निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माईतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ।
आन्दोलन अन्तर्गत आइतबार माइतीघरमा अभियन्ताहरूले लालटिन बालेर सरकार खोजेका छन्। कार्यक्रममा डा. गोविन्द केसीसहित अभियन्ताहरू उपस्थित थिए।
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
धर्नाकी मुख्य अभियन्ता रूबी खानले भने पीडकले सजाय नपाएसम्म आफूहरू विश्वस्त हुन नसक्ने बताउँदै आन्दोलनलाई निरन्तरता दिने बताइन्।
‘अहिलेसम्ममा तीन पटक सरकार फेरियो, तर सबैको पारा उस्तै हो। सबैले गर्छु भने तर अहिलेसम्म कसैले काम गरेनन्,’ गृहमन्त्री लामिछानेले आफूलाई टेलिफोनमार्फत दुई पटक आश्वासन दिएको बताउँदै उनले भनिन्।
यसअघि यो मुद्दाको छानबिन हुने भएपछि रूबीको टोलीले काठमाडौंमा पछिल्लो पटक आन्दोलन स्थगित गरेको थियो। छानबिन समितिले गरेको छानबिनमा बादशाह कुर्मी नै मुख्य दोषी भएको र उनले नै निर्मला कुर्मीको सम्पत्ति हिनामिना गरेको भन्ने निष्कर्ष आएको थियो।
त्यति हुँदाहुँदै पनि सरकारले उक्त मुद्दा अदालतसम्म नपुर्याएको र पर्याप्त प्रमाण नपुगेको भनिरहेको उनले बताइन्। त्यसैले केहीदिनयता उनीहरू माइतीघरमा पुनः आन्दोलन गरिरहेका छन्।
'यो निर्मला कुर्मीको मात्र सवाल होइन, उनीजस्ता लाखौंको सवाल हो। तर सरकारले महिला तथा मानव अधिकारको विषयमा न्याय देलाजस्तो मेसो नै गरेको छैन,' रूबीले भनिन्।
हेर्नुहोस् तस्बिहरू