कात्तिक २२ गते हेटौंडा उप–महानगरपालिकाको बुद्धचोकदेखि मकवानपुरगढी गाउँपालिकाका विभिन्न गाउँसम्म पुगेर स्थानीयसँग हामीले चुनाव र राजनीतिका कुरा गरेका थियौं।
चुनावभन्दा १२ दिन अघि पुगेका हामीलाई यस क्षेत्रका मतदाताको झुकाव कुन उम्मेदवारतिर बढी रहेछ भन्ने कुरा जान्नु थियो। उम्मेदवारहरु भोट माग्नमा व्यस्त थिए। चोक, चौतारो, चिया पसल सबैतिर राजनीतिक गफ चलेका थिए।
चुनावी रस्साकस्सी सबैभन्दा बढी चियापसलमा देखिन्थ्यो।
वडा नम्बर–६ स्थित चुच्चेखोलाका चिया पसलहरुमा पनि चुनावी रंग कम्ता थिएन। कृष्ण कन्हैया खुवा सेन्टरमा भेला भएका चिया र खुवाका पारखीहरु पिउन, खानमा भन्दा उम्मेदवारको विषयमा आफ्नो तर्क प्रस्तुत गर्नमा जोड दिइरहेका थिए।
उनीहरु आफ्ना उम्मेदवारलाई राम्रो देखाउन एकअर्कामा कटाक्ष गर्न पनि पछि परेका थिएनन्।
दुई महिनापछि पुग्दा पनि यहाँ चहलपहल उस्तै देखियो। तर पसलको वातावरण र गफ भने पहिलेभन्दा फरक!
‘चिया पिउन बस्यो कुरा राजनीतिकै निस्किहाल्ने। चुनावको बेलामा त ठिकै हो, अरुबेलामा पनि तेरो पार्टी र मेरो पार्टी भन्नेमात्र कुरा चल्थ्यो अचेल त्यस्तो अल्ली कम छ,’ नजिकै घर भएका यतिन्द्र पुडासैनीले भने, ‘नानीदेखि लागेको बानी च्याट्टै त कहाँ छुट्थ्यो र, पहिले भन्दा बिसेक चाहि भएको छ।’
यसको कारण थियो पसलको भित्तामा टाँसिएको एउटा सूचना!
सडकबाट पसलमा प्रवेश गर्दा सिधै आँखा पर्नेगरी भित्तामा टाँसिएको ‘छलफलको विषय’ शीर्षकको सूचनाले यहाँ हुने गफमा केही परिवर्तन ल्याएको रहेछ।
सूचनाले यहाँ बसेर गफ गर्न सातवटा बारका लागि छुट्टाछुट्टै विषय तय गरेको छ।
आइतबार कृषि सम्बन्धी, सोमबार व्यापार र उद्योग सम्बन्धी, मंगलबार रोजगारी र गरिबी निवारण, बुधबार संस्कृति र पर्यटन, विहीबार स्वास्थ्य र सरसफाई, शुक्रबार मनोरञ्जन र टेन्सनमुक्त हुने सम्बन्धी गफ गर्न आग्रह गरिएको छ। शनिवारीय गफको विषय राजनैतिक र कुटनीति तय गरिएको छ। र अन्तिममा लेखिएको छ, ‘विषयबस्तुमा केन्द्रित हुनुभएकोमा सबैलाई धन्यवाद’।
सोही वडामा घर भएका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालले राजनीतिक गफ बढी भएपछि स्थानीय युवाहरुले सल्लाह गरेर विषय तय गरेको बताए।
‘चुनावभरी यहाँ राजनीतिक गफमात्रै भयो। चुनावबाट विजय हुने भइसके, जाने गइसके, सधैं राजनीतिक गफमात्रै गरेर लफडाबाजी नगरौं, केही नयाँ कुरो गरौं भनेर छलफल भयो,’ पसलमा भेटिएका पत्रकार दुलालले भने, ‘विषय तोक्ने, हरेक दिन फरक विषयमा गफ गर्ने भएपछि सम्बन्धित विषयका विज्ञ नै पनि आएर त्यससम्बन्धी कुरा राख्न सक्ने भए भन्ने सल्लाह भयो। एक जना छिमेकीले लेखेर टाँसिदिनुभएछ।’
उनले आफ्नो घर अल्ली परको चोकमा भएपनि त्यहाँका पसलमा राजनीतिक गफमात्रै हुने भएकाले चिया, खाजाका लागि यहाँ आउने गरेको सुनाए।
‘कोहीले राजनीतिक गफ गर्न थाले भने त्यहाँ हेर्नुस् त आजको विषय के हो भनेर देखाइदिएपछि लाइनमा आइहाल्छन्,’ उनले सुनाए।
स्थानीय श्यामकुमार मानान्धरले २३ वर्षअघि खोलेको पसल हो यो। त्यतिखेर उनले मासिक ५ सय रुपैयाँ भाडा बुझाउनेगरी यहाँ चिया र खुवा पसल सुरु गरेका थिए।
हेटौंडा बजारको बुद्ध चोकबाट ६ किलोमिटर पर कान्ती राजमार्गमा पर्ने चुच्चेखोलामा आधा दर्जन बढी खुवा पसलहरु छन्। ती मध्ये धेरै बिक्री हुने पसल हो कृष्ण कन्हैया खुवा पसल।
मानान्धरले खुवामात्रै नभएर चिया, मिठाई, केराको मःम, केराको छोइला जस्ता साकाहारी परिकारहरु पनि बनाएर बिक्री गर्ने गरेका छन्।
कान्ती राजपथ हुँदै काठमाडौं–हेटौंडा आवातजावत गर्नेहरु धेरैलाई यहाँको खुवा र खाजाको विषयमा थाहा छ। धेरै मन्त्री, मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, सेलिब्रेटीहरुले पनि यहाँ आएर खुवा किन्ने, चिया, खाजा खाने गरेको मानान्धरले बताए।
उनले दैनिक २० हजार रुपैयाँजतिको व्यापार हुने गरेको सुनाए।
‘दैनिक २ सय कप चिया बिक्री हुन्छ। ५० किलोसम्म खुवा घोटिन्छ, कहिले पुरै बिक्री हुन्छ, कहिलेकाहीँ बाँकी पनि रहन्छ,’ उनले भने, ‘मासिक १ लाख रुपैयाँ भन्दा बढी जोगाउन सकेको छु।’
मानान्धरले यही पसलबाट भएको आम्दानीले दुई तल्लाको घर बनाएका छन्।
‘५ वटी वहिनी, भतिजाहरुको विवाह गर्ने, छोरा, छोरी पढाउने, घर खर्च धान्ने सबै यही पसलबाट सम्भव भयो,’ उनले भने, ‘अब त छोरो पनि ठूलो भइसक्यो। उसले पनि सहयोग गर्न थालेको छ।’
मानान्धरले आफ्नै देशमा बसेर पनि विदेशमा भन्दा राम्रो कमाउन सकिन्छ भनेर युवाहरुलाई प्रेरणा दिन सकेकोमा खुसी लागेको बताए।
‘म विदेश गएको भएपनि यति कमाउन सक्थें कि सक्थिनँ थाहा छैन, परिवारसँगै बसेर महिनाको एक लाख कमाएको छु,’ उनले भने, ‘विदेश जाने गफ गर्ने युवाहरुलाई यहीँ केही गर भनेर सल्लाह दिन्छु। छोरोले पनि अब यही पेशालाई अघि बढाउला भन्ने आशा छ।’
उनले सधैं राजनीतिक गफमात्रै हुने पसलमा नयाँ छलफलका विषयहरु लेखेर टाँसेपछि गफका विषयहरु परिवर्तन हुन थालेको बताए।
‘राजनीतिक गफ गर्न ठ्याक्कै बन्द त किन हुन्थ्यो र, यो टाँसेपछि पहिलेजस्तो त्यहीमात्रै कुरा हुन भने कम भएको छ,’ मानान्धरले भने, ‘अस्तिताका सरहरु आएर सबै विषय पर्यो, शिक्षाको विषय परेनछ भन्नुभएको छ। राजनीतिमात्रै गफ गर्ने विषय होइन भन्ने त मान्छेलाई परेको छ नि।’