कञ्चनपुरको वेदकोट नगरपालिकामा एक महिनायता सडकमा छाडा छोडिएका पशुचौपायाको विषयले विवाद सिर्जना भएको छ।
स्थानीयहरूले छाडा पशुचौपाया नगरपालिकामा ल्याएर हुलिदिएका छन्। छाडा पशुचौपायाले सवारी दुर्घटना र लगाएको गहुँबाली सखाप पार्न थालेको भन्दै स्थानीयहरूले नगरपालिकामा छोडेका हुन्।
अहिले नगरपालिकाले आफ्नो कार्यालयको अगाडिपट्टि खोला किनारमा एक हजार गाईगोरु राखेको छ।
त्यहाँ राखिएका गाईगोरु शितलहर र आहार अभावले निकै कष्टकर अवस्थामा देखिन्छन्। २० प्रतिशत गाईगोरुहरू घाइते अवस्थामा छन्। कसैका खुट्टा भाँचिएका, कसैका सिङ भाँचिएका छन्। कतिपय गाईगोरुहरू चिसोले मर्न थालेका छन्। हजार गाईगोरु हेरचाहका लागि नगरपालिकाले एक जना हेरालु राखेको छ।
हेरालु लक्ष्मी भट्टका अनुसार हजार गाईगोरुको एक्लै हेरचाह गर्न कठिनाइ भइरहेको छ। नगरपालिकाले परालको व्यवस्था गर्ने गरेको भए पनि पर्याप्त नहुँदा समस्या छ। गाईगोरुलाई चराउन वनजंगल, मैदान छैन।
‘घरमा एक गाईलाई पाल्न त कति गाह्रो हुन्छ, यहाँ त यत्रो गाईगोरुको खानापानी व्यवस्थापन गर्न धौधौ छ, पराल छैन, घरको जस्तो कहाँ हुन्छ र धेरै मरिरहेका छन्। रातको जाडो र दिनको घामले धेरै मरिरहेका छन्,’ उनले भनिन्।
उनले स्थानीयहरूको लापरबाहीले यस्तो समस्या सिर्जना भएको बताइन्।
‘मलाई त नगरपालिकाको भन्दा स्थानीयहरूको धेरै गल्ती लाग्छ,’ उनले भनिन्।
२०७४ सालमा वेदकोट नगरपालिकामा जनप्रतिनिधि आएसँगै छाडा पशुचौपाया व्यवस्थापनको मुद्दा उठ्न थालेको छ। चुनाव जित्ने जनप्रतिनिधिहरूले छाडा पशुचौपायाको व्यवस्थापन गर्ने भन्दै प्रतिबद्धता गरेका थिए।
तर, पछिल्लो पाँच वर्षयता वेदकोट नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनसम्बन्धी गतिलो काम भएन। समस्या न्यूनीकरण हुनुको साटो झन् झन् बढेको स्थानीय माधवराज जोशीले बताए।
‘जनप्रतिनिधिले चुनावी घोषणा पत्रमा दीगो व्यवस्थापन गर्ने प्रतिबद्धता थियो। त्यही अनुरूप स्थानीयहरूले बेलाबेला नगरपालिका आएर छाडा पशुचौपायाको व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाएका थिए, तर केही काम भएन,’ उनले भने।
उनका अनुसार छाडा पशुचौपायाका कारण किसानहरू बताउँछन्।
अहिले लगाएको गहुँ पनि बचाउन गाह्रो भएपछि स्थानीयहरूले छाडा गाईगोरु जम्मा गरेर नगरपालिका हुलेका माधवले बताए।
‘झण्डै एक महिनासम्म पनि नगरपालिकाले गाईगोरु व्यवस्थापन नगरेर खोला छेउमा अलपत्र राखेको छ,’ उनले भने।
अहिले धेरै स्थानीयहरू नगरपालिका अगाडि राखिएका छाडा गाई-गोरुको छिटो दीगो रूपमा व्यवस्थापन गर्नुपर्ने बताउँछन्।
स्थानीयले डम्मर भट्टले गाई-गोरुको यस्तो अवस्था बिजोग देखिएको बताए।
‘यहाँ राखिएका गाई-गोरुको अवस्था देख्दा आँखामा आँसु आयो,’ उनले भने,‘सबैले आ-आफ्ना गाई-गोरुलाई घर-घरमा पालेको भए यस्तो समस्या हुन्थेन, चरणको व्यवस्था स्थानीय सरकारले गरिदिनुपर्ने थियो।’
झण्डै एक महिना अघि समाजिक सञ्जालमा नगरपालिकाले छाडा गाईलाई खाल्डोमा जिउँदै पुरिएको भन्ने चर्चा चलेको थियो।
त्यसपछि यो विवाद झन् बढेको थियो। गाई मार्न नपाइने कानुन छ।
छाडा गाईलाई जिउँदै गाडेर मारिएको भन्ने आरोप लागेपछि वेदकोट नगरपालिकाले भने यो विषयमा भ्रम फैलाइएको दाबी गरेको थियो।
वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बाहिर सुनिए जसरी जिउँदै गाईलाई मारिएको भन्ने खबर झूटो भएको बताएका थिए।
वेदकोट नगरपालिकाले अहिलेसम्म छाडा पशुचौपाया व्यवस्थापन गर्ने शीर्षकमा एक करोड २१ लाख बढी बजेट खर्च गरिसकेको छ।
आर्थिक वर्ष २०७४/७५ मा ४० लाख बजेट छुट्याएकोमा ३६ लाख २४ हजार ३३१ खर्च गरेको छ।
यस्तै, यो नगरपालिकाले २०७५/७६ मा २३, लाख १७ हजार ५०५ रुपैयाँ विनियोजन गरेर ७ लाख ४५ हजार ९९३ लाख खर्च गरेको थियो।
छाडा पशुचौपाया व्यवस्थापनकै नाममा आर्थिक वर्ष ७६/७७ मा ५० लाख विनियोजन गरेकोमा २३ लाख ५३ हजार ७६९ खर्च भएको नगरपालिकाले जानकारी दिएको छ।
यस्तै, आर्थिक वर्ष ७७/७८ मा ४० लाख विनियोजन भएकोमा २१ लाख १९ हजार ३२५ खर्च भएको छ।
गत आर्थिक वर्षमा वेदकोट नगरपालिकाले ५० लाख ३० हजार बजेट विनियोजन गरेकोमा २६ लाख ८९ हजार १४६ खर्च गरेको छ।
यो चालु आर्थिक वर्षमा पनि पशुचौपाय व्यवस्थापनमा ४० लाख छुट्याएको छ भने अहिलेसम्म ५ लाख ६८ हजार ५ सय खर्च गरेको छ।
विगत ६ आर्थिक वर्षमा २ करोड ४३ लाख ४७ हजार ५०५ लाख बढी बजेट छुट्याएको छ भने १ करोड २१ लाख १ हजार ६४ रुपैयाँ बढी खर्च गरेको नगरपालिकाले छाडापशु चौपाया व्यवस्थापनका लागि सामान्य गौशाला बनाउने बाहेक गतिलो काम नगरेको भन्दै स्थानीयहरू आक्रोशित भएका हुन्।
वेदकोट नगरपालिका–१० बसन्ती चौधरीले चौपाया डरले रातदिन गहुँ बचाउन खेतमा बस्नुपर्ने अवस्था रहेको बताइन्।
‘न छुट्याएको सबै बजेट खर्च गरेर काम गर्न सक्यो न त, खर्च गरेकै बजेटबाट केही काम देखियो, हामी किसानले कहिलेसम्म यस्तो भोग्ने,’ उनले भनिन्।
छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले प्रत्येक वर्ष बजेट छुट्याए त्यो अनुसार काम नगरेको स्थानीय धनदेव विष्टले बताए।
‘जति बजेट छुट्याए पनि छाडा गाईगोरुको समस्या जस्तोतस्तै देखिएको छ, हामीलाई धेरै समस्या छ, यसको व्यवस्थापन गर्ने निकायहरूले ध्यान दिएको छैन’, उनले भने।
मेयर बोहरा भने नगरपालिकाले व्यवस्थापनका लागि क्षमता अनुसार काम गरिरहेको दाबी गर्छन्।
‘स्थानीयहरूले नगरपालिका हुलेर राखिएका गाईगोरुको हामीले व्यवस्थापन गरिहेका छौं, नगरपालिकाका १० वटै वडामा कान्जी हाउस बनाएर केही दिनमै व्यवस्थापन गर्ने कुरा भएको छ,’ उनले भने।
दूध दिने बेलासम्म गाई पाल्ने त्यसपछि बाहिर छोड्ने प्रवृत्तिले जटिल समस्या पारेको उनको भनाइ छ। कृषिमा नयाँ आधुनिक उपकरणका कारण गोरु प्रयोग पनि घट्दा स्थानीयहरू बाहिर छोड्ने गरेका छन्।
‘पहिला सहरी क्षेत्रमा बढी हुन्थ्यो, अहिले सबै ठाउँमा भयो,’ उनले भने।
उनका अनुसार छाडा गाईगोरु व्यवस्थापनका लागि संघ सरकारले पुशपंक्षी मन्त्रालय अन्तर्गत नीति नै बनाउनु पर्ने आवश्यकता छ।
‘हामीसँग धेरै बजेट छैन, नगरपालिकामा साधन स्रोतको कमी छ, भोलि दिनमा छाडा गाईगोरुलाई पालन गर्न सके, गोबर ग्यास निकाल्न सके, आर्थिक उपार्जनसँगै यो समस्या पनि हट्छ। यो सबै काम गर्न स्थानीय सरकारले मात्र सकिँदैन। संघ र प्रदेश पनि समन्वय गर्नुपर्छ,’उनले भने।
हाल तत्कालीन रूपमा व्यवस्थापन गर्न १० वटै वडामा कान्जी हाउस बनाएर त्यहाँ राखिने उनले बताए।