तमु (गुरूङ) सञ्चारकर्मी संघ नेपाल (एट्जोन) ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।
हरेक वर्ष तमु ल्होसारको अवसरमा वितरण हुँदै आएको ‘तमु पत्रकारिता पुरस्कार’ को विभिन्न शीर्षकमा देशभरका ६ जना सञ्चारकर्मीहरूलाई पुरस्कृत गरेको हो।
आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘छत्रमानसिंह-कमला गुरूङ पत्रकारिता पुरस्कार’ बाट कान्तिपुर टेलिभिजनका कास्की संवादाता भूपाल गुरूङ र एभरेष्ट एफएम पोखराका दीपेन्द्र श्रेष्ठलाई २० हजार रुपैयाँसहित प्रदान गरिएको छ।
यस्तै ‘भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट चितवनबाट कालिका टेलिभिजनमा कार्यरत गीता गुरूङलाई प्रदान गरिएको छ। ‘लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार’बाट ताप्लेजुङबाट ग्यालेक्सी फोरके टेलिभिजनका सम्बादाता देवराज गुरूङलाई प्रदान गरिएको छ।
तमु ल्होसार मूल आयोजक समितिले उपलब्ध गराउँदै आएको ‘तमु पत्रकारिता पुरस्कार पुरस्कार’ भने बिएफबिएस रेडियोका धनजंग गुरूङलाई प्रदान गरिएको छ।
‘तमु आदिकवि हर्क गुरूङ स्मृति पुरस्कार’ मुकुन्दसेन टेलिभिजनकी शीला गुरूङ (नवलपुर)लाई प्रदान गरिएको छ भने शीलाले पाउने पुरस्कार भने माघ ११ गते स्याङ्जामा हुने कार्यक्रममा प्रदान गरिने एटजोनले जनाएको छ। कास्कीका गुरूङ र श्रेष्ठले बाहेक सबैले १० हजार एक रूपैयाँसहित पुरस्कृत भएका हुन्।
पुरस्कृत व्यक्तिहरूलाई आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरूङमार्फत पुरस्कार राशी, सम्मानपत्र र फेटा प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गुरूङले तमु पत्रकारको लागि अर्को एक शीर्षकमा पुरस्कार स्थापना गरिदिने उद्घोषक समेत गरेका छन्।
कार्यक्रममा तमु ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङ विशिष्ठ अतिथि रहेका थिए।