आफूसँग भएको थोरै-थोरै पैसा बचत गर्न कहाँ जाने? यसको स्वाभाविक उत्तर हुन्छ, बैंक तथा वित्तीय संस्थामा।
आफूले जम्मा गरेको पैसा नडुब्ने, पारदर्शी कारोबार हुने संस्थाहरू मात्रै बचत तथा ऋण कारोबारका योग्य मानिन्छन्।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर बैंकिङ कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै कानुनले पनि यस्तो कारोबार गर्ने अनुमति दिएको हुन्छ।
वित्तीय कारोबारको यही सामान्य र आधारभूत मान्यताबारे बेखबर रहेका अथवा थाहा पाएर पनि धेरै ब्याजको लोभमा व्यक्तिसँगै पनि ठूलो आर्थिक कारोबार गर्नेहरू निरन्तर ठगीमा पर्दै आएका छन्।
खासगरी साना–साना बजारमा लामो समयदेखि सुनचाँदी पसल चलाउनेहरूले आफूखुसी बैंकिङ कारोबार गरेर सर्वसाधारणको पैसामा लुट मच्चाइरहेका छन्।
अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा व्यक्तिसँग बैंकिङ कारोबार गर्ने सयौं सर्वसाधारण जब आफू ठगीमा परेको थाहा पाउने बेलामा पुग्छन्, त्यसबेलासम्म उनीहरूको पैसा फसिसकेको हुन्छ।
यस्तै एक जना पात्र हुन्, इटहरी–१९ की कमला पौडेल।
आफूसँग अलिकति पैसा हुने बित्तिकै पौडेल तहरहरामा रहेको सिंहदेवी ज्वेलर्स पुगिहाल्थिन्। ज्वेलर्सले हातमा थमाएको पासबुक र पैसा लिएर उनी त्यहाँ बचत गर्न जान्थिन्। पैसा बुझाएपछि ज्वेलर्स सन्चालक रकम बुझिलिएको ठाउँमा हस्ताक्षर गर्थे। उनी ढुक्क भएर घर फर्किन्थिन्। उनका अनुसार बचत गरेपछिको आनन्द अलग्गै हुन्थ्यो।
यसरी निरन्तर बचत गर्दै जाँदा उनको खातामा अढाई लाख रुपैयाँ भइसकेको थियो। आफ्नै ठाउँको त्यो ज्वेलर्समा पैसा राखे अन्यत्रभन्दा धेरै ब्याज पाइन्छ भन्ने उनले छिमेकीहरूबाट सुन्दै आएकी थिइन्। त्यही आधारमा उनले कारोबार सुरू गरेकी थिइन्।
उनी जस्तै पैसा लिएर पुग्ने सर्वसाधारणलाई ज्वेलर्स सञ्चालक दीपक गजमेरले हातमा पासबुक थमाइदिन्थे। १८ प्रतिशत ब्याज दिने बताउँथे। पासबुकमा पसलको छाप र आफ्नो हस्ताक्षर पनि गरिदिन्थे।
पाँच वर्षअघिको एक दिन कमला जसरी नै त्यही ज्वेलर्समा रकम जम्मा गर्दै ९ लाख पुर्याइसकेकी सुकमित गुरूङले पैसा निकाल्न खोजिन्। ज्वेलर्स सञ्चालकले पैसा दिन आनाकानी गरे। आजभोलि भन्दै जब उनले महिनौ झुलाउन थाले, सुकमित आत्तिइन्।
१८ प्रतिशतसम्म ब्याज दिने भन्दै पैसा जम्मा गरेकी उनी आफ्नै रकम झिक्न खोज्दा पनि नपाउने अवस्था भएपछि उनले प्रहरीमा उजुरी दिइन्।
सुकमितले उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थाल्यो। त्यसबेला मात्रै कमला र उनीजस्तै २७५ जना बचतकर्ताले आफू ठगीमा परेको थाहा पाए।
उनीहरूमध्ये धेरैले जम्मा गरेको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ ज्वेलर्सले सर्वसाधारणलाई फर्काउनु पर्ने देखिएको सुनसरी जिल्ला अदालतको एक वर्ष अघिको फैसलामा उल्लेख छ।
इटहरीकै अम्बिका अन्जना राईले सिंहदेवी ज्वेलर्समा १० लाख ७२ हजार रुपैयाँ जम्मा गरेकी थिइन्। चन्द्रकला श्रेष्ठले १८ लाख रुपैयाँ जम्मा गरेकी थिइन्। सुनसरी जिल्ला अदालतमा पीडितहरूले दिएको बकपत्र अनुसार यसरी रकम जम्मा गर्नेहरूको संख्या २७५ छ।
‘सबैले जम्मा गरेका कारण हामीले पनि जम्मा गरेका थियौं’, ज्वेलर्समा पैसा राख्नेहरूले अदालतमा दिएको बयानमा अधिकांशले भनेका छन्, ‘लामो समयदेखि विश्वासिलो कारोबार गर्ने भएकै कारण पैसा राख्न दिएका हौं। तर, उनको नियत ठीक रहेनछ। यतिधेरैको यति ठूलो पैसा राखेर जोखिममा पारे होलान् भन्ने थाहै भएन।’
बयानका क्रममा उनीहरूले त्यहाँ पैसा जम्मा गर्नुको उद्देश्य ब्याजको लोभ नै भनेका छन्।
‘बैंक र सहकारीमा जम्मा गर्दा ७–८ प्रतिशत मात्रै दिन्थे, १८ प्रतिशत भनेपछि लोभियौं’, सबैजसोको एकै भनाइ छ ‘ब्याजको लोभ गर्दा दुःख गरेर जोडेको साँवा पनि डुब्यो।’
व्यक्तिलाई अन्धाधुन्ध विश्वास गरेर पैसा राख्दा २७५ जना बचतकर्ता त डुबे नै, त्यही ज्वेलर्समा ज्यालादारी काम गर्ने गोपाल भनिने लालबहादुर विक पनि परिबन्दले फसेका छन्।
ज्वेलर्स सञ्चालकले पासबुकमा हस्ताक्षर गर्न लगाएकै भरमा उनलाई कानुनले दोषी ठहर गरेपछि अहिले उनी ज्वेलर्स सञ्चालक परिवारसँगै थुनामा छन्।
लालबहादुरको भागमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगोवापत तिर्नुपर्ने रकमको सजाय पनि छ।
सम्पत्तिका नाममा ५ धुर जमिनमात्रै भएका लालबहादुरलाई न्याय माग्दै सामाजिक सञ्जालमा केही दिनयता अभियान नै चलेको छ।
सुनचाँदीको कारोबार गर्ने अनुमति लिएका ज्वेलर्स सञ्चालकहरूले गैरकानुनी रूपमा बैंकिङ कारोबार चलाउने र चर्को ब्याज लिएर सर्वसाधारण ठग्ने गर्दै आइरहेको यो पहिलो घटना होइन।
सुनसरीको यो घटना पाँच वर्ष पुरानो हो तर मोरङमा केही महिनायता धेरै जना यसरी ठगिएको पाइएको छ।
सुन्दरहरैचा नगरपालिका १० खोर्सानेमा रहेको ‘कमला ज्वेलर्स’ का सञ्चालक ४५ वर्षीय राजु विश्वकर्माले ५५ जना सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारी ठगी गरेको पुष्टि भएपछि उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।
जिल्ला प्रहरी मोरङका अनुसार उनले ठगी गरेको पुष्टि भएपछि मोरङ जिल्ला अदालतले उनलाई थुनामा पठाएको हो। मुद्दाको अन्तिम फैसला भने आउन बाँकी छ।
सुन्दर हरैंचाभन्दा अघि मोरङकै उर्लाबारी नगरपालिका–६ डिबी मार्गमा रहेको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतमले पनि तीन सयजना भन्दा बढी सर्वसाधारणले ब्याजमा लगाएको १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका थिए।
यस्तै, मोरङको बुढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करोडौं रुपैयाँ लिएर भागिरहेका छन्।
नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।
ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिए बमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ। तर, ऐन कार्यान्वयनमा राष्ट्र बैंक र प्रहरी प्रशासनले सक्रियता नदेखाउँदा सुनचाँदी व्यवसायीले गैरकानुनी रूपमा निक्षेप संकलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्वाध रूपमा गर्दै आएका छन्। मुख्य रूपमा ग्रामीण क्षेत्रमा यस्तो समस्या बढी देखिएको प्रहरीको भनाइ छ।
राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती नियामक निकायको कमजोरीले यस्तो ठगीधन्दा मौलाएको बताउँछन्।
‘सुनचाँदी कारोबार गर्नेहरूले ऋण लगानी गरिरहेको थाहा नपाउने नियामक निकायको कमजोरी तथा सर्वसाधारणमा नपुगेको वित्तीय शिक्षा लगायतको समस्याले यस्तो अवस्था आएको हो। यसले नियामक निकायहरूको हरदमको सक्रियता आवश्यक रहेको देखाउँछ।’
सहकारी तथा बैंकहरूको झन्झटिलो प्रक्रिया तथा थोरै ब्याजदरले सर्वसाधारण यस्ता अवैध कारोबारीतिर लोभिएका हुन्? यसको उत्तरमा उप्रेतीले भने ‘झट्ट हेर्दा त्यसो देखिएला। तर, सहकारीहरूले सदस्यमा मात्रै कारोबार गर्ने हुन्। बैंकहरूको आफ्नै विधि छ। बैंक तथा वित्तीय संस्थाहरूको प्रक्रिया प्रचार गरिएजस्तो झन्झटलाग्दो छैन। सुरक्षित र भरपर्दो त्यही हुन्छ। सबैले यसमा ख्याल गर्नुपर्छ।’
यो पनि:
के हो सामाजिक सञ्जालमा न्यायको माग भइरहेका लालबहादुर बिकको मुद्दा?