दस लाख रूपैयाँ फिरौती माग्ने एक युवकलाई मधेस प्रदेश प्रहरीले धनुषाबाट पक्राउ गरेको छ।
मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहलाई ज्यान मार्ने धम्की दिँदै १० लाख रूपैयाँ माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशंकर साहले बताए।
निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहलाई मण्डलले दस लाख दिन, नदिएमा ज्यान मार्ने धम्की दिँदै आएका थिए।
मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको प्रहरीले जनाएको छ।