एक महिनासम्म चल्ने भक्तपुरको प्रशिद्ध माधवनारायणको व्रत एवम् मेला सुरू भएको छ।
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवतको आठौँ शताब्दीदेखि सुरू भएको माधवनारायण व्रत एवं मेला शुक्रबारदेखि सुरू भएको हो।
हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला शुक्रबार बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरू भएको हो।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरू हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
नेसं ७२२ मा रणजीत मल्ल आफैंले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेको छ।
बर्तालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महीने व्रत समापन गर्ने परम्परा रहेको छ ।
बर्तालुहरू त्रिवेणीघाटमा महीना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको छ।
हेर्नुहोस् तस्बिरमा