काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरूयोजना निर्माण सुरू गरेको छ।
सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ।
काठमाडौं उपत्यकाको एकीकृत गुरूयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनियर सौरव ढकालले जानकारी दिए।
एकीकृत गुरूयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए।
गुरूयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ।
एकीकृत योजनाअनुरूप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्नेछ।
एकीकृत योजना बनाउन रु नौ करोड बजेट विनियोजन गरिएको छ।
एक महिनाअघिदेखि सुरू भएको एकीकृत गुरूयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ।