पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसन्ध्यामा आपतकालीन पूर्वाभ्यास गरिएको छ।
विमानस्थल सञ्चालन गर्दा आकस्मिक सेवा चुस्त दुरूस्त राख्न यस्तो अभ्यास गरिएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।
‘विमानस्थल चलाउँदा धेरै निकाय परिचालित हुन्छ,’ उनले भने, ‘दुर्घटनाका अवस्थामा कुनै कमजोरी नहोस् भनेर आकस्मिक अभ्यास गरिएको हो।’
अभ्यासका लागि काल्पनिक विमान र यात्रुको परिकल्पना गरिएको थियो।
पोखरा उडेको एबिसी एयरलाइन्सको ए ३२० एयरक्राफ्टको दाहिने इन्जिनमा आगो देखिएको २५ माइल टाढाबाट विमानस्थलको एटिसी टावरमा जानकारी गराउँछ। त्यसपछि विमानस्थलले उक्त जहाजलाई प्राथमिकतामा राखेर ल्याण्ड गराउँछ।
उक्त विमान ल्याण्ड गर्ने क्रममा विमानस्थलको पूर्व तर्फको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुग्छ।
८ जना चालक दल र १७२ जना यात्रु बोकेको जहाज ल्याण्ड हुने बित्तिकै घाँसे मैदानमा धुँवाको मुस्लो देखिएपछि उद्धारकर्ता पुग्छन्।
विमानस्थलमा रहेको दमकल तत्काल आगो निभाउन पुग्छ भने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, विमानस्थलका कर्मचारी लगायत घाइतेको उद्धार गर्न लाग्छन्।
दुर्घटनामा परेर ४५ यात्रुको निधन हुन्छ भने १३५ जना घाइते हुन्छन्। जसमा २७ जनाको अवस्था गम्भीर रहेको विमानस्थलले जानकारी दिन्छ।
घाइतेहरूको उद्धारमा एम्बुलेन्स र हेलिकप्टर प्रयोग गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइन्छ।
विमान दुर्घटनाले अवरूद्ध हुन पुगेको विमानस्थलबाट दुर्घटनाग्रस्त जहाज नियन्त्रणमा लिएर यात्रुको उद्धार गरी विमानस्थललाई फेरि सञ्चालन राख्न करिब डेढ घण्टा समय लागेको विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए।
उडान सुरक्षाका लागि विमानस्थलभित्र रहने विभिन्न निकायको भूमिका प्रष्ट पार्ने, सुरक्षा योजनालाई प्रभावकारी बनाउने र छिटो भन्दा छिटो उद्धार गर्न यस्तो अभ्यास आवश्यक रहेको उनले बताए।
‘भविष्यमा यस्तो खालका दुर्घटना हुन पुग्यो भने छिटोभन्दा छिटो दुर्घटनाग्रस्त जहाज नियन्त्रणमा लिएर यात्रुको उद्धार गर्न सकियोस् भनेर यस्तो अभ्यास गरिएको हो’, उनले भने, ‘आपतकालीन अभ्यासले उडान सुरक्षालाई प्रभावकारी बनाउन सहयोग गर्छ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जनवरी १ देखि उक्त विमानस्थल सञ्चालनको तयारी गरिरहेको छ।
विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक उपकरण जडान सकिएको विमानस्थलले जनाएको छ।
विमानस्थललाई आवश्यक कर्मचारी व्यवस्थापन र कार्यालय सार्ने काम चलिरहेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए।
सबै तस्वीर सौजन्य– अर्जुन गाहा ‘सुशान्त’