बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ मा भग्नावशेषमा परिणत कीर्तिपुरको चित्र बनाएका थिए।
जलरङमा बनाएको उक्त चित्रमा ठूटो मात्र बाँकी उमामहेश्वर मन्दिरको स्वरूप अनि भत्किइसकेको दरबारको अवशेष देख्न सकिन्छ।
कीर्तिपुरबारे बताउँदै ओल्डफिल्डले चित्रमा लेखेका छन्- कीर्तिपुर कहिल्यै व्यापक सहर थिएन। तर नेपाल इतिहासको प्रारम्भिक समयमा यो एउटा महत्वपूर्ण सहर थियो। दरबारको भग्नावशेष र केही मन्दिर पश्चिमी भेगमा अवस्थित छन् जसले पूरै सहरलाई निरीक्षण र नियन्त्रण गरेजस्ता देखिन्छन्। यहाँको दरबार ठूलो थिएन तर अहिले यसको स्वरूप र सीमा पत्ता लगाउन गाह्रो छ।
ओल्डफिल्डले उक्त चित्र बनाएको अहिले १६७ वर्ष भइसक्यो। यहाँ मन्दिर र दरबार बनेको झन् धेरै अगाडि हो।
अहिले दरबार क्षेत्रको हिस्सा; तलेजु मन्दिर बनाउन जिल्ला विकास समिति (जिविस) को सहयोगमा कीर्तिपुर नगरपालिका र स्थानीयहरू जुटेका छन्। कीर्तिपुरमा जुन ठाउँमा पहिले दरबार थियो, त्यो ठाउँलाई अझै लायकु भनेर चिनिन्छ।
नेपाल भाषामा लायकुको अर्थ दरबार हो।
त्यो क्षेत्रमा अहिले त्यहाँ स्थानीयका घरहरू बनेका छन्। तलेजु मन्दिर घरहरूकै लहरमा रहेको खाली जग्गामा बन्न लागेको हो।
'नगरपालिकाले कीर्तिपुरको दरबार इतिहासमा मात्र रहेकाले वडा भवनसहितको नमूना दरबार बनाउन लागेको थियो। त्यो दरबार लायकु क्षेत्रभन्दा बाहिर पर्थ्यो,' स्थानीय एवं लायकु तलेजु सतः अध्ययन समूहका सदस्य श्रीकृष्ण महर्जनले भने, 'हामीले पहिला दरबार भएको ठाउँमै बनाउन प्रस्ताव गरेपछि त्यहाँ बनाउन लागिएको हो।'
नगरपालिकाले तीन वर्षअघि दरबारबारे केही सूचना भए नगरपालिकालाई दिन सूचना जारी गरेको थियो। सोहीबमोजिम उनीहरूले ओल्डफिल्डको तस्बिरसहित ऐतिहासिक दस्तावेज र तलेजु बनाउन सयौंको हस्ताक्षर नगरपालिकासामु पेस गरेका थिए। त्यही क्रममा यहाँ लायकु तलेजु सतः अध्ययन समूह बनेको थियो।
यो समूहले अर्को प्रस्ताव पुरातत्व विभागलाई दिएको थियो। प्रस्तावमा तलेजुको मन्दिर मात्र होइन, दरबार सिंगै बनाउन सकिने अवधारणा थियो।
गत वर्ष भदौमा पुरातत्व विभागलाई उनीहरूले लेखेको पत्रमा त्यहाँका घरलाई अन्य ठाउँ व्यवस्थापन गरे दरबार पनि बनाउन सकिने भनेर स्थानीयले सहमति जनाएका थिए।
पत्रमा लेखिएको छ- दरबार क्षेत्रमा रहेकाहरूले यदि दरबार बनाउने हो भने हामीलाई कोलोनी बनाएर व्यवस्थापन गरे पनि हुन्छ भन्ने खालको विचार राखेका छन्।
उनीहरूले दरबारसँगै तलेजु मन्दिर बनाउन पुरातत्व विभागलाई पत्र लेखेको कुरामा विभागले खासै चासो नजनाएको महर्जन बताउँछन्।
त्यसपछि स्थानीयहरू आफैं मिलेर लायकु तलेजु सतः अध्ययन समूह बनाए। यहाँको मन्दिर के–कस्तो होला भन्ने उनीहरूले अध्ययन गरेपछि बनाउन थालिएको उनले बताए।
'कोलोनी बनाएर व्यवस्थापन गरेर दरबार बनाउने कुरा स्थानीयको सामर्थ्यमा थिएन। तलेजु मन्दिर बनाउन भने हामीले पहल गर्यौं,' उनले भने।
यहाँ मन्दिर बनाउनुअघि मन्दिरको कुनै अवशेष बाँकी थिएन। लामो समयदेखि मान्छेहरूले घर निर्माण गर्दा माटो फ्याँक्ने गरेकाले यो ठाउँ 'डम्पिङ साइट' जस्तै बनेको थियो। अहिले पुरानो चित्र हेरेर नाप-नक्सांकन गरिएको हो।
तलेजु मन्दिर तीन तलाको बन्न लागेको छ। त्यहाँ पुराना इँटा र आकर्षक पुराना शैलीका झ्यालहरू निर्माण हुनेछन्। तर मन्दिर बनाउँदा पुरातात्विक मापदण्ड भने पालना गरिएको छैन। त्यहाँ अत्यधिक रूपमा सिमेन्ट र फलामे छड प्रयोग गरिएका छन्। आफूहरूले पुरातात्विक मूल्यमान्यता बुझेको भए पनि त्यसलाई पछ्याएर बनाउन नसकेको महर्जनले स्वीकार गरे।
'हामीले दरबार क्षेत्र घोषणा गर्न पहल गरेर यो ठाउँको संरक्षण गर्न पुरातत्व विभागलाई भनेका थियौं। तर उनीहरूले वास्ता गरेनन्,' उनले भने, 'पुरानो शैलीमा बनाउँदा निकै महँगो पर्ने भएकाले हामीले आफ्नो बलबुताले जे सक्छौं, त्यही गरेका हौं।'
यो भवन मन्दिर मात्र नभई सतः का रूपमा प्रयोगमा आउने उनी बताउँछन्। सतः मा मन्दिरसँगै कीर्तिपुर संग्रहालय र वडाको भवन पनि हुनेछ। अहिलेसम्म वडा भवन निर्माणाधीन यस भवनको ठ्याक्कै पछाडि अस्थायी रूपमा सञ्चालन हुँदै आएको छ।
'सतः सामूहिक रूपमा प्रयोग गर्न सकिने ठाउँ हो। वडा कार्यालय पनि हाम्रो समाजकै हिस्सा भएकाले अन्य विकल्प नहुँदासम्म ठाउँ दिन लागिएको हो,' महर्जनले भने, 'जिविसले खासमा वडा भवन बनाउन लागेको थियो। हामीले वडा भवनसहितको तलेजु मन्दिर बनाउन उहाँहरूलाई आग्रह गरेपछि बन्न लागेको हो।'
तलेजुलाई कुमारीको अर्को रूप पनि मानिन्छ। यहाँ पहिले जीवित कुमारी थिइन् वा थिइनन् भन्ने थाहा छैन। तर तलेजु पुजारी भने अझै छन्। यहाँको दरबार कहिले भग्नावशेषमा परिणत भएको थियो भन्ने प्रमाण अझै जुट्न सकेको छैन। स्थानीयहरू भने पृथ्वीनारायण शाहको गोर्खा फौजले कीर्तिपुर आक्रमण गर्दा दरबार भत्किएको हुन सक्ने अनुमान गर्छन्।
दरबार नभए पनि लायकु भन्ने ठाउँ हुनु, लायकु केब अर्थात दरबारको बगैंचा र उमामहेश्वर मन्दिर पछाडिको कोतघर यहाँ हुनु दरबार भएको प्रमाण हुन्। अर्को प्रमाण तलेजु भवानीको मन्दिर हो जसलाई राजाहरूको कुलदेवी मानिन्छ। यी सबै राजदरबारका विशेषता हुन्।
कीर्तिपुर वडा नम्बर १ का अध्यक्ष हीरालाल महर्जनका अनुसार करिब तीन करोड रूपैयाँ बजेटमा यो भवन निर्माण हुँदैछ।
उक्त ठाउँ कुनै समय खुला शौचालयको रूपमा समेत प्रयोग भएको उनले देखेका छन्।
त्यो ठाउँमा आफ्नो वडा भवनसहित मन्दिर ब्युँताउन पाउँदा खुसी व्यक्त गर्दै उनले भने, 'हामीले हाम्रो वडा भवनसहित इतिहास पनि ब्युँताउन पाएका छौं। यो कीर्तिपुरका लागि अर्को इतिहास हुनेछ।'