दाङको पहाडी बस्तीको एउटा विद्यालय जहाँ पूर्व प्राथमिकदेखि बाह्र कक्षासम्ममा एक हजारभन्दा बढी विद्यार्थी पढ्छन्।
यो एउटा यस्तो सामुदायिक विद्यालय हो जसले अभिभावकलाई विद्यालय आउन आह्वान गरेर सडक किनारामा एउटा बोर्ड नै राखेको छ।
यो हो दाङको झेलनेटा स्थित सुधा माध्यमिक विद्यालय। विद्यालय बाहिरको सडकमा एउटा अचम्मको बोर्ड छ।
जहाँ लेखिएको छ– अभिभावकज्यू नमस्कार। ‘कता हिँड्नु भयो कुन्नि? एक चोटी विद्यालय प्रवेश गरी छोराछोरीको पढाईबारे छलफल गरौँ कि?
यो बोर्ड २०७६ सालमा तत्कालीन प्रधानाध्यापक बाबुराम पौडेलले राखेका हुन्।
के यो बोर्ड पढेपछि अभिभावकहरू विद्यालय आउँछन्?
बोर्ड नजिकै फेला परे घोराही जान बस प्रतिक्षा गरिरहेका ४४ वर्षीय अम्मरबहादुर रावत।
उनकी छोरी विपना यही विद्यालयमा कक्षा ६ मा पढ्छिन। अम्मरबहादुर पनि कहिलेकाहीँ विद्यालय जाने रहेछन्। आफ्नी छोरी र उनका साथीहरूलाई शिक्षकले कसरी पढाउने रहेछन् भनेर हेर्छन्।
‘सबै शिक्षक आएका छन् कि छैनन्, उनीहरू कसरी पढाउँछन्, विद्यार्थीको अवस्था के छ, कक्षा कोठा अनुशासित छ कि छैन, यस्ता कुरा चेक गर्छौं,’ उनले भने।
त्यसबाहेक आफ्नो छोराछोरीको पढाईबारे शिक्षकहरूसँग सोधिखोजी गर्न पाएको उनले बताए। उनीहरूको पढाईसुधार्न र समस्या सुल्झाउन सजिलो भएको उनको अनुभव छ।
पहिले पहिले उनी बोलाउँदामात्रै विद्यालय जान्थे। बोर्ड राखेपछि चाहिँ समय मिलाएर आफैँ जाने गरेका छन्।
‘अचेल त आफैं जान्छु। अरू अभिभावक पनि विद्यालय जाने गरेका छन्,’ अम्मरबहादुर भन्छन्, ‘अभिभावक पुग्दा छोराछोरी पनि सजग हुँदा रहेछन्।’
उनले पनि यही विद्यालयमा पढेका हुन्। त्यस बेला सात कक्षासम्म मात्रै पढाई हुन्थ्यो। आठ कक्षा पढ्न प्यूठान गए। आफ्नी छोरीको पालामा त स्कुल धेरै राम्रो भएको उनको अनुभव छ।
‘अहिले धेरै राम्रो भएको छ। राम्रा फर्निचर छन्। खेल मैदान छ। इन्टरनेटको सुविधा छ। सिसी टिभी क्यामेरा छ,’ उनले भने।
यस्ता आधुनिक सुविधाले विद्यालयको शैक्षिक वातावरण राम्रो भएको उनको बुझाइ छ।
लगत्तै बंगलाचुली–६ का ६५ खिमबहादुर विक पनि विद्यालय नजिकै भेटिए। उनका नाति सुरज चार कक्षामा पढ्दा रहेछन्।
आफूले पढ्न पाएका रहेनछन्। कहिलेकाहीँ उनका छोराबुहारी पढाईबारे बुझ्न विद्यालय जाने गरेका छन् रे!
बंगलाचुली–३ का ४८ वर्षीय दिवाकर घर्ती क्षेत्रीका चार जना छोरा सुधा माविमै पढ्छन्, सबैभन्दा साना दुई कक्षामा र सबैभन्दा ठूला नौ कक्षामा।
कक्षा १२ मा र कक्षा १० मा पढ्ने दुई विद्यार्थीले पनि आफ्ना अभिभावकहरू विद्यालयमा आउने गर्दा पढाईमा सकारात्मक प्रभाव परेको बताए।
एक वर्षयता यो विद्यालयमा ज्ञानेन्द्र ढकाल प्रधानाध्यापक छन्।
अभिभावकलाई विद्यालय आउन आग्रह गरेर सडक छेउमा राखिएको बोर्डले समुदायमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ।
आफ्ना छोराछोरीको पढाई र विद्यालयको गतिविधिबारे जानकारी लिन विद्यालयमा जानुपर्छ भन्ने चेतना अभिवृद्धिका लागि बोर्ड टाँगिएको उनले बताए।
‘यो हाम्रो विद्यालय हो, हाम्रै नानीबाबु यहाँ पढ्छन् भन्ने जान्दाजान्दै पनि अभिभावकहरू आउँनुहुन्थ्यो। चिठी पठाउँदा पनि मुस्किलले धेरै मात्र आउनुहुन्थ्यो,’ उनले भने, ‘सार्वजनिकरूपमा बोर्ड राखेपछि अभिभावकहरू आफैं आउन थाल्नुभएको छ।’
बालबालिकाको प्रगतिबारे सोधखोज गर्न आउने क्रम बढेको उनले बताए ।
‘अभिभावकले विद्यालयमा आफ्ना छोराछोरीको आचारण र शैक्षिक वातावरणबारे जानकारी लिने र शिक्षकप्रति कुनै गुनासो भए भन्ने अवसर पाउनुभएको छ,’ प्रधानाध्यापक ढकाल भन्छन्, ‘हामीले तीन महिनाको अन्तरमा अभिभावक भेला गराएर पनि उहाँहरूका कुरा सुन्ने गरेका छौँ।’
सबै शिक्षकको उपस्थिति नियमित हुने गरेको प्रधानाध्यापक ढकालले बताए। उनका अनुसार नियमबमोजिम बाहेक कुनै पनि शिक्षकले बिदा पाउँदैन।
अनुपस्थितिबारे अभिभावकले जुनसुकै बेला सोध्न सक्ने भएकाले पनि शिक्षकको उपस्थिति नियमित रहेको उनको भनाइ छ।
यस्तो व्यवस्था गरेको भने पूर्व वडाध्यक्ष एनुराज खत्रीले हो। शिक्षण पेशामा तीन दशक बिताएका उनी अहिले पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।
२०७४ सालमा वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित भएपछि खत्रीले यस विद्यालयको हितमा धेरै काम गरेको स्थानीयहरू बताउँछन्। राम्ररी चलेको निजी विद्यालय गाभ्न पनि उनैले पहल गरे।
विद्यालयमा आएर छोराछोरीको पढाईबारे जानकारी लिन आह्वान गरेर सडक किनारमा बोर्ड राख्न लगाउने पनि खत्री नै हुन्।
‘अभिभावकलाई सजग बनाउन मैले बोर्ड लेख्न पठाएको हुँ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा अभिभावक जाँदै नजाने समस्या छ। अभिभावकहरू विद्यालय गइरहनु पर्छ भन्ने मेरो मान्यता हो।’
अभिभावक विद्यालयमा पुग्दा शिक्षक र विद्यार्थी सबै सजग हुने उनको बुझाइ छ।
भन्छन्, ‘आज यहाँका अभिभावकहरू नबोलाए पनि विद्यालय जाने र शिक्षकसँग विद्यार्थीको पढाईबारे छलफल गर्ने क्रम बढेको छ।’
विद्यालयलाई जग्गा किन्ने, पानीको मुहान किन्ने जस्ता महत्वपूर्ण निर्णय पनि खत्रीले नै गराएका थिए।
यो विद्यालयमा प्राविधिकतर्फको पढाई हुन्छ। जो यहाँको मुख्य आकर्षणको विषय हो। यो विषय पढ्ने विद्यार्थीले आफैं उत्पादन र आयआर्जन गर्ने गरेको प्रधानाध्यापक ढकालले बताए।
विद्यालयको आफ्नै कृषि फार्म छ। कृषि विज्ञानका विद्यार्थीहरू यहीँ प्रयोगात्मक अभ्यास गर्छन्।
प्राविधिकतर्फ कक्षा नौदेखि १२ सम्म कृषि विषयमा ४८ जना विद्यार्थी छन्। कक्षा ११ र १२ मा शिक्षा विषय पनि पढाई हुन्छ।
विद्यालयले प्रत्येक विद्यार्थीको अभिलेख फाइल बनाएर राख्ने गरेको छ।
विद्यार्थीहरू च्याउ र तरकारी उत्पादन गर्छन्। हालै तरकारी बेचेर विद्यालयले २२ हजार रुपैयाँ आर्जन गरेको प्रधानाध्यापक ढकालले बताए।
अहिले मुला र भाजी बिक्रीको लागि तयार भएको छ। विद्यार्थीले गरेको उत्पादन बेचेर आएको पैसा उनीहरूकै लागि खाजामा खर्च गर्ने गरेको पनि ढकालको भनाइ छ।
यो विद्यालयमा पढ्ने विद्यार्थीले परीक्षा शुल्कबाहेक अन्य शुल्क तिर्नु नपर्ने प्रधाननाध्यापक ढकालले बताए। त्यो पनि एकसयको वरिपरि हुन्छ।
कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले त निःशुल्क युनिफर्म पनि पाउँछन्। त्यो पोसाक ल्याब अनुदानअन्तर्गत उपलब्ध हुन्छ।
विद्यालयमा इन्टरनेटको राम्रो पहुँच छ। नेपाल टेलिकमले उपलब्ध गराएका २४ वटा कम्प्युटर छन्। व्यवस्थित पुस्तकालय र विज्ञान प्रयोगशाला पनि छन्। होस्टेल छ र यो निःशुल्क छ। शिक्षक र विद्यार्थी आफैँले खाना पकाउनु पर्ने नियम भने यहाँ छ। प्रधानाध्यापक ढकालसहित १४ जना शिक्षक विद्यालयको होस्टेलमा बस्छन्। उनीहरूसँगै टाढाका ४० जना विद्यार्थी पनि बस्छन्।
यस्तो नौलो व्यवस्था र अन्य सुधारका कारण यो विद्यालय २०७७ सालमा दाङ जिल्लामा उत्कृष्ट भएको थियो।
तर विद्यालयमा समस्या पनि छन्। शिक्षकको दरबन्दी कम हुनु मुख्य समस्या हो। हुन त यहाँ ४२ जना शिक्षकले पढाउँछन्, तर स्थायी दरबन्दी भने जम्मा पाँच जनाको छ। त्यो मध्ये माध्यमिकतर्फ एक जना र निम्नमाध्यमिक र प्राथमिक गरी चार जना छन्। माध्यामिक विद्यालयमा दुई शिक्षक र प्राथमिकमा एक राहतमा राखिएको ढकालले बताए।
गाउँपालिकाको अनुदानमा १६ जना छन्। प्राविधिक तर्फका सात जना शिक्षकले संघीय सरकारबाट तलब पाउँछन्।
हाल विद्यालयले खानेपानीको अभाव झेल्नु परेको छ। गत असोजमा पहिरो जाँदा नजिककैको मूल भासियो। पानी आउन बन्द भयो। बरु खेल मैदानमा पानी रसायो।
हालै विद्यालयमा बंगलाचुली खानेपानी आयोजनाको एउटा धारा जडान गरिए पनि त्यसले आवश्यकता पूरा गर्दैन।
प्रधानाध्यापक ढकालका अनुसार विद्यालयको भौतिक पूर्वाधारको धेरै पक्ष राम्रो रहे पनि विद्यार्थीका लागि फर्निचर अपुग छ।
उच्च शिक्षा पनि यही विद्यालयबाट दिन माग
अहिले यो विद्यालयमै उच्च शिक्षा पढाउनुपर्ने माग हुन थालेको छ।
केहीदिन अघि हामी पुग्दा विद्यालय भवनबाट झन्डै पाँच सय मिटर पूर्व आफ्नै घरको पेटीमा विद्यालयतर्फ फर्की बसेकी छन् बंगलाचुली गाउँपालिका–५ की ६० वर्षीया दिलसरा घर्ती।
उनका नाति अमिर घर्ती यही विद्यालयमा कक्षा १२ मा पढ्दै छन्। उनको विषय कृषि विज्ञान हो।
मध्यान्तरको समय थियो। केही दिन यता विद्यालयका क्यान्टिन सञ्चालक नआएकाले विद्यार्थीहरू खाजा खान निस्किएका थिए। केही विद्यार्थी घर फर्किंदै थिए।
दिलसराका अनुसार केही वर्षयता सुधा माविले धेरै प्रगति गरेको छ।
भन्छिन्, ‘नाति सधैँ बिहानै पढ्न जान्छ, घर आएर पनि पढ्न बस्छ। अहिले विद्यार्थी धेरै छन्, शिक्षक पनि धेरै छन्।’
पहाडको सागसिस्नो खाएर पनि घरनजिकै पढ्न पाउनु छोराछोरीको भाग्यको कुरा हो भन्ने लाग्छ उनलाई। उनी चाहन्छिन्, अझै माथिको पढाई पनि यहीँ भइदिए हुन्थ्यो।
‘बाह्र कक्षापछि यहाँका विद्यार्थी घोराही झर्नुपर्छ,’ दिलसराले भनिन्, ‘हामी जस्ता गरिबले टाढा राखेर पढाउन सक्दैनौं। छोरीचेलीलाई डेरामा राख्न पनि अप्ठ्यारो लाग्छ। यहीँ १५ कक्षासम्म पढ्ने व्यवस्था भए हुन्थ्यो।’
उनले देख्दा सुधा माविमा सातसम्म पढाई हुन्थ्यो। त्यसपछि दश कक्षासम्म पुग्यो। अहिले बाह्र कक्षासम्म भएको छ।
‘यही पहाडमा आधा पेट खाएर पनि माथिसम्म (उच्च शिक्षा) पढ्न पाए हाम्रा छोराछोरी पनि भविष्यमा ठूला मानिस बन्थे कि,’ उनले भनिन्।
दिलसराका छोराहरूले पनि यही विद्यालयमा पढे, उच्च शिक्षाका लागि घोराहीमा गए।
‘हामीले बच्चा पढाउन धेरै आर्थिक बोझ उठाउनु पर्यो,’ उनले भनिन् ‘आज परिवेश फेरिएको छ, बाह्र कक्षासम्म यहीँ पढाई हुन्छ।’
दिलसरा मात्र होइन हामीले भेटेका अरू अभिभावकले पनि यस्तै चाहना व्यक्त गरे। ती मध्ये एक हुन दिवाकर घर्ति।
छोराछोरीले स्नातक तहको पढाई पनि यही विद्यालयमा गर्न पाए आफूहरूका लागि राम्रो हुने पनि बताए।
‘यहीँ बिएस्सी एजी (कृषिमा स्नातक) को कक्षा आइदिए हुन्थ्यो,’ बाह्र कक्षामा पढ्ने एक विद्यार्थीले भनिन्, ‘घरबाट टाढा पठाएर पढाउन मुस्किल छ।’
प्रधानाध्यापक ढकालका अनुसार विद्यालयमै कृषि विषयमा स्नातक तहको कक्षा सञ्चालन गर्न पनि परामर्श भइरहेको छ। यसमा गाउँपालिकाले अग्रसरता लिएको छ।