रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङलगायत लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा आइतबार बिहानैदेखि शितलहर चलेको छ।
शनिबार दिनभर घाम लागेको यस क्षेत्रमा आइतबार बिहानैदेखि बाक्लो हुस्सु्सहित शितलहर चलेको हो। यस वर्षको जाडो सुरू भएदेखि हुस्सुसहित चिसो बढेपनि शितलहर भने आइतबार बिहानदेखि मात्र चलेको हो। शितलहर र बाक्लो हुस्सुको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ।
माघ महिनाको पहिलो दिनमै बाक्लो हुस्सु सहित शितलहर चलेपछि केहि दिन चिसो रहने अनुमान गरिएको छ। बुटवल, भैरहवा लगायतका क्षेत्रका सडक शितलहरले चिप्लै बनेका छन्। चिसो र बाक्लो हुस्सुका कारण सडकमा सवारी साधनको आवागमन पनि पातलिएको छ।
बाक्लो हुस्सुका कारण सडकमा नजिकै पुगेपछि मात्रै सवारीसाधन गुडेको देखिन्छन्। सडकमा गुड्ने सवारी साधनले पनि लाइट बालेर गुड्ने गरेका छन्।
पुसको अन्तिमतिर लागेको हुस्सु तीन-चार दिनमै हटेपनि पानी पर्न नसक्दा माघको पहिलो दिनमै पुनः सुरू भएको छ। हुस्सुका कारण भिजिविलिटी कम हुँदा आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनैपनि जहाजको उडान तथा अवतरण हुन नसकेको विमानस्थल सूचना शाखाले जनाएको छ।
यस्तै दिउँसोसम्म पनि बाक्लो हुस्सु कायमै रहेकोले साँझ सम्म पनि उडान हुनसक्ने सम्भावना नहरेको विमानस्थल सूचना शाखाले जनाएको छ।
आइतबार माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा परेकोले अत्यावश्यक कामको लागि मात्रै मानिसहरु घर बाहिर निस्किएका छन्। शितलहर चलेपछि सर्वसाधारण छाता ओढेर निस्किएका देखिन्थे।