व्यवस्थित र फराकिलो बन्ने भन्दै चर्चामा आएको सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य सडक स्तरोन्नतिको सुरूआतमै त्रुटी देखिएको छ।
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा पर्ने मंगलगढी चोकदेखि काठको पुलसम्मको सडक स्तरोन्नति गर्ने काम सुरू भएको छ।
एक वर्षअघि ठेक्का भएको सडक स्तरोन्नतिको काम भर्खरै सुरू भएको हो। सुरूआतमा नाला बनाउने काममा मध्य भागमा पर्ने वीरेन्द्र चोक नजिकको दक्षिण भागको नाला बंग्याइएको छ।
पूर्वी भाग गणेशचोकतर्फको काठको पुलबाट पश्चिमतर्फको मंगलगढी चोकतर्फ सडक स्तरोन्नतिको काम थालिएको छ। काठको पुलबाट सोझो बनाउँदै लगिएको नाला राष्ट्रिय वाणिज्य बैंक बसेको घरनजिक पुगेर बांगो भएको छ।
त्यहाँ सडकतर्फ भित्री भागमा परेको विद्युतको पोलबाट नालाभित्र पार्न केही मिटर अगाडिदेखि नै नाला बांगो बनाएर ल्याइएको छ। निर्माणाधीन सडकको नाला बंगिएपछि आलोचना हुन थालेको छ।
सडक व्यवस्थित बनाउने ठेक्का लगाएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले विद्युत प्राधिकरणले सही ठाउँमा पोल नसारेकाले नाला बंग्याउनुपरेको बताएको छ।
निर्देशनालयका अनुसार उक्त पोल भएको ठाउँमा २० सेन्टिमिटरभित्र नाली पारिएको छ।
‘विद्युतको पोल भित्र परेकाले २० सेन्टिमिटरभित्र नाली खुम्च्याउनु परेको हो, पोलभन्दा भित्र नाली पुर्याउन अलि परैबाट भित्र पारेर काम भएको छ,’ पूर्वाधार विकास निर्देशनालयका अधिकृत भूपेन्द्र जैसीले भने, ‘हामीले पोलमै टाँसेर बनाउन खोज्दा पनि बांगो भएको छ, पोल नसारेपछि अरू विकल्प भएन।’
उनले सडकको नाला बनाउँदा बांगिने अवस्था आएपछि वडाध्यक्षलाई पनि लिएर पोल देखाइएको बताए। तर वडाध्यक्षले पनि समाधानको उपाय दिन नसकेको अधिकृत जैसीले बताए।
‘हामीले विद्युतलाई पोल कुन ठाउँमा सार्ने भनेर चिन्ह लगाइदिएका थियौं, विद्युतले तोकेकै ठाउँमा सारेको होला भनेर हामीले काम सुरू गरिहाल्यौं,’ उनले भने, ‘काम गर्दै जाँदा त्यहाँ पोलभित्र परेको थाहा भयो, हामीले थाहा पाएपछि विद्युतलाई पनि भनेका थियौं। तर उहाँहरूले समय लाग्छ भन्नुभयो।’
विद्युत प्राधिकरणले धेरै समय लाग्ने भनेपछि ठेक्का सम्झौता भएको अवधि सकिने भएकाले त्यहाँ नाला बंग्याएर भए पनि काम अगाडि बढाइएको उनले बताए।
२०७८ माघमा खड्का निर्माण सेवासँग १३ करोडमा सडक स्तरोन्नतिको लागि सम्झौता भएको थियो।
उक्त ठेक्का सम्झौता १८ महिनाका लागि भएको हो।
ठेक्का भइसकेपछि खानेपानीको पाइप र विद्युतका पोल सार्न पूर्वाधार विकास निर्देशनालयले नगरपालिका र विद्युत प्राधिकरणलाई रकमसहित जिम्मा दिएको थियो। नगरपालिकाले खानेपानीको पाइप र विद्युतले पोल सार्ने जिम्मा पाएका हुन्।
पूर्वाधार विकास निर्देशनालयका अनुसार २०८० जेठ अन्तिमसम्म ठेक्का लिएको निर्माण कम्पनीले काम सकिसक्नुपर्छ।
‘विद्युतले पहिले नै पोल सार्न ढिलाइ गरेकाले काम सुरू गर्नै एक वर्ष ढिला भएको छ, काम सुरू गर्दादेखि नै ढिलाइ भयो भने भोलि निर्माण कम्पनीले पनि क्षतिपूर्ति दाबी गर्न सक्ने भएकाले हामीले उहाँहरूलाई पेलेर काम सुरू गर्न भनेका हौं,’ निर्देशनालयका अधिकृत जैसीले भने।
उनका अनुसार विद्युतले अहिले नाली बांगो बनाइएको ठाउँ नजिकको पोल सार्दा गल्ती गरेको छ भने वीरेन्द्रचोक नजिकको ट्रान्सफर्मर सहितको पोल सारेकै छैन। सार्न बाँकी भएको पोल सार्न निर्देशनालयले अधिकतम प्रयास गर्ने र सम्बन्धित कार्यालयले समयमै नसारे उक्त ठाउँ छोडेर अरू काम गर्ने उनले बताए।
विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले भने विद्युतका पोल सार्ने काममा कुनै गल्ती नभएको बताए।
‘हामीले उहाँहरूले चिन्ह लगाइदिएकै ठाउँहरूमा पोल सारेका हौं, हामीले पोल र तार सार्न जिम्मा दिएको टोलीसहित पूर्वाधार निर्देशनालय, नगरपालिका, वडाको टोली लिएर सँगै पोल सारेका हौं,’ उनले भने, ‘उहाँहरूले चिन्ह लगाएको ठाउँ ठिक छ कि छैन भनेर सोधेर पनि पोल सारेका हौं, त्यो त उहाँहरूले बेलैमा थाहा पाउनु पर्यो नि। हामीलाई सडकको पेटी, नाला कहाँनिर पर्छ भनेर कसरी थाहा पाउनु।’
उनले वीरेन्द्र चोक नजिकको ट्रान्सफर्मर भएको पोल नसारेको विषयमा पनि पूर्वाधार विकास निर्देशनालयकै गल्ती भएको बताए।
‘उहाँहरूले सार्नू भनेका जति पोल सारिसकेका छौं, ट्रान्सफर्मर भएको चोकनिरको पोल त उहाँहरूले त्यतिबेला सार्ने भन्नुभएकै थिएन,’ रावतले भने।
वीरेन्द्रनगर–६ का वडाध्यक्ष जनक रावलले विद्युतको पोलभित्र परेको र सडकको नाला बांगिएको विषयमा शनिबार छलफल गर्ने कुरा भएको बताए।
‘हामीले पनि यो कुरा आज बिहानमात्र थाहा पाएका हौं, हामी आउनुभन्दा अघि नै यी पोल सारिएका थिए,’ उनले भने, ‘अब यो विषयमा भोलि छलफल गर्ने कुरा छ, जहाँजहाँ पोलभित्र परेर समस्या भएको छ ती पोल सारेर हुने भए सहजीकरण गर्ने कुरा छ।’
वडाध्यक्ष रावतका अनुसार अहिले विस्तार गरिएको नालाहरूमा अरू पनि केही ठाउँमा बंग्याइएको छ।
अहिले काम भइरहेको वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक फुटपाथ छोडेर १२ मिटर चौडा बनाइँदैछ।