अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएको केही समयपछि उनीहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्नसमेत प्रतिबन्ध लगाएको छ।
संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले तालिबानको यस कदमलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा र भर्त्सना गरेका छन्।
तालिबानले भने राष्ट्रिय हित तथा महिलाको सम्मानको संरक्षण गर्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ ।
तालिबानले यो निर्णयलाई उचित ठहर गर्दै गैरसरकारी संस्थाका महिला कर्मचारीले हिजाब नलगाएर शरिया कानूनको उल्लंघन गरेको बताएको छ।
तालिबानले यसअघि नै अधिकांश माध्यमिक विद्यालयमा महिलालाई अध्ययनमा प्रतिबन्ध लगाइसकेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालिबान सरकारको यो निर्णय अफगानिस्तानका जनताका लागि विनाशकारी हुने बताए।
गैरसरकारी संस्थाहरूमा काम गर्ने धेरै महिलाहरू घरको एक मात्र कमाउने सदस्य हुन्।
‘यदि मैले काम गर्न पाइनँ भने मेरो परिवारको हेरचाह कसले गर्ने?,’ एक महिलाले बिबिसीसँग भनिन्।
अर्की एक महिलाले यो खबरले आफूलाई चकित पारेको भन्दै आफूले तालिवानको कडा ड्रेस कोडको पालना गरेको दाबी गरिन्।
यस्तै अर्की एक महिलाले तालिवानको निर्णयले अब घर कसरी चलाउने र छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता थपिएको बताइन्।