गत पुस ३ गते साँझ अत्तरियाको पूर्व-पश्चिम राजमार्गमा कैलालीको घोडाघोडीका सुनचाँदी पसल सञ्चालक विकास सुनारमाथि गोली प्रहार भयो।
अत्तरियाबाट पसल बन्द गरेर साँझ घर फर्किने क्रममा गोली प्रहार गरेर उनको साथबाट पैतिस तोला सुन र केही नगद लुटेर पनि लगेको सुनारको भनाइ छ।
उनीमाथि तीन राउण्ड गोली प्रहार भयो। गोली लागेर घाइते भएका सुनारको उपचार भइरहेको छ। घटनापछि गोली प्रहार गरेर लुटपाट गर्नेहरू फरार छन्।
सुरक्षा निकाय २४ सै घण्टा तैनाथ हुने क्षेत्रमा यसरी गोली प्रहार गरेर लुटपात हुनु स्थानीयहरूले आश्चार्य मानेका छन्। यो घटनाले राजमार्ग क्षेत्रमा सुरक्षा चुनौती देखिएको अत्तरिया उद्योग वाणिज्य संघ अध्यक्ष अशोक देवकोटाको भनाइ छ।
‘बजार क्षेत्रमा दिउँसै यस्ता घटना भए, व्यापार-व्यवसाय गर्नेहरूमाथि असुरक्षा बढ्छ, राजधानी जस्तो ठाउँमा यस्तो घटना हुनु सुरक्षा व्यवस्थामा लापरबाही छ भन्ने प्रस्ट देखिन्छ,’ उनले भने।
उनले ज्यान लिने उद्धेश्यले व्यवसायीमाथि गोली प्रहार भएको घटनाको विरोध गर्दै सुरक्षा माग गरे।
‘घटनाको स्वच्छ छानबिन गरी यथाशिघ्र दोषीलाई हिरासतमा लिएर कानुनी उपचार दिनुपर्छ, आगामी दिन यस्ता घटना हुन नदिन कडा सुरक्षा निगरानी हुनुपर्छ,’ उनले भने।
प्रहरीले घटनापछि गोली प्रहार गर्नेहरूको सबै ठाउँबाट खोजी जारी रहेको बताएको छ। तर, अहिलेसम्म पक्राउ गर्न सकिरहेको छैन।
यो घटनाको अनुसन्धानमा सहज पार्ने एक महत्वपूर्ण पाटो प्रहरीले गुमाएको छ। त्यो हो जुन ठाउँमा घटना भएको छ, त्यही ठाउँको सिसिटिभी क्यामरा बिग्रिएर बन्द हुनू।
घटनास्थलमा सिसिटिभी क्यामरा जडान गरिएको छ। तर, त्यो क्यामरा बिग्रिएका कारण घटनाको अनुसन्धानमा प्रहरीलाई झन् चुनौती बढेको छ।
प्राय: राजमार्गमा आपराधिक घटना घटेपछि अनुसन्धान सहज पार्न जडान गरिएका सिसिटिभी क्यामरा प्रयोगविहीन भएकोप्रति स्थानीयहरू भने आक्रोशित छन्।
अत्तरियाका स्थानीय लोकराज पाण्डे (आगो) ले सिसिटिभी क्यामरामा अधिकांश समयमा बिग्रिनुमा शंका व्यक्त गरे।
‘यहाँ लगाएका सिसिटिभी क्यामरा कसले चपायो, कसले खायो, कसले निल्यो, सम्बन्धित निकायले उत्तर दिनुपर्छ, जहिल्यै पनि क्यामरा कसरी बिग्रिन्छन्,’ उनले आक्रोश पोखे।
रेखदेख गर्नुपर्ने सम्बन्धित निकायले बेवास्ता गर्दा सुरक्षा सिसिटिभी क्यामराबाट हुनुपर्ने अपराध अनुसन्धान नभएको स्थानीय शान्ति सुनारको भनाइ छ।
‘अबदेखि प्रत्येक सिसिटिभी क्यामरा सुचारू हुनुपर्छ, नत्र भने व्यापार-व्यवसायी गर्नेहरू जोखिममा छन्, अपराध भएका ठाउँमा सिसिटिभी क्यामरा बिग्रिएकै हुन्छ, त्यत्तिकै जहिल्यै सिसिटिभी क्यामरा बिग्रेका हुन्छन् भन्छन्, किन रेखदेख हुँदैन प्रत्येक दिन रेखदेख हुनुपर्ने हो,’ उनले भनिन्।
यो घटना घटेको चार दिनपछि अत्तरियाको पहाड रोडमा रहेको साना किसान कृषि सहकारी संस्थामा पनि पाँच लाख ६८ हजार बराबरको रकम चोरी भयो। चोरले झ्यालको ग्रिल निकालेर भित्रको सिसिटिभी क्यामराका हार्डडिस्क र दराजको लकर फोडेर पैसा चोरी गरेको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताए।
उक्त सहकारीको कार्यालय सडक नजिकै छ। सडकमा पनि सिसिटिभी क्यामरा जडान छ। तर, त्यो बिग्रिएको छ।
‘प्रत्येक ठाउँमा जडान गरिएका सिसिटिभी क्यामरा सुचारू भएको भए, यो घटनामा पनि केही हदसम्म अनुसन्धान गर्न सहज हुन्थ्यो, प्रशासनले यसतर्फ एकदम निगरानी गर्नुपर्ने, तर यसो भएको छैन,’ खत्रीले भने।
यी घटनामात्र नभई कैलालीमा केही दिनयता चोरी गर्ने समूह सक्रिय देखिएको छ।
धनगढी र अत्तरिया क्षेत्रमा चोरी तथा लुटपाटका घटना बढ्दा स्थानीयहरूले जडान गरिएका र थप सिसिटिभी क्यामरा जडान गरेर सुचारू गर्नुपर्ने माग गरेका छन्।
तीन दिनयता लगातार धनगढी-९ तीन बंग्राकटानमा जिन्सी सामग्री चोरी भइरहेका छन्।
पुस ४ गते सोही ठाउँमा घरमा आएर लुटपाट गर्ने समूहलाई भगाउन स्थानीयहरूले गोली प्रहार गर्नुपरेको थियो।
एक महिना अघि धनगढी र अत्तरियाको बीचमा रहेको गेटामा प्रहरीले ट्राफिक चेक गर्दा धनगढीका स्थानीय ईन्द्र शाहको मोबाइल हरायो। उनले पनि मोबाइल ट्राफिक चेक गर्ने ठाउँमा पो छुट्यो कि? भनेर सिसिटिभी क्यामराबाट हेरिदिन अनुरोध गरे। तर, त्यहाँको सिसिटिभी क्यामरा पनि बिग्रियो भन्ने प्रहरीबाट उत्तर आयो।
गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा स्वीकृत वार्षिक कार्यक्रमअनुसार एक करोड ७१ लाख रूपैयाँको लागतमा सिसिटिभी क्यामरा खरिद गरेर १३८ स्थानमा जडान गरेको थियो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीमा ९२ वटा र कञ्चनपुरमा ४६ वटा सिसिटिभी क्यामरा जडान गरिएका छन्। तर, ती सिसिटिभी क्यामरा अधिकांश बिग्रिएका छन्, रेखदेख अभावमा उक्त सिसिटिभी क्यामरा बिग्रिएका हुन्।
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म पूर्वपश्चिम राजमार्गमा जोडिएका सिसिटिभी क्यामराले अपराध अनुसन्धानमा सहजता ल्याउन सकेका छैनन्।
बिग्रिएका क्यामरालाई कसरी मर्मत गर्ने भन्नेबारे सम्बन्धित निकाय अन्यौलमा छन्।
मन्त्रालयले क्यामरा जडान गरेका कारण उसलै मर्मत गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
‘कानून मन्त्रालयबाट राजमार्गमा क्षेत्रमा क्यामरा जडान भएका हुन्, मर्मत गर्ने पनि जिम्मा उसैको हो, यद्यपि मर्मत गर्ने विषयमा हामीलाई बजेट पनि आएको छैन, यो काम कसले गर्ने प्रस्ट पनि भएको छैन, तर पनि हामीले समन्वयबाट काम गरिरहेका छौं,’ उनले भने।
राजमार्गमा भएको गोलीकाण्डपछि इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बिग्रिएका क्यामराको मर्मत कार्य सुरू गरेको छ।
यता, मन्त्रालय भने सिसिटिभी क्यामरा जडानपश्चात् प्रहरी प्रशासनलाई हस्तान्तरण गरेकोले रेखदेख र मर्मत गर्ने जिम्मेवारी उसकैको रहेको बताउँछ।
तर पनि अहिलेसम्म क्यामरा मर्मतको काम भने मन्त्रालय नै गरिरहेको मन्त्रालयका नायब सुब्बा योजना शाखाका प्रमुख मनोज जोशीले बताए।
उनका अनुसार क्यामरा मर्मतका लागि पाँच लाख बजेट खर्च समेत भइसकेको र बाँकी मर्मतको काम गर्न बजेट नै छैन।
‘मर्मतका लागि भनेर हामीले अर्थ मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेटको माग गरेका थियौं, त्यहाँबाट पाँच लाख मात्र आयो, अहिले त्यो बजेट लगभग सकिसक्यो,’ उनले भने।
मन्त्रालयका अनुसार क्यामरा बिग्रिएका छन् भन्ने खबर मन्त्रालयमा आउँदैन।
‘क्यामरा बिग्रिनेबित्तिकै खबर आउँदैन, त्यसकारण मर्मत कार्य पनि ढिला हुन्छ, अबदेखि यसको मर्मत कार्य स्थानीय तहलाई दिने कुरा भइरहेको छ,’ जोशीले भने।
हाल बिग्रिएका क्यामरा मर्मत गर्न विषयमा सम्बन्धित निकायहरूबीच अन्यौलता देखिन्छ।
कैलालीमा बढ्दै गएका जघन्य अपराध चोरी लगायतका घटना हेर्दा सिसिटिभी क्यामराको आवश्यकता निकै छ।
यस्तै, प्रहरी प्रशासनले आफैंले जडान गरिएका बजार तथा चोकका क्यामरा पनि बिग्रिएका छन्।
बजेट नहुँदा बिग्रिनेबित्तिकै क्यामरा बनाउन नसकेको प्रहरीले जनाएको छ।
जडान गरिएका क्यामरा २४ सै घण्टा सुचारू गर्न सम्बन्धित निकायहरूले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन्।