सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यतिबेला ‘जस्टिस फर लालबहादुर बिक’ अभियान चलेको छ।
सुनसरी इटहरी-१९ का लालबहादुरको तस्बिरको स्केच अंकित एउटा पोस्टरमा ‘जस्टिस फर लालबहादुर बिक’ लेखिएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका नयाँ/पुराना सबैजसो पोस्टको कमेन्ट बक्समा यही अभियानको पोस्टर झुण्डिएको छ।
मुलुकका अन्य धेरै राजनीतिज्ञलाई ‘मेन्सन’ गरेर पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको ध्यानाकर्षण गरिरहेका छन्।
सामाजिक सञ्जालमा ‘न्याय माग्ने’ अभियान नै चलेका लालबहादुर बिक को हुन्? उनी अन्यायमा परे भनिएको विषय के हो?
इटहरी- १९ स्थित बरमपुर फूलबारी टोलका बासिन्दा हुन् लालबहादुर। ३३ वर्षका उनी जस्ताको छानो भएको सानो घरमा पत्नी दिलकुमारीसँग बस्दै आएका छन्। उनको घर नजिकै उनका बुवाआमा र दाजुको घर छ। दिलकुमारीसँग १० वर्षअघि विवाह बन्धनमा बाँधिएका उनी इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा कालिगढका रूपमा कार्यरत थिए।
१० धुर जमिन भएको उनको घर भएको ठाउँको जग्गा उनलाई बाबुले अंशमा दिएका हुन्। जसमध्ये ५ धुर जमिनमा उनको र बाँकी ५ धुरमा दाजुको स्वामित्व छ। ज्वेलर्समा काम गरेबापत् आम्दानी हुने मासिक २० हजार रुपैयाँ र ५ धुर जमिन नै लालबहादुरको सम्पत्ति हो।
५ धुर जमिनका मालिक लालबहादुर यतिबेला भने १८ करोडभन्दा बढी रुपैयाँ ठगी भएको एउटा घटनामा मुछिएर सुनसरीको झुम्का कारागारमा कैद सजाय भोगिरहेका छन्।
उनी जुन ज्वेलर्समा काम गर्थे, त्यही ज्वेलर्सका सञ्चालकको बदमासीमा उनी पनि संलग्न रहेको भन्दै जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको छ।
उनले काम गर्ने इटहरी तरहराको सिंहदेवी ज्वेलर्स दीपक बिक गजमेरले चलाएको सुनचाँदी पसल हो, जसले अवैध रूपमा बैंकिङ कारोबार चलाइरहेको थियो। सर्वसाधारणलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै बकाइदा पासबुकसमेत छापेर बैंकिङ कारोबार चलाइरहेको ज्वेलर्सका मजदुर उनी केही पासबुकमा हस्ताक्षर गरेको भरमा फसेको भन्दै उनी अन्यायमा परेको आवाज अहिले सामाजिक सञ्जालमा उठिरहेको छ।
उनका छिमेकीहरू, स्थानीय जनप्रतिनिधिहरू, सामाजिक सन्जाल प्रयोगकर्ताहरू मात्रै होइन, ठगीमा परेर जाहेरी दिनेहरू समेतले उनी निर्दोष रहेको बताइरहेका छन्। तर, कानुनी रूपमा भने उनी दोषी ठहर मात्रै भएका छैनन्, उनको भएभरको सबै सम्पत्ति बेच्दा पनि असुलै हुन नसक्ने आकारको बिगो रकमको बोझले पनि थिचिएका छन्।
सिंहदेवी ज्वेलर्सबाट आफूहरू ठगिएको भन्दै इटहरीकै सुकमित गुरूङ सहितका पीडितहरूले दिएको जाहेरी अनुसार परेको मुद्दामा २०७८ पुस १ गते सुनसरी जिल्ला अदालतले फैसला सुनाउँदै लालबहादुरलाई पनि दोषी ठहर गरेको थियो।
अदालतले उनीसहितका ४ जनालाई दोषी ठहर गर्दै कैद सजाय, जरिवाना तथा बिगो रकम तिराउन आदेश दिएको थियो।
न्यायाधीश निर्मला योङ्याको इजलासबाट भएको फैसलामा ‘इटहरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपक विक गजमेर, उनकै परिवारका सदस्यद्वय सीता विक र कृष्णबहादुर विक तथा ज्वेलर्सका मजदुर गोपाल भनिने लालबहादुरले २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ लिई बेइमानीको नियतले रकम लिएको’ ठहर गरिएको छ।
कृष्णबहादुर दीपकका बुवा हुन्।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०४ को १ ‘क’ अनुसार ज्वेलर्स सञ्चालक दीपकलाई ७० हजार जरिवाना, तीन वर्ष कैद र बिगोबापत् १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ तिराउन आदेश गरेको अदालतले लालबहादुरसहित अन्य तीन जनालाई सोही ऐनको १ ‘घ’ बमोजिम ७० हजार जरिवाना र डेढ-डेढ वर्ष कैद गर्न तथा ९ करोड ४२ लाख ९९ हजार बिगो असुल्न भनेको छ।
अदालतले उनीहरू तीन जनाबाट उक्त रकम दामासाहीले भराउन भनेपछि लालबहादुरको भागमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ पर्न आएको छ।
त्यही रकम तिर्न नसकेपछि लालबहादुर यतिबेला कारागारमा छन्। लामो समय अदालतमा उपस्थित नभएका उनले पैसा तिर्न नसक्ने अवस्था भएपछि गएको मंसिर २१ मा आत्मसर्मण गरेका थिए।
ज्यालादारीबापत् मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने सुन पसलका मजदुरले गर्दै नगरेको अपराधमा यति धेरै सजाय भोग्नु परेको भन्दै यतिबेला सामाजिक सन्जालमा उनलाई न्याय माग्ने अभियान चलेको हो।
यो भर्खरैको घटना भने होइन। पाँच वर्षअघि नै पनि उनी प्रहरीले समातेर थुनेका व्यक्ति हुन्, त्यतिबेला उनी धरौटीमा छुटेका थिए।
घटना अनुसार २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहितका नौ जनाले सिंहदेवी ज्वेलर्सविरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो। अनुसन्धानबाट अपराध पुष्टि भएपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो। ज्वेलर्स सञ्चालक दीपकले इटहरी क्षेत्रका २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा परेपछि लालबहादुर पनि यही घटनामा मुछिए।
त्यसपछि अदालतमा बहस सुरू भयो। त्यसक्रममा धेरैजसो जाहेरवालाले घटनामा दोषी ज्वेलर्स सञ्चालक भएको बताए। पसलका मजदुर लालबहादुरलाई मालिकले पासबुकमा हस्ताक्षर गर्नु भनेपछि गरेको भन्दै उनलाई पीडितहरूले नै पनि निर्दोष रहेको बताए। तर, अदालतको फैसला आउँदा लालबहादुरविरूद्ध पनि आयो।
‘कानुनअनुसार ठगीकर्ताको मतियार बनेका कारण मुख्य दोषीलाई भन्दा आधा कम बिगो तोकिएर आयो’, पीडितहरूका तर्फबाट बहस गरेका अधिवक्ता रमेश पोखरेलले भने, ‘फैसलाको आशय यही हो।’
उनका अनुसार कानुनअनुसार लालबहादुरको पनि घटनामा ‘मतियारी’ देखिन्छ। अदालतले कानुन अनुसार गरेको फैसला स्वाभाविक भएको उनी बताउँछन्।
‘आफ्नो साहुले गलत काम गरिरहेकोबारे लालबहादुर जानकार देखिन्छन्’, उनले भने, ‘२०७२ सालदेखि उनले ज्वेलर्समा काम गरेको देखिन्छ।’
त्यहीबेला दीपक पसलमा नभएका बेला उनका बुबा कृष्णबहादुरले आफूलाई हस्ताक्षर गर्न नआउने भन्दै केही पासबुकमा लालबहादुरलाई हस्ताक्षर गर्न अह्राएको आफूहरुले देखेको भन्दै पीडितहरुले अदालतमा बयान दिएका थिए।
लालबहादुरको पक्षबाट कानुनी लडाइँ गरिरहेका अधिवक्ता निराजन ओझाले भने फैसला गर्ने न्यायाधीशको कार्य क्षमतामै प्रश्न उठेको भन्दै उच्च अदालतमा पुनरावेदन गरिएको बताएका छन्। मंसिर २० गते उच्च अदालत विराटनगरमा पुनरावेदनका लागि निवेदन दिएका उनको पेशी पुस २६ लाई तय भएको छ।
लालबहादुरकी पत्नी दिलकुमारी यतिबेला सासु-ससुरा सम्झाउँदै न्यायका लागि भौंतारिएको अवस्थामा छिन्।
‘पसलमा काम गर्ने क्रममा मालिकले लगाएको काम गर्दा गरिब मान्छेलाई फसाइएको छ’, उनले भनिन् ‘हामीलाई सबै मिलेर न्याय दिनुहुन्छ भन्ने आशा छ।’
सिंहदेवी ज्वेलर्सबाट ठगीमा परेकाहरुसमेत लालबहादुर निर्दोष रहेको बताइरहेका छन्। इटहरी उपमहानगरपालिका २० की कञ्चन चौधरीले पैसाको कारोबार सुन पसलका सञ्चालक दिपक गजमेरसंग गरेको र लालबहादुर पसलका सामान्य कामदार मात्रै रहेकोले घटनासँग कुनै लेनदेन नरहेको उनले अदालतमा बयान दिएको बताउँछिन्।
चौधरीले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएपछि रू ५ लाख सिंहदेवी ज्वेलर्समा बुझाएको बकपत्रमा उल्लेख गरेकी छन्।