दाङ तुलसीपुरका ४४ वर्षीय व्यवसायी निमबहादुर बुढाथोकी शनिबार बिहान झिसमिसेमै झाडु बोकेर घरबाट निस्किन्छन्।
सरासर तुलसीपुर बसपार्क पुगेर उनी सरसफाइमा लाग्छन्। उनले यो काम विगत दुई वर्षदेखि गर्दै आएका छन्।
उनी कुनै संघ-संस्था वा निकायका कर्मचारी भने होइनन्। उनले तुलसीपुर बसपार्कस्थित ‘बुढाथोकी सप्लायर्स’ चलाएर बसेका छन्। उनी हरेक शनिबार आफूखुसी यो काम गर्दै आएका हुन्।
बसपार्क फोहोर भएको हेरेर बस्न नसकेकाले फुर्सदमा निकालेर सफाइ गर्ने गरेको उनी बताउँछन्।
‘मलाई कसले के भन्छ मतलब छैन,’ उनले भने, ‘म यहाँ आउने मानिसहरूको फोहोर गर्ने व्यवहार परिवर्तन होस् भन्ने चाहन्छु।’
२०७७ मा बसपार्क फोहोरले भरिएको थियो। फोहोरले भरिएको देखेपछि त्यस सालको फागुनदेखि सफाइ गर्न थालेँ। कुनै समय एक्लै फोहोर सफा गर्ने बुढाथोकीलाई सहयोग गर्न अरू पनि जुटिका छन्।
उनकै आग्रहमा स्थानीय भुपबहादुर भण्डारीले बसपार्कमा आउने यात्रुका लागि डष्टविन राखिदिए।
बसमा आउने-जाने यात्रुहरूले जथाभावी फोहोर नफालुन् र फोहोर डष्टविनमै फालुन् भनेर उनीहरूले अनुरोध समेत गर्ने गरेका छन्।
‘बसपार्कमा सबैले मनपरी फोहर फालिरहेका हुन्छन् र उनीहरूलाई सम्झाउने कोही छैन,’ बुढाथोकीले भने, ‘न कोही त्यसरी फालिएको फोहर उठाउने मानिस नै थिए, त्यहीँ भएर मैले नै फोहर उठाउने निर्णय गरेको हुँ।’
सुरूवाती दिनमा बसपार्कको शौचालय पनि निकै नै फोहोर थियो। त्यतिबेला उनी एक्लैले दुई हप्ता लगाएर सफा गरेको उनी बताउँछन्। यसरी सफा गर्न थाल्दा घरपरिवारले नै फोहोरको काम किन गरिरहेको भनेर प्रश्न समेत गरे।
तर उनले ती कुराहरूको वास्ता गरेनन्। अहिले उनलाई राम्रै काम गरेको भन्दै प्रशंसा समेत गर्ने गरेका छन्।
‘आज घर परिवारदेखि साथीभाइ सबैले सार्वजनिकस्थल सरसफाई गर्ने राम्रो काम गरिरहेको छौं भनेर प्रशंसा गर्छन् र हामी पनि अभियानमा जोडिन्छौं भन्नेहरू धेरै छन्,’ उनले भने, ‘फोहोर उठाउनेहरू होइन फोहर गर्नेहरू बढी फोहरी हुन्।’
यो सरसफाइ अभियानमा उनका साथी-भाइमात्रै छैनन्। केही विद्यार्थीसमेत जोडिएका छन्। कक्षा ११ मा अध्ययनरत राजु विश्वकर्मा, दिलमान महर, कक्षा ९ का तिलक विश्वकर्मालगायत पाँच जना विद्यार्थी ६ महिनादेखि यो अभियानमा उनलाई साथ दिइरहेका छन्।
सरसफाइको काम गरिरहँदा विद्यार्थीहरूलाई प्रश्न गर्नेहरू पनि थुप्रै रहेछन्। यसबापत कति तलब पाउछौं भनेर पनि उनीहरूलाई गिज्याउनेको कमी छैन।
‘हामीलाई धेरैले गिज्याउँछन्। म अनुरोध गर्छु कसैले हामीलाई नगिज्याउनुस्,’ राजुले भने, ‘सक्नुहुन्छ भने अभियानमा जोडिनुस् र सक्नुहुन्न भने पनि फोहर नगरिदिनुस्।’
सुरूमा एक्लै काम थालेका बुढाथोकीलाई विद्यार्थीहरूको सहयोगले केही राहत भएको छ। यसरी उनीहरूले हरेक शनिबार सफा गर्दा केही हदसम्म बसपार्क सफा देखिन्छ।
उनीहरूले फोहर संकलन गरी डष्टविनमा राख्छन्। त्यसपछि तुलसीपुर उपमहानगरपालिकाको ट्र्याक्टरले उक्त फोहोर लैजान्छ।
यतिमात्रै होइन उनीहरूले बसपार्कमा रहेका बोटविरूवामा पानी हाल्छन्।
उनीहरूको सरसफाइ गर्ने अभियान केही हदसम्म सफल भएकोमा निमबहादुर बुढाथोकी खुसीछन्। अहिले त्यहाँ आउने धेरैजसोले डष्टबिनकै प्रयोग गर्ने गरेको हुँदा पनि उनी यसलाई आफ्नो सफलता मान्छन्।
‘पहिले हामीले राखेका भाँडोमा कसैले फोहर राखेका हुँदैन थिए,’ उनले थपे, ‘हेर्नुहोस् आज यी भाँडा सबै फोहरले भरिएका छन्। यो हामीले हैन यात्रुले राखेका हुन्।’
कहिलेकाँही बसपार्कका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोषकुमार आचार्यले पनि उनीहरूको अभियानमा मिसिन्छन्।
‘उहाँहरूको निकै उदाहरणीय काम छ,’ आचार्यले भने, ‘एक-दुई पटक म्यादी प्रहरीसहित खटिएर मैले उहाँहरूको अभियानमा जोडिने अवसर पाएको छु।’
स्थानीय सरकारले बसपार्कको सरसफाइमा चासोका साथ काम नगरेको स्थानीयबासीको गुनासो छ। बरू बुढाथोकीको समूहले उदाहरणीय काम गरिरहेको उनीहरू बताउँछन्।
बसपार्कका ठेकेदारले ठेला व्यापारीहरूबाट दैनिक ५० रुपैयाँ भाडा असुल्छन्।
ती ठेलाले गुट्का, चुरोट, चिया, चाउचाउ, बिस्कुट, फलफूललगायत मनपरी फालेको पनि पाइन्छ। यसरी फाल्नेहरू पनि जिम्मेवार बन्नुपर्ने उनको भनाई छ।
विकशित मुलुकमा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई कारबाही गरेजसरी नै यहाँ पनि त्यहीँ हुनुपर्ने उनको भनाइ छ।
‘हाम्रोमा जहाँ मन पर्यो त्यहीँ फोहर फाल्नेहरू छाती फुलाएर स्मार्ट भएको ठान्छन्,’ बुढाथोकीले भने, ‘यथार्थमा उनीहरूको मस्तिष्क फोहेरले भरिएको हुन्छ र हाम्रो आनीबानी निकै खराब छ।’
विद्यार्थी राजुलाई सुर्ती, पान, गुट्का खाएर जहाँ पायो त्यही मनपरि थुक्ने जस्ता युवाहरू देखेर दिक्क लाग्छ।
‘म भन्दा साना केटाहरू पनि मज्जाले चुरोट तान्छन् अनि मनपरी ठूटा फाल्दै हिँड्छन्,’ उनले भने, ‘फुर्ती लगाएर हिँड्ने त्यस्ता युवा-युवतीलाई देख्दा म निकै दुःखी हुन्छु।’ यसरी नै फोहोर फाल्ने केही युवाहरूको सोँच मात्रै परिवर्तन गर्न पनि आफूहरू हरेक शनिबार आएर सफाइ गरिरहेको उनी बताउँछन्।
तस्बिरहरू: