पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले बताए।
बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ। 'दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरू सबै खुर्सानेकै हुन्। घाइतेहरूलाई भने उपचारका लागि बुटवल पठाइएको छ,' उनले भने।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा परि १५ जना घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
खुर्सानेका ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया वीमा पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
घाइते भेटिएका १५ जना मध्ये १३ जना महिला र दुईजना पुरुष रहेका छन्। घाइतेहरू सबै खुर्सानेका हुन्।
२२ वर्षीया श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षका चेतबहादुर दर्जी, ७२ वर्षीय पूर्णकला दर्जी, ६० वर्षकी यमकला रास्कोटी, ३९ वर्षकी यमकला पाण्डे, २३ वर्षकी लालकुमारी पाण्डे, ७ वर्षका सुरज घिमिरे, ३५ वर्षकी तुलसा पाण्डे, २६ वर्षकी लिला गाँहा, ९ वर्षकी अप्सना रास्कोटी, ३५ वर्षकी पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षकी बर्षा भन्ने लिमकली पाण्डे, निजको छोरी ३ महिनाको आर्या पाण्डे, ७३ वर्षीया श्यानिकला पाण्डे घाइते छन्।