दाङको राजपुर गाउँपालिका वडा नं. ५ गंगदीको साधारण माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत सुनिता चौधरी स्थानीय विषयवस्तु किताबमा पढ्न पाउँदा निकै खुसी छिन्।
आफैंले देखेको र भोगेको समाज किताबमा पढ्दा सुनितालाई औधी खुसी लाग्ने गर्छ।
‘आफैंले देखेका धार्मिकस्थल, गाउँ घरमा गरेको काम किताबमा पढ्दा खुबै चासो हुने रहेछ,’ उनले भनिन्, ‘यी कुरा म धेरै नपढे पनि अनुभवको आधारमै लेख्न सक्छुजस्तो लाग्छ।’
गाउँपालिकाको संक्षिप्त चिनारीअन्तर्गत भौगोलिक अवस्थादेखि धार्मिकस्थल, कृषि, सामाजिक विषयवस्तुसँगै जीवनोपयोगी शिक्षाका कुराहरू स्थानीय पाठ्यक्रममा समेटेर पढाउन थालेपछि सुनिताजस्ता धेरै स्थानीय बालबालिका खुसी छन्।
कक्षा ८ मै अध्ययनरत संकल्प केसीले कहिल्यै नदेखेका र सधैं किताबमा लेखिएका बाहिरका विषयवस्तु मात्र पढिरहनुभन्दा आफैंले देखेका, चिनेका, जानेका कुराहरू पाठ्यक्रममा पढ्न पाउँदा मन रमाउने गरेको प्रतिक्रिया दिए।
गाउँपालिकाको भौगोलिक अवस्था, खेतीपाती, धार्मिक स्थलसँगै सामाजिक समस्या र सवालका बारेमा अध्ययन गर्न पाउँदा खुसी लाग्ने गरेको उनले बताए।
गाउँपालिकाले यस वर्षको नयाँ शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेपछि स्थानीय बालबालिका खुसी बनेका छन्।
आफूले देखे जानेका कुराहरू कक्षाकोठामा अध्ययन गर्दा मन रमाउने गरेको, खुबै अभिरूचि बढेको तथा अन्य कक्षाहरूको तुलनामा स्थानीय पाठ्यक्रम सिकाइको कक्षा बुझ्नलाई निकै सजिलो हुने गरेको केसीले बताए।
‘आफ्नो ज्ञानको भण्डार बढाउन पढ्नु आवश्यक छ,’ सुनिताले भनिन्, ‘तर, आफैंले देखेका, गरेका र जानेका स्थानीय कुरा पढ्न पाउँदा अभिरूचि बढ्दो रहेछ र सजिलो लाग्दो रहेछ।’
स्थानीय हुनुको नाताले गाउँपालिका भित्रको धेरै विषयवस्तुको जानकारी पहिले नै हुने हुँदा हप्तामा एक दिन मात्रै पढाइ हुने भए पनि त्यसले पढाइमा रूची बढाउने गरेको केसीले बताए।
तर, उनले प्रयोगात्मक कक्षाको आवश्यकता औंल्याए।
‘गाउँ घरमा बस्ने हरेक विद्यार्थीले बुवा-आमासँगै कृषि कर्म र खेतीपातीको कामहरू गर्दै आएका छौं,’ केसीले भने, ‘अब हामीले त्यो गुजारामुखीभन्दा व्यावसायिक खेती गर्नुपर्ने हुँदा सोही अनुरूपको प्रयोगात्मक कक्षा चाहिन्छ।’
किताब पढेरभन्दा प्रयोगात्मक कक्षाबाट सिकाइ उपलब्धी बढी हासिल हुने हुँदा त्यसमा जोड दिन आवश्यक रहेको उनले बताए।
विद्यालयका स्थानीय विषय शिक्षक इन्द्रबहादुर भण्डारीले पनि स्थानीय पाठ्यक्रमको अध्ययनका लागि विद्यार्थी उत्साहित तथा जिज्ञासु बन्ने गरेको प्रतिक्रिया दिए।
तर, उनले पढाउने गरेको पुस्तक तयार नहुँदा केही समस्या रहेको स्वीकार गरे।
त्यस्तै, प्रयोगात्मक कक्षाको लागि आवश्यक तयारी गर्न जरूरी रहेको उनले औंल्याए।
शिक्षक भण्डारीका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, राजपुर गाउँपालिकाको भौगोलिक, सामाजिक र साँस्कृतिक अवस्थाको बारेमा पढाइ हुने गरेको छ।
त्यस्तै, असल आनीबानी, व्यवहार र आचरणको पहिचान गरी अनुशरण गर्ने बानीको अभ्यास, आफ्नो वरपरका वातावरणमा भएका वस्तुहरूको पहिचान, महत्वबोध तथा बालबगैंचा निर्माण जस्ताकुरा पढाउने गरिएको छ।
त्यस्तै, सरसफाइमा सहयोग, स्थानीय प्रविधि, अन्य बाली, फलफूल, पशुपंक्षी पालनको पहिचान, उपयोग, विपद्को परिचयका साथै प्राकृतिक र मानव सिर्जित विपदका जोखिमका लागि सावधानीसँगै राजपुर गाउँपालिकामा भएका स्थानीय पेसा, व्यवसाय, प्रविधिको पहिचान, उपयोग र संरक्षणका बारेमा पढाउने गरेको शिक्षक भण्डारीले बताए।
विद्यालयमा स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ कक्षासम्म करिब ७ सय बढी विद्यार्थीले अध्ययन गरिरहेका छन्।
नयाँ शैक्षिक सत्रदेखि गाउँपालिकाका ३२ वटा विद्यालयमा लागू गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए।
स्थानीय पाठ्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि गाउँपालिकाले हिउँदे अधिवेशनबाट विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै कार्यक्रम’ लागू गर्न थालेको उनले बताए।
‘पुस्तकको ज्ञानसँगै व्यवहारिक ज्ञान सिकाएर विद्यार्थीलाई बौद्धिक र आर्थिक रूपमा सक्षम बनाउन ‘पढ्दै-कमाउँदै कार्यक्रम’ लागू गर्ने तयारीमा छौं,’ अध्यक्ष बुढाथोकीले भने,‘हिउँदे अधिवेशनबाट पास गराएर यो कार्यक्रम लागू हुन्छ र जसले स्थानीय पाठ्यक्रम सञ्चालनको कक्षालाई सहयोग पुर्याउनुका साथै विद्यार्थीलाई आयआर्जनमा जोड्न सहयोग पुर्याउनेछ।’
पछिल्लो समय विद्यालयले गीत संगीतप्रति रूचि राख्ने विद्यार्थीका लागि वाद्यवादनका सामग्री समेत उपलब्ध गराएको छ।
यहाँ संगीतप्रति रूचि हुने विद्यार्थीले प्रत्येक हप्ताको एक दिन वाद्यवादनको कक्षा पनि लिँदै आएका छन्।