बालेन शाह मेयर भएर आएदेखि नै काठमाडौंमा सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका निम्ति दुःखका दिन सुरू भएको थियो।
उनले पैदलयात्रुहरूको सुविस्ता र सहरी सौन्दर्य बढाउने भन्दै साना व्यवसायीहरूका ठेलागाडा, साइकल र नाङ्लो लखेटी लखेटी खोस्न थालेका थिए। त्यस्ता केही भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएका छन्।
तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने साना र निर्वाहमुखी व्यवसायीहरूमाथि महानगरको यो धरपकड आगामी दिनमा अझ बढ्ने देखिएको छ। किनभने, काठमाडौं महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना नै निकालेर सडक व्यवसायमाथि प्रतिबन्ध लगाएको छ र कसैले सडकपेटी वा सार्वजनिक स्थलमा व्यापार व्यवसाय गरे सामान जफत गरी हदैसम्म सजाय गर्ने भनेको छ।
‘सडकपेटीमा अनधिकृत व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्री राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायत कार्य गरी सार्वजनिक आवागमनमा बाधा अवरोध पुगेको’ भन्दै महानगरले त्यस्तो कार्यमा संलग्न हुनेलाई स्थानीय सरकार सञ्चालन ऐन, फोहोरमैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाका अन्य कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको हो।
यसले काठमाडौंभित्र ठेला, साइकल वा नाङ्लोमा व्यापार गरेर रोजीरोटी कमाउँदै आएका साना व्यवसायीहरू ठूलो संख्यामा बेरोजगार हुनेछन्। देशभरबाट कामको खोजीमा काठमाडौं आएर सडक किनार आश्रित त्यस्ता व्यवसायीको रोजीरोटी गुमेपछि उनीहरू के गर्लान्, कसरी बाँच्लान् भन्नेमा महानगरले कुनै संवेदनशीलता देखाएको छैन।
देशकै अर्थतन्त्रमा दुरगामी प्रभाव पार्ने यो कदमलाई लिएर संघीय सरकारले पनि केही बोलेको छैन। काठमाडौंबाट संसदीय चुनाव जितेर प्रतिनिधिसभामा पुगेका नयाँ सांसदहरूले पनि दसौं हजार साना व्यवसायीको रोजीरोटीसँग जोडिएको मुद्दामा मौनता साँधिरहेका छन्।
हामीले यसबारे पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडासँग कुरा गरेका छौं।
उनले महानगरको कदमलाई ‘लोककल्याणकारी राज्यको अवधारणाविपरीत’ बताएका छन्।
रोजगारको खोजी लगायत विभिन्न कारणले गाउँबाट काठमाडौं आउने क्रम बढिरहेका बेला वैकिल्पक व्यवस्था नगरी सडक व्यवसायमा रोक लगाउँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने उनको भनाइ छ।
‘सडक व्यवसाय बन्द गरियो भने काठमाडौंको अर्थतन्त्र त प्रभावित हुन्छ नै, सिंगो देशको अर्थतन्त्रमा पनि नकारात्मक असर पर्नेछ,’ उनले भने, ‘यसले सडक किनार पसल थापेर स्वरोजगारको बाटो अपनाइरहेका ठूलो संख्याका जनतालाई बेरोजगार बनाउनेछ। सँगसँगै, बजारमा माग र आपूर्तिको सन्तुलन पनि बिगार्छ।’
खतिवडाले अगाडि भने, ‘कमजोर वर्गलाई राज्यले सधैं सुरक्षा र संरक्षण दिनुपर्छ। सामाजिक सुरक्षा हरेक नागरिकको हक हो। यसको राम्रो माध्यम भनेको रोजगार हो। हामीकहाँ राज्यले सबैलाई रोजगार दिन सकेको छैन, त्यसैले राज्यले नै स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्छ। तर काठमाडौं महानगरले जसरी सडक व्यवसायीहरूलाई हटाउन खोज्दैछ, त्यसले उनीहरूको स्वरोजगारको हक खोसेको छ।’
काठमाडौंको मात्र होइन, पूरै देशको अर्थतन्त्र गतिशील बनाउने सडक व्यवसायमा रोक लगाउनुअघि महानगरले वैकल्पिक व्यवस्था गर्नुपर्ने र यसको निम्ति केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने उनी बताउँछन्।
‘सिधै रोक लगाउनुभन्दा यस्तो व्यवसाय गर्न ठाउँ र समय तोक्न सकिन्थ्यो। फलानो फलानो ठाउँमा यति बजेदेखि यति बजेसम्म व्यापार गर्न सकिन्छ भनेर तोकेको भए महानगरको उद्देश्य पनि पूरा हुन्थ्यो, यी व्यवसायीहरूको रोजीरोटी पनि खोसिन्थेन,’ खतिवडाले भने।
महानगरले ठाउँ र समय तोकेर व्यापार गर्न अनुमति दिएपछि उनीहरूबाट निश्चित शुल्क उठाएर राजस्व पनि आर्जन गर्न सक्ने उनले सुझाए।
‘व्यवस्थापनका अनेक विकल्प हुँदाहुँदै महानगरले जे गरेको छ, त्यो ज्यादती हो। केन्द्र र प्रदेश सरकारसँग कुरा गरेर एकीकृत ढंगले व्यवस्थित गर्नुपर्ने विषयमा महानगरले हिरोइजम् देखाउन खोजेको छ,’ उनले भने, ‘एउटा राम्रो काम गर्न खोज्दा त्यसले दसवटा विद्रोह जन्माउँछ। रोजीरोटी नै खोसिएपछि त त्यसले आममान्छेमा राज्यप्रति असन्तुष्टि झनै बढाउँछ। त्यसैले सहर सफा राख्ने, सहरको सौन्दर्य बढाउने वा आवागमन सहज बनाउने भनेर गरिबको गरिखाने बाटो नै बन्द गर्नु उचित होइन। महानगरको यो कदम सहरी विद्रोहको कारक नबनोस्!’
२०४९ सालमा टुँडिखेलबाट साना व्यवसायीलाई हटाउँदाको घटना स्मरण गर्दै उनले भने, ‘त्यति बेला उनीहरू टुँडिखेलबाट भृकुटीमण्डप सरे। एउटा ठाउँ सफा भयो, अर्को ठाउँ फोहोर भयो। जबसम्म आमनागरिकले रोजगारको विकल्प पाउँदैन, तबसम्म सडक व्यवसाय अन्त्य हुँदैन। एउटा ठाउँमा रोक लगाए, अर्को ठाउँमा सर्छ। तर जसरी भए पनि, जुन रूपमा भए पनि सडक व्यवसाय जारी रहन्छ।’
काठमाडौं महानगरले सडक व्यवसायीहरूलाई यसरी प्रस्तुत गर्दैछ, मानौं सडक किनार व्यापार गर्ने चलन काठमाडौंमा मात्र छ। तर यो गलत हो।
यस्तो व्यवसाय युरोप, अमेरिकादेखि संसारका प्रायः सबै मुलुकमा छ। कुनै पनि देशको अर्थतन्त्र गतिशील राख्ने काम सडक व्यवसायले नै गर्छ। यसले एकातिर गरिब वर्गलाई स्वरोजगारको अवसर दिन्छ भने आयस्रोत कम भएका वा ठुल्ठूला डिपार्टमेन्ट स्टोरमा किन्ने हैसियत नभएका वर्गलाई पनि सहरमा बाँच्न सहज बनाउँछ।
यति मात्र होइन, महानगरले पैदलयात्रुको सुविस्ताका लागि ठेलावाला, नाङ्लोवाला र डोकोवाला सडक व्यापारीहरू हटाएको भन्दै आएको छ। उसको यो भनाइ पनि गलत छ।
पैदल हिँड्नेहरूले सडक व्यापारीलाई छलेर दायाँबायाँबाट आफ्नो बाटो निकाल्छन्। ठेलामा मानिसहरू अल्झिएको, लडेको घटना खासै सुनिँदैन। बाटो छेक्ने भनेका जथाभाबी कुद्ने मोटरसाइकल र गाडीहरू हुन् भने पैदलमार्ग नै नहुनु अर्को समस्या हो। सडकका दायाँबायाँ पार्किङमा राखिएका गाडीले त पैदलयात्रुको हिस्साको बाटोधरि खाइदिएको छ।
सबभन्दा ठूलो कुरा, अहिले जुन–जुन ठाउँमा महानगरको धरपकड चल्दैछ र जुन जुन ठाउँमा सडक व्यवसायीहरू धेरै देखिन्छन्, ती भनेका मूल सडक होइनन्। मूल सडकबाट छुट्टिने भित्री बस्तीका बाटाहरू हुन्, जुन प्रायः आवासीय क्षेत्रमा पर्छ। त्यहाँ सडक व्यापारले पैदलयात्रुलाई गाह्रो होइन, बरू वरपरका स्थानीयलाई किनमेल गर्न सजिलो बनाएको छ। बेच्नै नसकिने, ग्राहक आउँदै नआउने दरबारमार्गजस्तो ठाउँमा कसैले पनि ठेला चलाउँदैनन् वा डोकोमा तरकारी बेच्दैनन्।
कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ — एउटा समृद्ध वर्गको अर्थतन्त्र जो ठुल्ठूला मल र डिपार्टमेन्ट स्टोरमा किनमेल गर्छ। अर्को, न्यूनमध्यम वर्ग र गरिबहरूको अर्थतन्त्र जसको उपभोग्य आवश्यकता सडक व्यापारीहरूले सस्तोमा पूर्ति गर्छन्। ठेला खोसेर, उनीहरूलाई रोजगारविहीन बनाएर महानगरले उनीहरूको पेटमा मात्र होइन, काठमाडौंमा बसोबास गर्ने तमाम न्यूनमध्यम वर्ग र गरिबहरूको जीवनमा धावा बोल्दैछ।
कम आय भएका न्यूनमध्यम वर्गले आफूलाई चाहिने तरकारी, फलफूलदेखि लत्ताकपडा सडकबाट सस्तोमा किन्न सक्छन्। यसले बजारको माग र आपूर्ति सन्तुलित राख्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ। सडक व्यवसाय हटाइदिने हो भने साना व्यवसायी मात्र बेरोजगार हुँदैनन्, बजार मूल्य बढेर आमनागरिकलाई काठमाडौंमा बाँच्नै मुश्किल पर्छ।
यसलाई अब अर्को कोणबाट पनि हेरौं। यी सडक व्यापारीहरू, जो दिनभरि सडक किनार ठेला चलाएर, हामीलाई सस्तो सामान उपलब्ध गराएर आफ्नो गुजारा चलाउँछन्, यी कहाँ बस्छन्? यिनको थातथलो कहाँ छ? के यिनीहरू हरेक दिन गाउँबाट व्यापार गर्न काठमाडौं आउने हुन्? कि यतै बस्छन्?
यिनीहरू सबै काठमाडौंकै बसोबासी हुन्। काठमाडौंका विभिन्न ठाउँमा डेरा लिएर सपरिवार बस्छन्। यिनका केटाकेटी यतैका स्कुलमा पढ्छन्। खासगरी काठमाडौं कोर–सिटीका पुराना घरहरूमा सस्तो भाडा तिरेर यस्ता व्यापारीहरू ठूलो संख्यामा बस्ने गरेको हामी पाउँछौं।
मेयर बालेन शाहले भनेजस्तै यी साना व्यापारीलाई उनीहरूको ठेला, नाङ्लो र डोको खोसेर रोजगारविहीन बनाउने हो भने उनीहरू पक्कै पनि महिनाको चार–पाँच हजार भाडा तिरेर काठमाडौंमा बस्न सक्दैनन्। आफ्ना केटाकेटी पढाउन सक्दैनन्। यसले रोजीरोटीको खोजीमा काठमाडौं पसेको परिवारको सपना त मर्छ नै, सँगसँगै काठमाडौंमै घर भएका र ती सडक व्यापारीलाई भाडामा राखिरहेका परिवारको जीवनयापनमा पनि असर पर्छ। उनीहरूको कमाइ घट्छ, कमाइ घटेपछि उपभोग घट्छ, खर्च पनि घट्छ। र, अन्ततः काठमाडौंको अर्थतन्त्र नै डाँवाडोल हुन्छ।
त्यसैले, काठमाडौंजस्तो गाउँ–सहर, धनी–गरिब मिलेर बनेको मिश्रित समाजबाट गाउँलेहरूलाई पन्छाउनु, गरिबहरूलाई हटाउनु भनेको सिँगो सहरकै भविष्य सखाप पार्नु हो — काठमाडौंकै भविष्य सखाप पार्नु हो।
महानगरले सार्वजनिक सूचना जारी गरेको भोलिपल्ट बुधबार बिहानै मैले म्हेपीमा ठेला चलाएर तरकारी बेच्ने मञ्जु भुजेलसँग कुरा गरेको थिएँ।
उनको एउटा ठेला केही साताअघि महानगरले खोसेर जफत गरिसकेको छ। उनी अर्को ठेला अरूसँग पैंचो लिएर तरकारी बेच्दै आएकी छन्।
मैले फोन गर्दा उनी दुई दिनदेखि ज्वरोले थला परेकी रहिछन्। तर ज्वरो आए पनि साँझ तरकारी बेच्न जान लागेको उनले सुनाइन्।
मैले उनलाई महानगरको सूचनाबारे जानकारी दिएँ।
उनले दिक्क मान्दै भनिन्, ‘के गर्ने होला त अब! यस्तै हो भने काठमाडौंमा बाँच्न सकिँदैन। काठमाडौं छाडेरै जानुपर्ने स्थिति आउला जस्तो पो भयो!’
मैले केही भन्न सकिनँ।
उनले अगाडि भनिन्, ‘छोराछोरीको भविष्यको पो चिन्ता लाग्यो। पढाइ यत्तिकै छुट्ने भयो यिनीहरूको।’
मञ्जु मात्र होइन, महानगरको यो ‘ठेलामुक्त अभियान’ कार्यान्वयन भयो भने ठूलो संख्यामा मानिसहरू बेरोजगार भएर काठमाडौंबाट विस्थापित हुने छन्।
उनीहरू काठमाडौंले हामीलाई सहारा दिन्छ, हाम्रो भोकको ज्वाला शान्त पार्न मद्दत गर्छ, हाम्रा केटाकेटीलाई सामान्य ढंगमा भए पनि पढ्ने–लेख्ने, हुर्कने–बढ्ने वातावरण दिन्छ र हामीलाई गरिखान कुनै रोकतोक गर्दैन भन्ने आशमा नागढुंगा नाघेर उपत्यका छिरेका हुन्। ती सबैलाई बालेन शाहको अपरिपक्व र उत्ताउलो निर्णयले काठमाडौं छाड्न बाध्य पार्दैछ। उनीहरूको गरिखाने सबै मेलो खोसेर सहरबाट खेद्न खोज्दैछ।
हिमाल होस् या पहाड–मधेस, देशी होस् या विदेशी, सबैलाई सहारा दिनु, सबैलाई आफ्नो भूमिमा स्वागत गर्नु, स्वीकार गर्नु र सबैलाई यहाँको सभ्यता र संस्कृतिमा घुलमिल गराउनु काठमाडौंको सदियौंदेखिको परम्परा हो। यही नै काठमाडौंको आत्मा हो।
गरिबमाथि धरपकड गरेर मेयर बालेन शाह काठमाडौंको आत्मा मार्दै छन्।
यी पनि पढ्नुहोस्: