पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा मानिसका चित्कार सेलाएको छैन। आइतबार दिउँसोदेखि प्रतिष्ठान परिसर मानिसले भरिएका छन्। उनीहरू आइतबार भएको हवाई दुर्घटनामा परेका व्यक्तिका परिवार र आफन्त हुन्।
सरकारले सोमबार बिहानदेखि सनाखत भएका शव पोष्टमर्टम गरेर आफन्तलाई बुझाउने भनेको थियो। त्यही भएर मृतकका आफन्त शव बुझ्न अस्पताल पुगेका थिए। दिनभर पर्खिंदासमेत आफन्तको शव नपाउने छाँट देखेपछि पीडित परिवारले आक्रोश पोखे।
‘९ बजे शव पाइन्छ भनेर ८ बजेदेखि आएर बसेको छ, भनेको बेला नहुने कस्तो टाइम हो,’ पोष्टमर्टम भवनअघि एक महिलाले भनिन्, ‘अस्पताल प्रशासनको लापरबाही हो कि, जिम्मेवार को छ?’
पोष्टमर्टम भवनअघि पीडित परिवारले आक्रोश पोख्न थालेपछि सुरक्षा सतर्कता बढाइयो। स्थिति नियन्त्रण बाहिर जान नदिन सशस्त्र प्रहरी परिचालन भयो। त्यही बेला अर्का युवाले भने, ‘३६ घण्टा कुरिसक्यो। ७७ जिल्लाबाट मान्छे आएको छ। कस्ले बुझ्ने?’
तनाव बढ्न लागेपछि पोष्टमर्टम भवनबाहिर सुरक्षाकर्मीले दुर्घटनामा परेकी प्रसिद्धी पौडेल र सरस्वती पौडेलका आफन्तलाई भित्र आउन भने। सयौंको संख्यामा रहेको भीडका सामु भित्रबाट बोलाइएका नाम बाहिर पुग्न सकेन।
पोष्टमर्टम गरेर आफन्तलाई शव बुझाउन ढिलाइ भएकाप्रति आक्रोशित युवाले भने, ‘के सारो गरिब हो, माइक पनि नभएको। यत्रो सरकार छ। जनताका समस्या पीडा नबुझ्ने!’
सुरक्षा परिचालन गरेर आफूहरू नडराउने भन्दै उनीहरूले छिटो छिटो काम गर्न आग्रह गरिरहे। काममा बाधा नपार्ने बताइरहे। तै पनि उनीहरूले सोमबार शव बुझ्न पाएनन्। रित्तै हात फर्किन बाध्य भए।
‘तपाईंहरू छिटो काम गर्नुस् न। हामी बाधा गर्दैनौं। तिमीहरू बेचेर खान्छौ कि के हो,’ सरकारी ढिलासुस्तीप्रति आक्रोशित अर्का युवाले भने, ‘तिमीहरूका पनि बा, आमा होला। साथीभाइ होला। तिमीहरूलाई परेको भए के गथ्र्यौ?’
प्रतिष्ठानको पोष्टमर्टम भवनमा आइतबार भएको यती एयरलाइन्स ए ७२ जहाज दुर्घटनामा परेका यात्रु र चालक दलका सदस्यका शव राखिएका छन्। दुर्घटनामा परेका ६८ जनाको शव भवनमा छन्। बाँकी ३ जना अझै भेटिएका छैनन्।
पोखरा जस्तो सुलभ सहरमा नेपालकै सबभन्दा ठुलो हवाई दुर्घटना हुँदासमेत सरकारले अझै सबै यात्रु भेटाउन नसकेकोप्रति पनि भीड आक्रोशित छ।
हवाई दुर्घटनाका पूर्व तयारी गर्न सरकारले नसकेको उनीहरू बताइरहेका छन्। दुर्घटनापछि पनि छिटो छरितो तरिकाले प्रक्रिया पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
यसरी पोष्टमर्टम भवनअघि आन्दोलन गरेका धम्पुसका ज्योति गुरूङ पनि एक हुन्। भाइ शिवकुमार गुरूङ अमेरिकाबाट र बुहारी अनुषा गुरूङ अष्ट्रेलियाबाट पुस २७ गते काठमाडौं ओर्लिएका थिए।
अध्ययनका क्रममा शिव अमेरिका र अनुषा अष्ट्रेलिया पुगेका थिए। २ वर्षअघि नेपाल आएर विवाह गरेर उनीहरू फेरि आ–आफ्नै गन्तव्यमा फर्केका थिए।
‘विवाह गरेपछि एकै देशमा जान पाउँथे, तर पछि कुन देशमा बस्दा ठिक हुन्छ, त्यहीँ बस्ने भनेर भाइ अमेरिका र बुहारी अष्ट्रेलिया गएकी थिइन्,’ ज्योतिले भने।
माघे संक्रान्तिका दिन घर छिर्ने भनेर उनीहरू आइतबार काठमाडौंबाट पोखरा उडेका थिए।
उनीहरू चढेको जहाज दुर्घटना भएपछि वृद्ध बुवा आमाले केही नखाएको ज्योतिले बताए।
‘हामीले पनि चियाबाहेक केही खाएको छैन, आमाबुवाले पनि केही खानुभएको छैन,’ उनले भने, ‘सारा परिवार शोकमा डुबेको छ, हामीले हाम्रो गुरूङ संस्कार अनुसार किरिया गर्न शव लान्छौं भन्दा ढिलासुस्ती मात्र गरेको छ।’
शव सनाखत गर्ने बेला आइतबार नै ज्योतिले भाइ र बुहारीका शव हेर्न दिएका थिए। देख्ने बित्तिकै उनले पहिचान गरिहाले। बिहान ८ बजेदेखि शव बुझ्न आउँदा पनि नपाएपछि उनी आक्रोशित बनेका थिए। जति आक्रोश पोखे पनि उनले सोमबार शव पाएनन्।
‘घरभरी आफन्तले भरिएका छन्, शव पाएपछि दाहसंकार गर्न जम्मा भएका छन्,’ उनले भने, ‘हामीलाई हाम्रा मान्छेको शव दिन किन ढिलाइ गरिराखेको छ?’
सरकारी ढिलासुस्ती विरूद्ध आवाज उठाउन अर्का पीडित हुन्, पोखराका डिलबहादुर शाही।
उनका दाजुका छोरी संगीता शाही काठमाडौंमा ब्युटिपार्लर र बुटिक चलाउँथिन्। उनका आमा काठमाडौं बस्थिन् भने बुबा चन्द्रबहादुर शाही पोखरामा।
बुवा भेट्न संगीता आइतबार पोखरा उडेकी थिइन्। उनका बुवा पुरानो एयरपोर्ट नजिकै नागढुङ्गामा बसेका थिए। यति एयरलायन्सको जहाज भिन्दै आवाज निकालेर ढलपल गरिरहेको उनीहरूले पनि देखेका रहेछन्।
‘एकैछिनमा जहाज पड्किएर धुँवा आयो, दाइ चन्द्रबहादुर ट्याक्सी लिएर गइहाल्नुभयो,’ डिलबहादुरले भने, ‘हिजोदेखि भएको घटनाले परिवार शोकमा छ, म शव बुझ्न हिजोदेखि आज दिनभर बसें तर सरकारले दिएन।’
छोरी दुर्घटनामा परेको खबर सुनेर संगीताका आमा आइतबार नै यती एयरलाइन्सको अर्को जहाजमा पोखरा आएकी छन्।उनीहरूले पनि अहिलेसम्म केही नखाएको डिलबहादुरले बताए।
सरकारले शव नदिएर रमिता गरेको उनको गुनासो छ।
‘हामीले हाम्रो छोरी चिनिसकेका छौं, हेरिसकेका छौं,’ उनले भने, ‘छिटोछिटो पोष्टमर्टम गरेर दिए भइहाल्थ्यो, यहाँ त सरकारले रमिता बनाइदिएको छ।’
अस्पताल प्रशासनले शव बुझ्न भइरहेका ढिलाइबारे पनि पीडित परिवारलाई केही जानकारी दिएको छैन। जसले गर्दा उनीहरूको धैर्यताको बाँध फुट्दैछ।
‘माइकिङ गरेर यस्तो काम भइरहेको छ भनेर यथार्थ भनिदिए पनि हुन्थ्यो नि,’ डिलबहादुरले भने।
विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६९ जनाको शवमध्ये हालसम्म ४८ जनाको सनाखत भइसकेको छ। कास्की प्रहरीका अनुसार दुर्घटनामा परेका व्यक्तिका आफन्तले पहिचान गरेका आधारमा सनाखत भएको हो।
यसरी सनाखत भएका व्यक्तिमध्ये २३ जनाको मात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमर्टम हुने भएको छ। बाँकी ४६ जनाको शव काठमाडौं लगेर पोष्टमर्टम गर्ने अस्पतालले जनाएको छ।
‘शव पहिचान गर्न सकिएका मात्र यहाँ पोष्टमर्टम हुन्छ, पहिचान हुन नसकेका शव आफन्तले पहिचान गरे डिएनए लगायतका परीक्षण गरी पहिचान गर्न भोलि काठमाडौं पठाउँछौं,’ प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले भने।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त पोखरामा भेला भए पनि भोलिदेखि काठमाडौंमा शव कुर्नुपर्ने अवस्था आएको छ।
पोखरामा पोष्टमर्टम हुने २३ वटा शव मात्र प्रतिष्ठानबाट आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. खत्रीले पीडित परिवारले आरोप लगाए जस्तो ढिलासुस्ती नभएको जिकिर गरे।
‘संसारमै यति छिटो काम हुँदैन, हामीले छिटो छिटो काम गरिरहेका छौं,’ उनले सेतोपाटीलाई भने, ‘सबै प्रक्रिया पूरा गर्दा समय त लागिहाल्छ नि।’
अस्पतालको पोष्टमर्टम भवनमा ३ वटा बेड छन्। जहाँ २ वटा बेड पोष्टमर्टमका लागि चलाएको डा. खत्रीले बताए।
पोष्टमर्टम गर्न काठमाडौंबाट आएका २ जना र पोखराबाट ५ जना डाक्टर खटिएको उनले बताए।
दुर्घटनामा ज्यान गुमाएका परिवारका आफन्तले भने ७ जना नभई ५० जना डाक्टर परिचालन गर्न माग गरेका छन्।
‘यति ठूलो दुर्घटना भएको छ, ७ जनाले २/२ वटा शव पोष्टमर्टम गर्दा अझै ढिलो हुन्छ, आक्रोशित बनेका ज्योति गुरूङले भने, ‘यस्तो बेला सरकारले ५० जना डाक्टर खटाएर छिटो छिटो शव जिम्मा लगाउनुपथ्र्यो।’