पोखरा महानगरका सडकबाट पार्किङ शुल्क असुल्ने ठेकेदार कम्पनीले सम्झौताअनुसार महानगरलाई किस्ता रकम नबुझाएको पाइएको छ।
कम्पनीले ठेक्का सम्झौताता भएपछि पहिलो किस्ता बुझाए पनि तीन किस्ता बुझाउन बाँकी रहेको महानगरका लेखा प्रमुख जयराम पौडेलले जानकारी दिए।
पौडेलका अनुसार ठेकेदार कम्पनीले तीन किस्ता गरी १ करोड ९० लाख २ हजार रूपैयाँ महानगरलाई बुझाउन बाँकी छ।
बारम्बार ताकेता गर्दा पनि कम्पनीले सम्झौताअनुसार किस्ता नबुझाएको पौडेलले सेतोपाटीलाई बताए।
‘हामीले बारम्बार बोलाएर किस्ता बुझाउन भन्यौं तर बुझाएका छैनन्,’ उनले भने, ‘कम्पनीले अनेक बहाना गरेर टार्दै आएका छन्।’
पोखरा महानगरले २०७७ मंसिर १४ गते विभिन्न १५ वटा सडकबाट पार्किङ शुल्क उठाउन ३ करोड १६ लाख ७० हजार रूपैयाँमा २ वर्षका लागि ठेक्का दिएको थियो। ठेक्का सम्झौता अनुसार कम्पनीले पहिलो किस्तावापत ६३ लाख ३४ हजार रूपैया बुझाएको थियो।
ठेक्का सम्झौता अनुसार कम्पनीले सडकमा पार्किङ गरेका मोटरसाइकल र स्कुटरसँग १० रूपैयाँ, मझौला सवारीले २० रूपैयाँ र बस लगायत ठूला सवारीले प्रति घण्टा ३० रूपैया असुलेका थिए।
ठेकेदार कम्पनीले ठेक्का पाएका १५ वटा मुख्य सडक र बजार क्षेत्रबाहेक अन्य भित्री गल्लीबाट समेत उक्त शुल्क उठाउँदै आएको छ।
सडक पार्किङ शुल्क उठाएर महानगरलाई बुझाउन आनाकानी गरेका ठेकेदार कम्पनीलाई महानगरले चैत मसान्तसम्म म्याद थपेको छ।
महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै गत वैशाख २२ गते म्याद थप्ने निर्णय गरेका हुन्। त्यतिबेला कोभिड–१९ का कारण ४ महिना म्याद थप्ने निर्णय कार्यपालिका बैठकबाट भएको लेखा प्रमुख पौडेलले बताए।
ठेकेदार कम्पनीले भने ६ महिना म्याद थप्न दवाब दिएका थिए।
सडकबाट पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनीले म्याद थपिएको भन्दै अझै पार्किङ शुल्क असुलिरहेका छन्। महानगरका मेयर धनराज आचार्यले भने कम्पनीले तिर्नुपर्ने शुल्क नतिरे ठेक्का सम्झौता रद्द गर्ने बताए।
‘लकडाउनका कारण म्याद थपिएको पाइयो, तर ठेकेदार कम्पनीले महानगरलाई किस्ता बुझाएको छैन,’ उनले भने, ‘किस्ता नबुझाए ठेक्का रद्द हुन्छ।’
किस्ता रकम नबुझाए ठेकेदार कम्पनीले सम्झौता गर्दा राखेको धरौटी असुल्ने महानगरले तयारी छ। रकम बुझाएको खण्डमा भने थपिएको म्याद अनुसार चैतसम्म पार्किङ शुल्क उठाउन दिने आचार्यले बताए।
‘महानगरले जति रकम लिन बाँकी छ, त्यति रकम बुझाए चैतसम्म शुल्क उठाउन दिन्छौं,’ उनले सेतोपाटीसँग भने, ‘नभए महानगरले लिनुपर्ने रकम धरौटीबाट असुली गरेर ठेक्का रद्द गर्छौ।’
अब पोखरामा पार्किङका लागि नयाँ ठेक्का नखोल्ने समेत मेयर आचार्यले स्पष्ट पारे। ठेकेदार कम्पनीले रकम बुझाए पनि चैतपछि नयाँ टेण्डर नखुल्ने उन बताए।
यो पनि हेर्नुहोस्