बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरू हुने भएको छ।
मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा गर्ने अन्तिम तयारी गरिएको छ।
प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला मन्त्रालयले लिएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा राजधानी व्यवस्थापन मुल समितिका संयोजक प्रकाश विष्टले मंसिर २८ गते झन्डोत्तोलनसहित औपचारिक रूपमा राजधानी कार्यान्वयन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गरिने बताए।
झन्डोत्तलन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्।
त्यसपछि त्यहाँ रहेका सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि काम गर्न बाटो खुल्ने विष्टले बताए। यहीँ अन्य मन्त्रालय तथा कार्यालयहरू पनि यथाशीघ्र स्थान्तरण गरिने उनले बताए।
उद्घाटनको दिन विभिन्न साँस्कृतिक झाँकीहरू प्रदर्शन समेत गर्ने तालिका छ। स्थानीय बजार देखि मन्त्रालयसम्म सरसफाइ गर्ने पनि तालिका छ। राजधानी सारेसँगै पूर्वपश्चिम राजमार्गमा रहेका यात्रु प्रतिक्षालयमा पनि रंग लगाइएका छन्।
प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूलाई बोलाइएको छ।
दाङ जिल्लाका सबै पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष- उपाध्यक्ष, वडाअध्यक्ष लगायतलाई पनि निमन्त्रणा गरिएको छ।
हाल राप्ती गाउँपालिका वडा नं. ३ लालमटियास्थित पहिले राप्ती प्राविधिक शिक्षालय रहेको ठाउँमा मुख्य मन्त्री, मुख्यसचिवसहित अन्य मन्त्रालयहरू निर्माण गरिएका छन्।
मुख्यमन्त्रीको आवस पनि यही भित्र निर्माण गरिएको छ।
प्रदेश सभाको दुई तिहाइ बहुमतले २०७७ असोज २० गते दाङको राप्ती गाउँपालिकालाई प्रदेश राजधानीको केन्द्र तोकेको थियो।