दाङको चौघेरामा जन्मेकी विमला योगी तीन दशकअघि विद्यालय तहमा स्थायी शिक्षक थिइन्। छोरीलाई पढाउनु जरुरी छैन भन्ने जमानामा पढेर उनी शिक्षक भइन्। त्यसैले उनी गाउँमा उनको कम्ता मान थिएन।
२०२५ सालमा जन्मेकी विमलाले समाजशास्त्र र अर्थशास्त्रमा एमएसम्म पढिन्।
‘छोरीलाई पढाउन जरुरी छैन भन्ने मानसिकता भएको समाज थियो। मैले अनेक समस्या सामना गर्दै पढेँ,’ विमलाले भनिन्, ‘छोरी मान्छेले जागिर गर्ने कुरामा पनि समाज खासै उदार थिएन तर म शिक्षक भएँ।’
त्यो बेला दाङमा बिएसम्मको मात्रै पढाइ हुन्थ्यो। घरको कामकाज सम्हाल्दै उनले पढाइ अघि बढाइन्। सजिलो त कहाँ थियो र।
त्यो बेला स्कुल जाँदा भोगेको दुःख उनले कहिले विर्सिन सक्दिनन्। कापि, कलम र किताबका लागि गर्नुपर्ने संघर्ष। स्कुल जाँदा चाहिने अरू कुरा। स्कुल जानु अघि सक्नुपर्ने अरू घरका काम। यी सबै कलिलो मनले झेलेर उनले स्कुल पार लगाइन्। क्याम्पस पढिन्।
'मैले भोगेजस्ता समस्या त पछि म पढाउने बेलासम्म पनि थिए। मैले पढाउन थाल्दा पनि धेरै बालबालिकासँग एक जोरभन्दा बढी लुगा थिएन,’ विमलाले भनिन्, ‘खुट्टामा जुत्ता हुँदैनथ्यो। धेरैसँग कापीकलम पैसा थिएन। सरकारी स्कुलमा थोरै पैसा तिरेर पढाउन नसक्ने बाबुआमा पनि थिए।’
शिक्षक भएपछि उनले गाउँसमाज र शिक्षाबारे अझधेरै कुरा बुझिन्। समाज भने पहिला भन्दा धेरै बदलिएकै थिएन। केटाकेटीहरूले स्कुल छोड्ने समस्या कम भएकै थिएन। थोरै मान्छेले पढेरमात्रै सिंगो समाज शिक्षित हुँदैन भन्ने उनलाई लागिरह्यो। शिक्षकका रूपमा उनले धेरैलाई स्कुलसम्म केटाकेटी पुर्याउन सम्झाइ बुझाइ पनि गरिन्। स्कुलसम्म आउन नसक्ने बालबालिका कस्तो भविष्यमा हिँड्लान् भन्ने पीर सँधै भइरह्यो।
उनले धेरै सोचेपछि एउटा निष्कर्षमा पुगिन्- जबसम्म हरेक घरका आमाहरू आर्थिक रूपले बलिया हुँदैनन् तबसम्म छोराछोरीले शिक्षा पाउँदैनन्। छोरीले त झनै पाउँदैनन्। आफूले समाजका लागि सकेको योगदान त दिनुपर्छ भन्ने पनि उनको मनमा आइरहेको थियो। फेरि आफ्नै जिन्दगी धान्नुपनि थियो।
उक्त निष्कर्ष निक्लेको केहीसमयपछि उनले आफ्नै बाटो बदल्ने निर्णय गरिन्।
सामाजिक कामतर्फ पाइला अघि बढाइन्। अनि महिलाको आर्थिक अवस्था सुधार गर्ने मुख्य उद्देश्यले २०५० सालमा जन्मियो ‘नेपाल महिला सामुदायिक सेवा केन्द्र’।
कार्यालय राखियो दाङमा।
विमलाको नेतृत्वमा संस्थाले ‘आत्मनिर्भर महिला’ नारा धेरै गाउँहरूमा पुग्यो।
विमला अघि त बढिन् तर गाउँघरमा उनले सोचेजस्तो सजिलो मात्रै किन हुन्थ्यो। अनेक आरोप खेप्नु पर्यो तर निराश भइनन्।
‘त्यो बेला पनि महिलाहरू बाहिर आएर काम गर्न अप्ठ्यारो अवस्था थियो,’ उनले भनिन्, ‘गाउँलेहरू मलाई छोरीबुहारी बिगारी, भाँड्न थाली भनेर गाली गर्थे तर म पछि हटिनँ।’
समाजको त्यही तितो सत्य विमलाका लागि अघि बढ्ने प्रेरणा र चुनौती दुवै थियो। घरमा नभेटिएका छोरीबुहारीलाई पधेँरोमै भेटिन्। खेतबारीको मेलोमै गएर पनि भेटिन्।
रातदिन मेलापात र घरधन्दामा घोटिने गृहणीहरूलाई उनले पढ्न प्रेरित गरिन्। विस्तारै समय र समाज फेरिँदै गयो। चेतनास्तर बढ्दै गयो तर यतिले मात्रै त आर्थिक उन्नित भइहाल्ने थिएन।
फेरि विमलाले आफ्नो नेतृत्वमा ‘सामुदायिक लघुवित्त’ सुरु गरिन्।
वित्तीय संस्थाको नेतृत्व
उनले चुनौतीहरू चिनेकै थिइन्। सामना गर्दै अघि बढ्नु थियो। महिलालाई पैसाको कारोबारी बनाउन सजिलो थिएन। महिलामा चेतना अभिवृद्धि गर्दै उनीहरूलाई आर्थिक रूपले आत्मनिर्भरतातर्फ अघि बढाउनु उनको मुख्य उद्देश्य थियो।
विमलाले आफ्नो नेतृत्वमा ‘नेपाल महिला सामुदायिक विकास केन्द्र’ र ‘सामुदायिक लघुवित्त’ एक साथ अघि बढाइन्।
आफ्नो काममा अघि बढ्दै थिइन्, उनी एकाएक बुटवलमा मुख्यालय रहेको ‘जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था’ को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएर राष्ट्रियस्तरको लघु वित्त संस्थाको नेतृत्व गर्न पुगिन्।
‘लघुवित्त एकदम धेरै जोखिम भएको कारोबारको क्षेत्र हो,’ विमला भन्छिन्, ‘घरव्यवहारमा जस्तै ससाना व्यावहारिक कुरा ख्याल गरिएन भने संस्था बर्बाद हुन्छ।’
विमलाका अनुसार महिलाको आर्थिक अधिकार र आत्मनिर्भरता एउटा अभियान हो। यस्तो अभियानले गाउँका महिलाहरूलाई उद्यमी बन्न सघाउँछ।
भन्छिन्, ‘जब महिला मालिक बन्छन् अधिकारको लडाइँ जितिन्छ। लडाइँ जित्न आर्थिक रूपमा आत्मनिर्भर हुन जरुरी छ।’
उनका अनुसार अर्को व्यक्तिले कमाइदिएको पैसा चलाउन पाउनु आर्थिक अधिकार होइन। अधिकार सम्पन्न महिला त्यो हो जो आफैँ उद्यमी बनेर आफ्नै कमाइको मालिक बनेको छ।
उनी हरेक महिलाबारे यस्तै सोच्छिन्।
विमलाले खोलेको लघुवित्तमा हाल अन्य चारवटा सहरकारी संस्था आबद्ध छन्। महिलाको नेतृत्वमा चल्ने ती संस्थामा पुरुषहरू पनि छन्।
‘एउटी महिलालाई अधिकार सम्पन्न बनाउन महिला–पुरुष सहकार्य जरुरी छ,’ उनी भन्छिन्, ‘हामीले महिला र पुरुषका बीच गजबको सहकार्य स्थापित गर्न खोजेका छौँ।’
लघुवित्तमा आबद्ध व्यक्ति र सहकारी संस्थाहरू गाउँघरमा ससाना कामबाटै पनि महिलाको आर्जन बढाउन सघाउँछन्। करेसाबारीलाई आम्दानीको थलो बनाउने सूत्र सिकाउँछन्।
घरमा पालेका गाईभैँसीको दूधबाट आर्जन गर्ने उपाय सिकाउँछन्। अनि उत्पादनको बजार खोज्न सिकाउँछन् र सघाउँछन् पनि।
यस्ता अनेक सूत्र छन् सामुदायिक लघु वित्तसँग।
‘थोरै रूपान्तरण भए हामीले दिनहुँ गरिरहेकै कामबाट पनि आम्दानी हुन्छ,’ विमला भन्छिन्, ‘हरेक महिला यस्तै काममा जिन्दगी बिताइरहेका हुन्छन् तर आर्थिक उपार्जन गर्न सकेका हुँदैनन्। हामी महिलालाई घरमै उद्यमी बन्ने बाटो देखाइरहेका छौँ।’
विमलाले हाँकेका लघुवित्त र सहकारीहरूमा मात्रै करिब पाँच सय महिला कर्मचारी कार्यरत छन्।
साढे ६ सय जनालाई निःशुल्क शिक्षा
विमलाको सामाजिक परिचय महिलाको उद्यम विकासमा मात्र सीमित छैन। उनी बालबालिकाको शिक्षामा पनि अघि बढेकी छन्।
उनका अनुसार हाल कम्तीमा साढे छ सय बालबालिकाले उनकै पहलमा दाङका विभिन्न स्कुलमा निःशुल्क पढ्दै छन्।
विमलाको नेतृत्वमा हालै दाङमा बालिकाको स्वास्थ्य र शिक्षामा सघाउने उद्देश्यले ५० लाख रुपैयाँको एउटा कोष स्थापना भएको छ।
उक्त कोषका लागि आफूले व्यक्तिगतरूपमा १० लाख रुपैयाँ दिएको उनले बताइन्। महिला सामुदायिक सेवा केन्द्रले ४० लाख रुपैयाँ दियो।
कोषले विद्यालय जान नपाएका, बीचमै पढाइ छोड्नुपर्ने बाध्यता भएका दाङका बालिकाको शिक्षा र स्वास्थ्यमा सघाउने छ।
कोषको रकम ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत खर्च गरिनेछ।
कोषले ‘स्वस्थ र शिक्षित बालिका, सुन्दर गाउँ–नगरपालिका’ अभियानका लागि काम गर्ने विमलाले बताइन्। उनले यो अभियान सफल पार्ने काममा मद्दत गर्न सार्वजनिक आह्वान पनि गरेकी छन्।
उनका अनुसार कोषबाट स्कुले बालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ। उनीहरूलाई सेनिटरी प्याड वितरण गरिनेछ।
विमला ‘नेपाल महिला संघ, दाङ’ की संस्थापक अध्यक्ष पनि हुन्। उनले ‘स्कुल अफ डेमोक्रेसी, दाङ’ नामको संस्था पनि आफ्नै पलहमा स्थापना गरेकी थिइन्।
‘हाम्रो मुलुकमा राजनीतिक परिवर्तन त छिटोछिटो भयो तर त्यसअनुसार सामाजिक–आर्थिक रुपान्तरण हुन सकेन,’ विमला भन्छिन् ‘अहिले पनि लाखौँ दिदीबहिनीहरू आफ्नै घर र समुदायभित्र विभेदमा परेका छन्। उनीहरूको कथाव्यथा नीतिनिर्माण गर्ने तहसम्म पुग्न सकेको छैन।’
यस्ता दिदीबहिनीको आवाज नीति निर्माणको थलोसम्म पु¥याउने आफ्नो धोको रहेको उनले बताइन्।