भारतबाट घर फर्किरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
बाँकेस्थित जमुनाहा नाकामा भारतबाट आउने ५१ जनालाई परीक्षण गर्दा भारतबाट घर फर्कंदै गरेकी जाजरकोटकी ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
बाँके जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति तेज वलीले असोज १ गतेदेखि बाँकेको जमुनाहा नाकामा संक्रमित फेला परेको यो नै पहिलो घटना भएको बताए।
तीन महिनाको अन्तरालमा पहिलो पटक संक्रमित फेला परेको उनले बताए।
तीन महिनाको अन्तरालमा संक्रमित फेला परेपछि ती महिलालाई सुरक्षाकर्मीले छुट्टै राखेका थिए।
संक्रमित ती महिलालाई सम्बन्धित जिल्लाको स्थानीय पालिकासँग समन्वय गरी अलग्गै सवारी साधनमा आफ्नै घरको होम आइसोलेसनमा बस्ने गरी पठाइएको वलीले बताए।
चीन तथा भारतमा फेरि कोरोना संक्रमित फेला पर्न थालेको हुँदा तीन महिनापछि मात्रै सीमाना नाकामा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो।
‘हामीले कोभिड संक्रमणको दर रोकिएपछि सीमामा स्वास्थ्य परीक्षण पनि रोकेका थियौं,’ वलीले भने, ‘तर, पछिल्लो समय फेरि संक्रमण फैलिन लागेको सूचनाका आधारमा फेरि आजदेखि सीमाना नाकामा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न थालेका हौं।’
संक्रमित फेला परेसँगै तीन महिनापछि बाँकेमा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठक बिहीबार बसेको वलीले बताए।
बैठकमा सङ्क्रमण नियन्त्रणका लागि सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्ने निर्णय भएको छ ।
बैठकपछि पहिले जस्तै स्वास्थ्य मापदण्ड पालना गर्नका लागि आम नागरिकमा आग्रह गरिएको वलीले जानकारी दिए।
त्यस्तै, केन्द्र सरकारसँग बुष्टर डोज माग्ने, खोप लगाउने, आम नागरिकमा पहिले जस्तै मापदण्ड पालना गर्नका लागि आग्रह गर्ने तथा सचेतना अभियानका लागि अपिल गर्ने निर्णय बैठकले गरेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति वलीले सेतोपाटीलाई बताए।