अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा अवैध रूपमा बैकिङ कारोबार गरिरहेका व्यापारीलाई पैसा जिम्मा लगाउँदा धेरै सर्वसाधारणको रकम जोखिममा परेको पाइएको छ।
खासगरी सुनचाँदी पसल सञ्चालकहरूले वित्तीय संस्थाले झैं गरी पासबुक बनाउने, सर्वसाधारणबाट बचत संकलन गर्ने अवैध काम गर्दा तिनकहाँ रकम जम्मा गर्नेको लगानी जोखिममा परेको हो।
मोरङको सुन्दरहरैचा नगरपालिका १० मा कुखुरा फार्म चलाउँदै आएका इन्द्र पुरीले अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा स्थानीय बजारमै रहेको कमला ज्वेलर्समा नियमित बचत गर्दै आएका थिए।
ज्वेलर्सका सञ्चालक राजु विश्वकर्माले कम्तीमा १८ देखि बढीमा २४ प्रतिशतसम्म ब्याज दिने भनेपछि पुरीले पटक–पटक गरेर ज्वेलर्समा १० लाख रुपैयाँ जम्मा गरेका थिए।
तर, उनी त्यसबेला खंग्रङ्ग बने, जतिबेला ज्वेलरी सन्चालक विश्वकर्मा उनीजस्तै अरु बचतकर्ताको उजुरीका आधारमा प्रहरी फन्दामा परेको थाहा पाए। ‘राम्रो ब्याज पाइन्छ भनेर पैसा ज्वेलर्सकहाँ राखेको थिएँ,’ जिल्ला प्रहरी कार्यालय मोरङमा आइपुगेका पुरीले भने ‘अहिले त हामीलाई ब्याज दिन्छु भन्ने मान्छे नै प्रहरीमा थुनिएको थाहा पाउँदा छक्क परेको छु।’ उनले आफ्नो १० लाख रुपैयाँ डुब्ने चिन्ताले सताएको सुनाए।
वित्तीय संस्थाले जस्तै गरी अवैध रूपमा बैकिङ कारोबार चलाउँदै आएका ज्वेलर्स सन्चालकबाट ठगिनेको सूची लामो भएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीले कमला ज्वेलर्सका सञ्चालक विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान गर्दा ५५ जनाको १ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको भेटिएको छ। ‘अहिले उजुरी दिन आउनेको संख्या बढ्दै गएको छ,’ डिएसपी टिकाबहादुर कार्कीले भने ‘सुरुमा १५ जनाको मात्रै उजुरी आएको थियो। अहिले ५५ जना पुगिसकेको छ। अरु पनि हुनसक्ने सम्भावना देखिन्छ।’ प्रहरीका अनुसार सर्वसाधारणबाट संकलन गरेको रकम अभियुक्तले घरजग्गामा लगानी गर्ने गरेको पाइएको छ।
सर्वसाधारणमा वित्तीय साक्षरता अभावले यस्तो समस्या आउने गरेको सहकारीकर्मीहरु बताउँछन्। ‘कहाँ पैसा जम्मा गर्ने, कोबाट ऋण लिने, कोबाट नलिने भन्ने ज्ञान अभावमा यस्तो अवस्था आउनसक्छ’, पूर्वीद्वार सहकारीका अध्यक्ष विपी भट्टराई भन्छन् ‘यस्तो ठगीधन्दा चलाउनेहरुबाट सर्वसाधारण जोगाउन वित्तीय साक्षरताको खाँचो देखिन्छ।’
कानुन अनुसार कुनै पनि संस्थाले बैकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने हुन्छ। तर, कुनै पनि प्रकारको स्वीकृति नलिइ बैकिङ कारोबार चलाउनेहरुका कारण सर्वसाधारण ठगिँदै आएका छन्। यसअघि मोरङकै उर्लाबारी र बुढीगंगामा पनि सुन्दरहरैंचाको जस्तै सुनचाँदी पसल सन्चालकले पासबुक छापेरै बैकिङ कारोबार गरेको भेटिएको थियो।