दाङ तुलसीपुरका एक व्यक्तिलाई ब्ल्याकमेल गरेर करोडौं रकम माग्ने मुख्य योजनाकार महिलालाई अदलातले पूर्पक्षका लागि थुनामा पठाएको छ।
दाङ जिल्ला अदालतले आइतबार थुनछेक बहसपछि गढवा गाउँपालिका वडा नं. ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका-६ मा बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले गहतराजलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको र अन्य दुई जनासँग जनही एक-एक लाख रूपैंया धरौटी मागेको अदालतका श्रेस्तेदार हिरण्य भण्डारीले सेतोपाटीलाई जानकारी दिए।
प्रहरीले सुरूमा अपराधिक लाभ मुद्दा चलाइएका आरोपित तीनमध्ये तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत पनि मागेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन्। यस्तै घोराही उपमहानगरपालिका–१० नारायणपुरका २७ वर्षीय रूद्रबहादुर केसी एक लाख धरौटी बुझाएर छुटेका छन्।
अनुसन्धानका क्रममा मिलेर ब्ल्याकमेल गरि ब्यक्तिबाट लाभ लिन खोजेको देखिएपछि प्रहरीले सुरूमा ‘संगठित अपराधिक लाभ’ शीर्षकमा मुद्दा चलाएको थियो।
मुख्य योजनाकार गहतराजसहित अन्य दुई जनाले पीडित भनिएका तुलसीपुरका एक ब्यक्तिलाई ‘ब्ल्याकमेलिङ’ गर्दै पाँच करोड रकम मागेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उनीहरूले करोडौं रकम मागेको र उक्त रकम नदिए बलात्कार सम्बन्धी मुद्दा हालिदिने धम्की दिँदै आएका थिए। उक्त कुरा उनीहरूले पीडितकी छोरी र श्रीमतीलाई समेत सामाजिक सञ्जालमा पठाएर बार्गेनिङ गर्दै आएका थिए।
उनीहरूले ती पुरूषबाट पटक–पटक गरी झन्डै ३० लाख लगिसकेको प्रहरीले बताएको छ।
मुख्य योजनाकार गहतराजका फरक-फरक नामका ‘स्कुटरका दुई लाइसेन्स’ र दुई वटा फरक-फरक नामका नागरिकता फेला परेका थिए। प्रहरीले अनुसन्धानका क्रममा यसबारे सोधपुछ गर्दा उनले पीडित भनिएका पुरूषकै सहयोगमा आफूले प्राप्त गरेको बयान दिएकी थिइन्।
सोही बयानका आधारमा प्रहरीले ती पुरूषलाई नियन्त्रणमा लिएर उनी बिरूद्ध सरकारी कागजात किर्ते शीर्षकमा मुद्दा चलाएको थियो। तर जिल्ला अदालतले भने त्यसमा ती पुरूषको कुनै संलग्नता नदेखिएकाले साधारण तारेखमा छोड्न आदेश दियो।
यो पनि