इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मंगलबार ७.७ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ।
युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) का अनुसार भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको छ।
अमेरिकी भुगर्भ विभागका अनुसार ७.६ रेक्टर स्केलको भुकम्प गएको हो।
उत्तरी अष्ट्रेलियाका केही भागहरूमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि कम्तिमा चार पराकम्पनहरू गएका थिए। इन्डोनेसियाको प्रकोप एजेन्सीले प्रारम्भिक रिपोर्टका अनुसार भवनहरूमा हल्कादेखि मध्यम क्षति भएको छ।
भुकम्प लगत्तै सुनामीको चेतावनी दिए पनि हटाइएको थियो।
भूकम्पको केन्द्रबिन्दु वरिपरि चारवटा टाइड गेजको अवलोकनपछि त्यहाँ कुनै विपत्ती नभएको र समुद्रको सतहमा कुनै उल्लेखनीय परिवर्तन नभएकाले सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ।