स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्ति बाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन्।
आज यहाँ आयोजित कान्ति बाल अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा गुरूयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतिका लागि मन्त्रालयले काम गरिरहेको बताए। यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको उनको भनाइ छ।
'अस्पतालमा नर्सिङ जनशक्तिको अभाव कायमै छ, आवश्यक कर्मचारी दरबन्दीका लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेका छौं', उनले भने।
सेवाग्राहीको बढ्दो चापअनुसार सेवा उपलब्ध गराउन आवश्यक कर्मचारी दरबन्दी थप गर्न अर्थ मन्त्रालयबाट सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयकै सचिव देवकुमारी गुरागाईंले बताइन्।
उनले भनिन्, 'अर्थ र सामान्य प्रशासन मन्त्रालयबाट सहमति ल्याउनका लागि तपाईंहरूको साथ चाहिएको छ।'
अस्पतालका निर्देशक डा युवानिधि बसौलाले राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न र एक हजार शय्याको अस्पताल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको जानकारी दिए।
वार्षिकोत्सवका अवसरमा अस्पताल परिसरमा ‘वाटर भेन्डिङ मेसिन’ (वाटर एटिएम) सुरूआत गरेको छ। वाटर एटिएमबाट रू एकमा चिसो र तातो पिउने पानी उपलब्ध हुन्छ।
कूल ५२ शय्याको आकस्मिक कक्ष सुरू गर्न १५ जना स्टाफ नर्स र १० जना सिनियर मेडिकल अफिसर (एमओ) गरी दरबन्दी ८३ पुर्याउन अस्पतालले मन्त्रालयलाई आग्रह गर्दै आएको छ।
कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा डा डिएन शाहले हरेक प्रदेशमा एउटा बाल अस्पताल निर्माण गर्नुपर्ने बताए।
सन् १९६३ मा ५० शय्याबाट सुरू भएको कान्तिबाल अस्पतालमा अहिले तीन सय ३० शय्याबाट सेवा प्रवाह भइरहेको छ।
अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा एक लाख १६ हजार चार सय ५३ जनालाई बहिरङ्ग सेवा उपलब्ध गराएको थियो। साथै उक्त अवधिमा अस्पतालबाट ४४ हजार आठ सय ९२ जनाले आकस्मिक सेवा र दुई हजार पाँच सय २६ जनाले सर्जरी सेवा लिएका थिए।