आफ्नै श्रीमानको हत्या आरोपमा प्रहरीले अर्घाखाँचीमा एक महिलालाई पक्राउ गरेको छ।
छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका चुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले उनकै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत मंसिर २४ गते लक्ष्मीका श्रीमान बलबहादुर सार्की घरभित्रै मृत अवस्थामा फेला परेका थिए।
घटनाबारे अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभई श्रीमती लक्ष्मीले घाँटीमा पासो लगाएर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार गत मंसिर २४ गते स्थानीय गोविन्दबहादुर नेपालीको घरमा मृत्युपछिको वार्षिक तिथिको काम भइरहेको थियो। दिनभरि गोबिन्दको घरमा काम सघाउन गएका बलबहादुर र लक्ष्मी साँझ मदिरा सेवन गरी घर फर्किएका थिए।
घरमा आएपछि श्रीमान श्रीमतीबीच विवाद सुरू भयो। बलबहादुरले लक्ष्मीलाई कुटपिट गर्न थाले। श्रीमानले कुटपिट गरेको रिसमा लक्ष्मीले कम्मरमा बाँधेको पटुकी फुकाएर बलबहादुरको घाँटीमा पासो लगाई दलिनमा झुण्ड्याइदिइन्। पासो लगाएर झुण्ड्याएका बलबहादुरको मृत्यु भएपछि लक्ष्मीले दलिनमा बाँधेको पासो खोलिदिइन्।
शवलाई भुइँमा छोडिदिइन् भने पासो लगाइदिएको पटुकी कम्मरमा बाँधेर पुनः गोविन्द नेपालीकै घरमा पुगिन्।
गोविन्दको घरमा श्रीमानले कुटपिट गरेको बताएकी लक्ष्मी रातभरि सोहि घरमा बसेकी थिइन्।
भोलिपल्ट बिहान घर गएकी लक्ष्मीले श्रीमान मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेकी थिइन्। तर प्रहरीले अनुसन्धान गर्दै जाँदा बलबहादुरको मृत्यु नभई पासो लगाइ हत्या गरेको भन्दै लक्ष्मीलाई पक्राउ गरेको हो।
अहिले लक्ष्मीलाई पक्राउपछि जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।