काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
तार्केश्वर नगरपालिका-६ पुशलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा तार्केश्वर-६ कै ३९ वर्षीय नरेन्द्र शिवभक्ति छन्। उनलाई कार्यालयका डिएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले गत बिहीबार पक्राउ गरेको हो।
ती वृद्धाले राम्ररी आँखा पनि देख्थिनन्। उनी लाठी टेकेर हिँड्थिन्।
उनका एक छोरा र चार छोरी छन्। उनीहरू आमासँगै बस्दैनन्। एक जना छोरी भने ५० मिटर परको अर्कै घरमा बस्थिन्। ९० वर्षीया वृद्धा डिल्ली गत मंसिर २० गतेदेखि हराइरहेकी थिइन्। उनी हराएको भन्दै नजिकै बस्ने छोरीले प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरी वृत्त बालाजुमा निवेदन दिएपछि ती वृद्धाको खोजी भइरहेको थियो।
खबर गरेको दुई दिनपछि तार्केश्वर नगरपालिका-३ पारिवन पाखा सामुदायिक वनको खोल्सामा उनको शव फेला पर्यो। घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलमा उनको शव फेला परेको हो।
शव फेला परेपछि प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो।डिल्ली पुतुवारको टाउको, मुखमा चोट लागेको थियो। बाहिरी चोटपटक नदेखिए पनि जंगली जनावरले खाएकोजस्तो पनि देखिन्थ्यो।
शवको पोष्टमर्टम गर्नको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोष्टमर्टमबाट पनि उनको मृत्यु टाउकोमा केहीले प्रहार गर्नाले भएको भन्ने खुल्यो। चिकित्सकले उनको मृत्यु टाउकोमा ‘ब्लन्ट फोर्स’बाट भएको भनेका थिए।
त्यस्तै उनको दाहिने गालाको केही भाग जनावरले पनि खाएको पुष्टि भयो।
घटनास्थलमा घिसारिएको पनि देखिएको हुँदा ती वृद्धाको हत्या नै हो भन्नेमा प्रहरी अधिकारीहरू विश्वस्त भइसकेका थिए। त्यसैले हत्या नै हो भन्ने हिसाबले प्रहरीले अनुसन्धान अघि बढायो।
एक्लै बस्ने हुँदा कतै नजिकका आफन्तबाटै पो हत्या भएको हो कि भन्ने शंका प्रहरीलाई थियो।
सम्पत्तिका लागि उनको हत्या भएको हुनसक्ने भन्ने प्रहरीको अनुमान थियो। तर प्रहरीले अनुसन्धानको क्रममा नजिकैको छिमेकी परिवार गायब भएको थाहा पायो।
ती थिए नरेन्द्र शिवभक्ति, उनकी श्रीमती र छोरा।
‘शव फेला परेको दिन त्यहाँ भएका सबैजसो गाउँले शव हेर्न भनेर जंगलतिर लागे। तर नरेन्द्र चाहिँ ससुराली गएका रहेछन्,’ डिएसपी गोविन्द पन्थीले भने,‘यस घटनामा प्राविधिक रूपमा हेर्न सकिने अवस्था थिएन। तर उनी शव फेला परेकै बेलामा ससुराली हिँडेपछि हामीलाई शंका भयो।’
मृतक डिल्ली पुतुवारको भन्दा दुई सय मिटर पर उनको घर छ। छिमेकीकै हत्या हुँदा पनि उनी परिवार समेतलाई लिएर ससुराली हिँडेको थाहा पाएपछि प्रहरीले उनको खोजी गर्न थाल्यो।
प्रहरीका अनुसार उनको ससुराली स्याङ्जा हो। हत्याका सम्भावित आरोपी त्यहाँ हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई पनि यसबारे जानकारी गराइएको थियो।
ज्याला-मजदुरी गर्ने उनले आफ्ना सासु, ससुरा, साली लगायतलाई कपडा समेत किनेर दिएको अनुसन्धानबाट खुलेको छ। त्यसरी ससुराली पुगेका उनलाई प्रहरीले निगरानीकै बीच सम्पर्क गर्यो।
प्रहरीले फकाएपछि उनी काठमाडौं आउन तयार भएका थिए। काठमाडौं आउँदा पनि उनी ट्याक्सी चढेर आएको डिएसपी पन्थीले बताए। यति मात्रै होइन उधारो लिएर लामो समयसम्म पनि नतिरेपछि पसलेले माग्नै छाडिसकेको ठाउँमा समेत पुगेर उनले ५०० रुपैयाँ तिरेका थिए।
यसरी आम्दानीभन्दा पनि बढी खर्च गरेपछि उनीमाथि झन् शंका बढ्यो।
गत बिहीबार काठमाडौं आइपुगेका उनलाई टोलीले पक्राउ गरी सोधपुछ गर्दा भने हत्याबारे स्वीकारेको डिएसपी पन्थीले बताए।
उनका अनुसार मृतक वृद्धाले चिसापनी चप्पल कारखानामा राहत दिइराखेको भन्ने जानकारी पाएकी थिइन्। जानकारी पाएपछि उनले आफूलाई राहत वितरण भइरहेको ठाउँमा पुर्याइदिन भनेर शिवभक्तिलाई भनेका थिए।
‘राहत दिइराखेको छ भनेपछि मलाई त्यहाँ लगिदेऊ, राहत घरसम्म तिमी ल्याइदेऊ म पैसा दिन्छु भनेकी थिइन्,’ शिवभक्तिले प्रहरीलाई भनेका छन्, ‘त्यसपछि मैले जंगलको बाटोबाट डोहोर्याउँदै लगेँ।’
उनीहरू दुबै जना जंगलको बाटो हुँदै सिधै चप्पल कारखानासम्म पुगेनन्। बरू जंगलको बीचतिर पुगेपछि त्यही केहीबेर बसे।
त्यहाँ बसेर चुरोट खाऔं भनेपछि उनीहरू दुबैले चुरोट समेत खाएको देखिन्छ।
त्यही बेलामा आरोपित शिवभक्तिले हत्या गर्ने सोच बनाएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार ती वृद्धाले जे-जति भएको पैसा सधैं कम्मरको पटुकीमा राख्थिन्।
पैसा लुट्नकै लागि उनले हत्या गरेको शिवभक्तिले प्रहरीसँग भनेका छन्।
नजिकै भएको ढुंगा लिएर डिल्ली पुतुवारको टाउको र गर्धनमा हिर्काएर हत्या गरेको डिएसपी गोविन्द पन्थीले बताए।
त्यसपछि उनले पटुकीमा भएको अन्दाजी ४५-५० हजार रुपैयाँ लिएर शवलाई खोल्सामा लुकाएर घर फर्किएका थिए।
‘ती वृद्धाले सधैं पैसा पटुकीमै राख्ने रहेछिन्। त्यसबाट उनले ५० हजार रकम मात्रै लिएको भनेका छन्। तर मृतकका परिवारले एक डेढ लाख हुनसक्ने भनेका छन्,’ उनले भने, ‘वृद्धाले आफूसँग भएको रकम पनि खासै खर्च नगरी मागेर खाने गरेको पनि देखिन्छ।’
प्रहरीका अनुसार अहिलेसम्म यस घटनामा उनको मात्रै संलग्नता देखिएको छ। यसबारेमा थप अनुसन्धान पछि अरू कुरा खुल्दै जाने उनले बताए।
यसको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गर्दैछ।