घारीपाटन खनेर ओइरालो, जहाज चढी आइपुगे कोइरालो!
राणा शासन अन्त्य गरेर २००८ सालमा विपी कोइराला पहिलो पटक हवाईजहाज चढेर पाखरा ओर्लिए। त्यतिबेला पृथ्वी राजमार्ग बनेको थिएन। नेपालका अन्य ठाउँमा जस्तै पोखरामा पनि मोटरभन्दा पहिला जहाज बसेको थियो। हवाईजहाजमा विपी आएको देखेर पोखरेलीले लोकगीत बनाएर उल्लेखित हरफ गाएका थिए।
हालको आन्तरिक विमानस्थल भएको चउरमा त्यतिबेला रनवे थिएन। विपी चढेको जहाज चउरमै ल्यान्ड भएको थियो। पोखरेली जहाज हेर्न चउरमा पुगेका थिए। चउरबाट पूर्वतर्फ घारीपाटन खनेर भिरालो थियो। विपीलाई स्वागत गर्न गीत बनाउँदा पोखरेलीले ओइरालो भने। कोइरालालाई कोइरालो बनाएर अनुप्रास मिलाए।
पहिलो पटक पोखरामा जहाज हेर्न जसरी पोखरेली उत्रिए। आइतरबार नयाँ विमानस्थल हेर्न पोखरेली फेरि उर्लिए। यतिबेला जहाज हेर्न होइन, ५ दशक पुरानो योजना पूरा भएको हेर्न उनीहरू जम्मा भएका थिए। अमरसिंहचोकदेखि अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङसम्म उनीहरूको लाम थियो। अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आउँदाको खुशी अनुहारमा झल्किएको थियो।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पनि पोखरेलीले सांस्कृतिक झाँकी प्रस्तुत गरे। गीत गाए। नाचे। तर २००८ सालको जस्तो मौलिकता थिएन। प्रधानमन्त्री प्रचण्ड पोखरेलीका गीतमा समेटिएनन्। जसरी विपी कोइराला समेटिए।
त्यतिबेलादेखि आन्तरिक उडानमा सीमित पोखराको हवाई अड्डा आइतबारदेखि क्षेत्रीय शहरसँग सम्पर्कमा पुग्न सक्ने भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार ६ घन्टाको हवाई दूरीमा पुग्न सकिने विभिन्न शहरमा जोडिन सक्ने भएको छ।
‘अन्तर्राष्ट्रिय उडानका प्रक्रिया अघि बढेका छन्, पूरा हुनेबित्तिकै पोखराबाट अन्तर्राष्ट्रिय उडान थालिनेछ,’ उनले भने।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भव्यतापूर्वक उद्घाटन गर्दा अधिकांशले दुई जना व्यक्तिका योगदान स्मरण गरे। प्रधानमन्त्री प्रचण्डदेखि अर्थमन्त्री विष्णु पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले सम्झिएका ती दुई व्यक्तित्व थिए, २०२९ सालमा अञ्चलाधीश भएर पोखरा आएका शंकरराज पाठक र स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारी।
तत्कालीन अञ्चलाधीश पाठकले त्यतिबेला हालको आन्तरिक विमानस्थल सानो भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गरिदिए। नयाँ विमानस्थल बनाउन उनले २०३० सालमा सर्भे गरेका थिए। पोखरा उपत्यकाको पहिलो नगर विकास योजना बनाउँदा नयाँ विमानस्थल बनाउने भनेर ३ हजार १५० रोपनी जग्गा २०३२ सालमै अधिग्रहण गरिदिए।
पोखराको कमजोर भौगोलिक संरचनामध्ये तुलनात्मक बलियो ठाउँ रोजेर उनले विमानस्थलका लागि जग्गा छुट्याएका थिए। त्यतिबेला जग्गा अधिग्रहण गर्दा चलनचल्तीको भाउमा अधिग्रहण गरेको उनले बताए।
‘जग्गा अधिग्रहण गर्दा जग्गाधनीले भनेको भाउ दिएका थियौं,’ ९० बर्षीय पाठकले सेतोपाटीलाई भने, ‘मैले ४७ वर्षअघि सुरू गरेको काम बल्ल सम्पन्न भयो।’
त्यतिबेला ठूलो मात्रामा जग्गा अधिग्रहण गरेकाले अहिले विमानस्थल बनाउन सफल भएको हो। त्यसपछि पटक-पटक गरेर करिब ९ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। हाल विमानस्थल ३ हजार ८९९ रोपनी जग्गामा फैलिएको छ।
नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालमा हाल संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये समयसीमाभित्र सकिएको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्र भएको बताए। जबकी, यसका लागि पोखरेलीले ५ दशक पर्खनुपर्यो।
तत्कालीन अञ्चलाधीश पाठकको ५ वर्षे कार्यकाल सकियो। त्यसपछि विमानस्थल निर्माण प्रक्रिया रोकियो। जग्गा अधिग्रहणमै सीमित हुन पुग्यो। २०३२ सालदेखि २०७३ सालसम्म विमानस्थलका जग्गा गौचरणमा सीमित भए। प्रकृतिका कुचीकार गिद्धको बासस्थान बन्न पुग्यो। यत्तिका समय कसैले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आवाज उठाएनन्।
२०६६ सालयता पोखराका उद्योगी, व्यवसायीदेखि सर्वसाधारणसम्मले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गर्न थाले। त्यतिबेलाका पश्चिमाञ्चल होटल संघका अध्यक्ष विश्वशंकर पालिखेले यसको नेतृत्व लिए। दिनहुँ धर्ना, जुलुस निकाल्न थाले। देशका प्रधानमन्त्रीदेखि मन्त्री र सरकारी कर्मचारीलाई समेत विमानस्थल बनाउन माग गर्दै डेलिगेसन जान थाले।
होटल संघको नेतृत्वमा भएको रिले अनसनमा २ हजार ४०२ जना सहभागी थिए। पोखरेलीले गरिरहेका आन्दोलनलाई राजनीतिक नेतृत्व दिएर नेता रवीन्द्र अधिकारीले माग सम्बोधन गर्न लगाए। त्यतिबेला प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली थिए। अधिकारीकै पहलमा २०७३ वैशाख १ गते ओलीले विमानस्थलको शिलान्यास गरे।
विमानस्थल शिलान्यासमा त्यतिबेला शीर्ष नेताहरू सुशील कोइराला, प्रचण्डलगायत पनि सहभागी थिए। कास्की-२ बाट निर्वाचित अधिकारी संयोजक रहने गरी विमानस्थल निर्माण समस्या समाधान गर्न समिति गठन भयो। प्राधिकरणका महानिर्देशक अधिकारी त्यतिबेला निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख थिए।
‘संसदको विकास समितिका सभापति र पर्यटन मन्त्रीका रूपमा रवीन्द्र अधिकारीले पुर्याउनुभएको योगदान अविस्मरणीय छ,’ उनले आइतबार उद्घाटन समारोहमा भने, ‘यस विमानस्थललाई अघि बढाउन र समयमै सक्न उहाँको योगदान बिर्सन सकिँदैन।’
अर्थमन्त्री विष्णु पौडेलले पनि स्वर्गीय अधिकारीले जहिल्यै विमानस्थल बनाउन जोड दिने गरेको सम्झिए। प्रधानमन्त्री प्रचण्डले विमानस्थल बनाउन पहिलो पटक योजना बनाएर जग्गा अधिग्रहण गरेका अञ्चलाधीश पाठक आफ्नो पनि गुरू भएको बताए। पाटनमा पढ्दा पाठकले पढाएको र उनका छोरा आफ्ना साथी भएको उनले बताए।
विमानस्थल बनेपछि पोखरा अन्तर्राष्ट्रिय शहरका रूपमा अघि बढ्न व्यवसायीले विश्वास लिएका छन्। विमानस्थल बनाउन आन्दोलन चर्काएका विश्वशंकर पालिखेले अब पोखराको ढोका खुलेको बताए।
‘क्षेत्रीय शहरसँग पोखराको सिधा सम्पर्क स्थापित हुन सके पोखराले नेपालकै अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ,’ उनले भने, ‘विमानस्थल त बन्यो, अब चलाउनतर्फ खबरदारी गर्नुपर्छ।’
विमानस्थलबाट अन्नपूर्ण श्रृङ्खलाका सम्पूर्ण हिमाल देख्न सकिन्छ। पर्यटकीय शहरका रूपमा अघि बढेको पोखरामा पर्यटक सिधै आउन सक्ने पूर्वाधार तयार भएको छ। यसको पूर्ण सदुपयोग गरी विमानस्थललाई असफल हुनबाट जोगाउन अझै खबरदारी आवश्यक रहेको पालिखेले बताए।
विमानस्थलको रनवे २ हजार ५०० मिटर लामो छ। ४५ मिटर चौडाइ भएको रनवेमा बोइङ ७३७ र एयरबस ३२० जहाजले उडान तथा अवरण गर्न सक्छन्। यस प्रकारका जहाजमा करिब २०० यात्रु अटाउँछन्। यसभन्दा ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्न नसक्ने विमानस्थल प्रमुख विनेश मुनकर्मीले बताए।
अन्तर्राष्ट्रिय उड्ययन प्राधिकरण आइकाओको फोरडी मोडलमा बनेको यस विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुका लागि एयरब्रिज राखिएको छ। जुन नेपालका विमानस्थलमा पहिलो प्रयोग भएको मुनकर्मीले बताए।
चिनियाँ सरकारी स्वामित्वका कम्पनी सिएएमसी इञ्जिनियरिङलाई सन् २०१७ जुलाई ११ मा कार्यादेश दिएको र २०१७ नोभेम्बर १ देखि विधिवत रूपमा विमानस्थल निर्माण थालिएको थियो। २०२१ जुलाइमा सक्ने लक्ष्य लिए पनि कोभिड-१९ महामारीले १ वर्ष समय थपिएको मनुकर्मीले बताए।
विमानस्थल बनाउन चीनको एक्जिम बैंकले २१५ मिलियन अमेरिकी डलर लगानी गरेको छ। जुन रकममा २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशत ऋण हो। नेपालले लिएको वैदेशिक ऋणमा सबैभन्दा धेरै ब्याजदरमा लिएको ऋण यही रहेको अनुसन्धाता विजयकान्त कर्णले बताए।
नेपाल सकारले लिएको उक्त ऋणको २ प्रतिशत ब्याज तिर्नुपर्ने सम्झौतामा उल्लेख छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आन्दोलनको नेतृत्व गरेका पालिखेले अझै संघर्ष नसकिएको बताए। अब अन्तर्राष्ट्रिय उडानका लागि भारतसँग एयर रूट माग्न नेतृत्वलाई दबाब दिने र अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुने अवस्था ल्याउनु पर्ने उनले बताए।
‘हामीकहाँ जहिले पनि राजधानीवाद हाबी छ, यसले अनेक बखेडा झिकेर पोखरा विमानस्थललाई चल्न नसक्ने अवस्थामा पुर्याउन सक्छन्,’ उनले भने, ‘अझै हामी सजग हुन जरूरी छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन भारतले गोरखपुरबाट भैरहवा छिर्ने रूट दिनुपर्ने पालिखेले बताए। एयर रूट र विमानस्थल सञ्चालनको व्यावसायिक योजनाबारे प्रधानमन्त्री प्रचण्डदेखि अर्थमन्त्री पौडेल र प्राधिकरणका महाप्रबन्धक अधिकारीले आजको उद्घाटन कार्यक्रममा भने चर्चासमेत गरेनन्। गत चैतमा विमानस्थल हस्तान्तरणका बेला तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले एयर रूटका विषयमा भारतीय समकक्षीसँग वार्ता गरेको र रूट दिन भारत सकारात्मक भएको बताएका थिए।
विमानस्थल उद्घाटन गरेर सञ्चालनमा ल्याउँदा प्रधानमन्त्री र अर्थमन्त्रीले प्रसंग नै ननिकाले भन्दै पालिखेले असन्तुष्टि जनाए।
‘भारतले नेपाल छिर्न दिएको सिमराबाट पोखरा आउँदा उडान अवधि लामो हुन्छ, जसले महँगो पर्न जान्छ,’ उनले भने, ‘अब सरकारले भारतसँग एयर रूटबारे वार्ता गरोस्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्वाध सञ्चालन हुने वातावरण तयार गरोस्।’
तस्बिरहरू:
यो पनि:
भारतले एयर रूट नदिए महँगो पर्नेछ पोखराको अन्तर्राष्ट्रिय उडान