विभिन्न हातहतियारसहित डरधम्की देखाएर रकम असुलीमा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका वडा नं. ४ अर्खावाङ घर भई हाल रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ पर्रोहा बस्ने ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका वडा नंं २ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन्।
नवीन चन्द्र रेग्मी विगतमा माओवादीको जनमुक्ति सेनामा रहेको र शान्ति प्रक्रियापछि स्वेच्छिक अवकास लिएर बसेको प्रहरीको अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार उनीहरूलाई सोमबार बुटवल वडा नं. ११ देवीनगरबाट रिभल्वर र विभिन्न हात हतियारमा लाग्ने ३५ राउण्ड गोलीसहित पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक थापाले पछिल्ला केही महिनायता उद्योगी व्यवसायीसँग रकम माग गर्ने र रकम दिन अस्वीकार गरे हतियार देखाएर डर धम्की दिने गरेको उजुरीपछि अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
उक्त समूहले ‘रोयल ग्रुप’ नामक समूह नै बनाएर व्यवसायी तथा सर्वसाधारणलाई डरधम्की दिएर रकम असुली गर्ने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रूपन्देहीमा केही वर्ष अगाडि सक्रिय रहेको आपराधिक समूहलाई निस्तेज पारेको रूपन्देही प्रहरीले यो विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको बताए।
पक्राउ परेकामध्ये नवीनको साथबाट १ थान रिभल्वर फेला परेपछि खोजी गर्दै जाँदा पर्रोहास्थित कोठाबाट विभिन्न हतियारमा लाग्ने ३५ राउण्ड गोली फेला पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
खानतलासीको क्रममा ९ एमएमको १४ राउण्ड गोली, ७.२ एमएमको गोली ४ राउण्ड र ०.४ को गोली १७ राउण्ड गरी ३५ राउण्ड गोली बरामद भएका छन्।
त्यस्तै, ३ थान तयारी डेटोनेटर, ६० थान डेटोनेटर केस, डेटकर्ड ४ मिटर समेत बरामद भएको प्रहरीले जनाएको छ।
उक्त समूहले १० हजारदेखि लाखौं रकमसम्म असुलीका लागि रूपन्देहीका उद्योगी व्यवसायीहरूको लिष्ट नै डायरीमा तयार पारेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक थापाले ३ हप्ताअघि आफू बुटवल आएको र २ हप्ता अगाडि हतियारको डरधम्की देखाउँदै रकम असुल गर्ने गरेको उजुरी आएपछि अनुसन्धानमा गर्दै जाँदा दुई जनालाई पक्राउ गर्न सफल भएको बताए।