्दै स्थानीय मोहन सुनारलाई रोकेका थिए।
मोहनका भाई सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा निमोनियाका कारण मृत्यु भएको थियो। कोभिड–१९ महामारीका कारण सम्मरको शव ल्याउन नसकेपछि दुबईमै उनको दाहसंस्कार गरिएको थियो। पोखरामा दाजु मोहन, सम्मरका श्रीमती र कान्छा छोरा किरिया बस्न खोज्दा उनीहरूलाई अभियुक्तले धम्की समेत दिएका थिए।
ती अभियुक्तलाई जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ अनुसार सजाय तोकिएको हो। जिल्ला अदालतबाट फैसला आएपछि न्यायको महशुस भएको पीडित मोहन सुनारले बताए।
'न्याय मरेको रहेनछ, न्याय पाइने रहेछ,' फैसला आएपछि उनले सेतोपाटीसँग भने, 'तीन वर्ष लडियो, मैले मात्र होइन, जातीय विभेदविरूद्ध लाग्ने सबैले न्याय पाए।'
अभियुक्तविरूद्ध उनले २०७७ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गर्दा स्थानीयले विरोध जनाएका थिए। जातीय छुवाछुतका आरोपितलाई रिहा गर्न माग गर्दै बाटुलेचौरका स्थानीय कोभिड–१९ महामारीका बेला प्रदर्शनमा उत्रिँदा प्रहरीसँग झडपसमेत भएको थियो। त्यति बेला गण्डकी प्रदेश सांसदसमेत रहेका एमाले नेता कृष्णबहादुर थापाले पीडकका पक्षमा विज्ञप्ति निकालेर साथ दिएपछि उक्त घटनाविरूद्ध प्रदेश सभामा समेत आवाज उठेको थियो।
गण्डकी प्रदेश सभामा जातीय विभेद र छुवाछुतमा संलग्न व्यक्तिलाई बचाउन खोजेको भन्दै सांसदहरूले थापाको आलोचना गरेका थिए। गत वैशाख ३० को स्थानीय निर्वाचनमा उनै थापालाई एमालेले सांसदबाट राजीनामा गराएर पोखरा महानगरपालिकाको मेयरको टिकट दिएको थियो।
स्थानीय निर्वाचनका बेला जातीय विभेदका आरोपितलाई जोगाउन खोजेको भन्दै थापाको आलोचना भएको थियो। थापा अहिले एमाले केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज छन्। जातीय विभेद तथा छुवाछुत पीडित मोहन पनि उक्त घटनाअघि एमालेकै जिल्ला सदस्य थिए। उक्त घटनामा तत्कालीन एमाले जिल्ला अध्यक्षसमेत रहेका थापाले पीडक पक्षलाई साथ दिएपछि मोहनले एमाले परित्याग गरेका थिए।
यो पनि:
सरकारी जग्गामा महानगरले बनाएको भवनभित्र भाइको किरिया बस्न पाएनन् मोहन सुनार