अर्घाखाँचीकी ६० वर्षीया राधा थापा सधैंजसो बिहानपख दूध लिन जान्थिन्।
शितगंगा नगरपालिका-१० बहखोरकी उनी दूध लिन करिब २० मिनेट पैदल हिँडेर जानुपर्थ्यो। पुस १७ गते बिहान ८ बजेतिर उसैगरी उनी घरबाट निस्किइन्। त्यहीबेला अचानक पछाडिबाट उनको टाउकोमा कसैले ढुंगाले हिर्कायो। जोडले हिर्काएपछि उनी एक्कासि भुइँमा लडिन्।
भुइँमा ढलेकी उनको अनुहारमा हँसिया पनि प्रहार भयो। त्यसपछि उनलाई घिसारेर झन्डै २० मिटर पर रहेको खोल्सामा पुर्याइयो। त्यतिञ्जेल राधाको मृत्यु भइसकेको थियो।
कान र घाँटीमा लगाएका सुनका गरगहना समेत लुछेर हत्या आरोपित फरार भए।
प्रहरीका अनुसार उनका हत्याका आरोपित भारत गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह हुन्। जसलाई प्रहरीले 'सिरियल किलर'को संज्ञा दिएको छ।
चार महिनामा तीन महिलाको हत्या गरेको उनीमाथि आरोप छ। जसमध्ये राधा पनि एक भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
सुशान्तले राधाको हत्या एकै पटकमा गरेका भने होइनन्। कार्यालयका प्रमुख डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उनले तेस्रो प्रयासमा मात्रै राधाको हत्या गरेका हुन्।
सिंहले शितगंगा-१० सिद्धाराकी २२ वर्षीया शिवा परियारसँग विवाह गरेका छन्। तीन वर्षअघि नै उनीहरूले विवाह गरेका थिए।
सुशान्तसँग विवाह गरे पनि शिवा माइती आउजाउ गरिरहन्थिन्। त्यहीबेला सुशान्तले राधा थापालाई देखे।
राधा एकलाश बाटोमा एक्लै हिँड्ने गरेको उनले देखेका थिए। कान र घाँटीमा सुनका गरगहना देखेपछि सुशान्त लोभिए।
त्यसपछि उनले आफ्नी श्रीमती शिवासँग मिलेर योजना बनाउन थालेको डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
सुशान्तले पहिलो पटक हत्या गर्ने प्रयास गर्दा चुके। दोस्रो दिन पनि उनी हत्या गर्ने मनसायले ढुकेर बस्दा राधा आइनन्। तेस्रो पटकमा भने उनले राधाको हत्या गरे।
हत्या भएपछि करिब १० बजेमात्रै स्थानीयले राधाको शव देखेर प्रहरीलाई बोलाएका थिए।
प्रहरीले हत्या आरोपमा उनकी श्रीमती शिवालाई पनि पक्राउ गरेको छ। तर उनको हत्यामा संलग्नता योजना बनाउनेमा मात्रै देखिएको रिजालले बताए।
‘सुशान्त र शिवा दुबैले राधाको हत्या गर्ने योजना बनाए पनि हत्या गर्नेबेला संलग्नता हालसम्म देखिएको छैन,’ उनले भने, ‘दुबै जनामाथि ज्यान मुद्दा लगाएर अनुसन्धान गरिरहेका छौं।’
प्रहरीले सुशान्त सिंह नै यस घटनाका आरोपित हुनसक्ने आशंका गरेको थियो। खोजी गर्ने क्रममा प्रहरीले उनलाई शितगंगा-१० स्थित मुद्रीबास जंगलबाट पक्राउ गर्यो।
‘प्रहरीले घेरा हालेपछि उसले पाँच सय मिटरमाथि पहाडबाट हामफाल्ने प्रयास गर्दै थियो,’ उनले भने, ‘प्रहरीले उच्च सतर्कता अपनाउँदै सिंहलाई सकुशल नियन्त्रणमा लिन सफल भएको हो।’
पक्राउ पर्दा सिंहको कपडामा रगतका दागहरू पनि फेला परेको उनले बताए।
उनीमाथि कपिलवस्तुकी ७० वर्षीया योगमाया गैरेको हत्या गरेको पनि आरोप छ।
चार महिना पहिले विजयनगर गाउँपालिका-४ की योगमायासँग शिवाको चिनजान भएको थियो। योगमाया पनि सुनका गरगहना लगाउँथिन्।
यो कुरा थाहा पाएपछि सुशान्तले उनको निगरानी गर्न थाले। निगरानी गर्दा योगमाया घरमा एक्लै बस्ने गरेको खुल्यो। त्यसपछि उनको हत्या गरी लुटपाट गर्ने योजनासहित दुबै जना असोज ६ गते राति करिब १० बजे योगमायाको घरमा पुगे।
उनीहरूले योगमायालाई बोलाएर ढोका खोल्न लगाए। ढोका खोल्नबित्तिकै सुशान्तले उनको घाँटी अठ्याए। घाँटी थिचेर सुशान्तले उनको हत्या गरे। सुनका गरगहना लुटे र बाहिरबाट चुकुल लगाएर भागे।
यो घटना पनि आफूहरूले नै गरेको भन्दै प्रहरीसमक्ष स्वीकारिसकेको डिएसपी रिजालले बताए। यो घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय अनुसन्धान ब्युरोको टोली पनि खटिएको थियो। तर आरोपित पत्ता लागेको थिएन।
योगमायाको हत्यापछि दम्पती सीमा नाका चन्द्रोटा हुँदै भारत पुगेका थिए। तर केही समयपछि उनीहरू फेरि नेपाल फर्किए।
नेपाल फर्किएर महिना दिन नबित्दै सुशान्तले अर्को एक वृद्धाको पनि हत्या गरे।
गुल्मीको इस्मा गाउँपालिका-५ की ७५ वर्षीया जीवकला थापाको हत्या पनि उनीहरूले नै गरेको डिएसपी रिजाल बताउँछन्।
उनको हत्या गत कात्तिक २८ गते भएको हो।
एक्लै बस्ने, अशक्त, गरगहना लगाउने मानिस फेला परेमा उनले हत्या गर्ने गरेको देखिएको हो। जीवकला पनि घरमा एक्लै बस्ने गरेको सुशान्तले थाहा पाएका थिए।
जीवकलाबारे भने सुशान्तले युट्युबमार्फत् थाहा पाएका थिए। उनी एक्लै बस्ने गरेको थाहा पाएपछि उनी गुल्मी पुगे।
‘युट्युबमा जीवकला थापाको कथा हेरेपछि ऊ त्यहाँ पुगेको खुल्यो,’ डिएसपी रिजालले भने, ‘आफू मजदुर हुँ भन्ने बहाना बनाएर उनको घरमा पुगेको देखिन्छ।’
घरमा बास बस्न आएको बहानामा उनले जीवकलाको पनि हत्या गरेको प्रहरीले जनाएको छ। उनको पनि गरगहना लुटिएको डिएसपी रिजालले बताए।
प्रहरीका अनुसार उनले यी लुटिएका गरगहना कहाँ लगेर बेच्ने गरेको भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान गरेपछि खुल्ने प्रहरीले जनाएको छ।
अर्घाखाँचीकी राधाको हत्यामा सुशान्तकै संलग्नता भएको देखे पनि अरूको हत्याबारे प्रहरी अनभिज्ञ नै थियो। तर सोधपुछ गर्नेक्रममा उनले योगमाया र जीवकलाको पनि हत्या आफैंले गरेको बताएका हुन्।
प्रहरीले उनीमाथि प्रारम्भिक अनुसन्धान सकेर आइतबार सार्वजनिक गरेको हो। सुशान्तको विगतबारे बुझ्न अर्घाखाँची प्रहरीले भारतीय प्रहरीसँग पनि सम्पर्क गरेको छ।