माटोले पुरेको ल्यान्डफिल साइटमा पोखरा महानगरपालिकाले फेरि फोहोर फालेको छ।
महानगरले शुक्रबार राति र शनिबार बिहान पुरिएको ठाउँमाथि नै फोहोर फालेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा बाधक भएको भन्दै ल्यान्डफिल साइट पुरिएको थियो।
विमानस्थलको पूर्वतर्फ काटिएको रिठ्ठेपानी डाँडाको माटो ल्यान्डफिल साइट पुर्न प्रयोग गरिएको थियो। विमानस्थलको रनवेदेखि २ किलोमिटर पश्चिमतर्फ पोखरा–१४ बाच्छेबडुवामा रहेको ल्यान्डफिल साइट पुर्न सकिएको थियो।
ल्यान्डफिलसाइट पुरेर सकिएपछि पनि महानगरले फोहोर फाल्न नरोकेको स्थानीयबासीले बताएका छन्।
‘माटोले ल्यान्डफिल साइटको फोहोर पुरिएर सकाएको थियो,’ एक स्थानीयले भने, ‘पुरिएको ल्यान्डफिल साइटमाथि महानगरले फेरि फोहोर थुपारेको छ।’
उक्त ल्यान्डफिल साइटका कारण विमानस्थलमा गिद्ध लगायतका चराहरू भीड लाग्ने गर्छ। हवाई सुरक्षाका लागि विमानस्थलले विगत ५ वर्षदेखि ल्यान्डफिल साइट अन्यत्र सार्न पोखरा महानगरलाई पत्राचार गर्दै आएको थियो। महानगरका मेयर धनराज आचार्यले मंसिर १८ गतेदेखि उक्त ल्यान्डफिलसाइटमा फोहोर नफाल्ने भन्दै विमानस्थललाई लिखित उत्तर दिएका थिए।
महानगरका मेयर आचार्यले पत्राचारमा उल्लेख गरे अनुसार मंसिर १८ पछि बाच्छेबडुवामा फोहोर फाल्न रोक्न सकेनन्।
त्यसपछि विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ पछि फोहोर नफाल्न प्रतिवद्धता जनाए। क्यालिब्रेसन फ्लाइट भएर रिपोर्ट आइसकेपछि पनि फोहोर फाल्न रोकिएन। विमानस्थलको दुबै रनवेबाट परीक्षण उडानसमेत सफल भइसकेको अवस्थामा पनि फोहोर फाल्न नरोकिँदा सुरक्षा चुनौती बढेको विमानस्थल प्रमुख बिनेश मुनकर्मीले बताए।
‘जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँछ, अब कुनै बहानामा रोकिँदैन,’ उनले भने, ‘रनवेको पुर्वतर्फ फोहोर फाल्न नरोकिँदा सुरक्षा चुनौती बढ्यो।’
विमानस्थल संचालनमा आएपछि चराका कारण खतरा देखियो भने नयाँ विमानस्थलका बारेमा गलत नजिर बस्न सक्ने उनले बताए।
विमानस्थल आउने चराको बानी परिवर्तन गरेर अन्यत्र जाने अवस्था बनाउन ६ महिनादेखि १ वर्ष समय लाग्ने चराविद्हरूले बताउँदै आएका छन्। महानगरले ल्यान्डफिल साइट परिवर्तन गर्न नसक्दा विमानस्थल संचालन गर्न एक साता बाँकी छँदासमेत बाच्छेबडुवामा फोहोर फालिरहेका छन्।
यता, पोखरा महानगरका सरसफाई शाखा प्रमुख कल्पना बरालले भोलि आइतबारदेखि बाच्छेबडुवामा फोहोर नफाल्ने बताइन्। पुरानो ल्यान्डफिल साइटमा पुर्न बाँकी रहेका ठाउँमा फोहोर फाल्न लैजाँदा पोखिएको उनले दाबी गरिन्। तर उनले आफु ल्यान्डफिल साइट नगएको बताइन्।
‘भोलिदेखि बाच्छेबडुवामा फोहोर फालिँदैन, हिजो लैजाँदा पुरिएको ठाउँमा पोखिएछ,’ उनले भनिन्, ‘म आँफै ल्यान्डफिलसाइट हेर्न गएको छैन।’
महानगरले पोखरा–३२ लामेआहालमा अल्पकालीन रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ। कास्की र तनहुँको सिमानामा पर्ने उक्त स्थानमा अहिलेसम्म फोहोर लगिएको छैन। महानगरका मेयर आचार्यले पोखराको फोहोर व्यवस्थापन गर्न जग्गाको खोजी भएपनि वातावरणीय प्रतिवेदन नआएकाले सार्वजनिक गर्न ढिलाई भएको बताउँदै आएका छन्।