सुर्खेतमा गाडी दुर्घटनामा ज्यान गुमाउनेहरू स्वास्थ्यकर्मी भएको खुलेको छ। घाइतेमध्ये एक जना पनि स्वास्थकर्मी हुन्।
आइतबार बिहान भेरीगंगा नगरपालिका-१ सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको गाडी सडकबाट खसेर दुर्घटना भएको हो।
झन्डै २० मिटर तल खसेको उक्त गाडीमा सवार सबैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र हाल सुर्खेत बस्ने भैरवी गाउँपालिकाका सागर शाहीको मृत्यु भएको हो।
दैलेख भैरवी गाउँपालिकाका वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भएको हो।
प्रहरीका अनुसार मृतकहरूमध्ये तीन जना छैठौं तहका जनस्वास्थ्य निरीक्षक र एक जना औषधी व्यवसायी थिए।
दिपेन्द्रजंग डुंगेश्वर गाउँपालिका, बविन भगवतीमाई गाउँपालिका र राजेन्द्र बिसी गुराँस गाउँपालिकामा जनस्वास्थ्य निरीक्षकको रूपमा कार्यरत थिए।
सागर शाही भने औषधी व्यवसायी हुन्। उनले सुर्खेतको वीरेन्द्रनगरमा ‘रारा डिस्ट्रीब्युटर्स’ सञ्चालन गरिरहेका थिए। दुर्घटनामा परेको गाडी पनि उनैको हो। प्रहरीका अनुसार सागरले आफैं गाडी चलाएका थिए।
घाइते भएका वीरेन्द्रराज शाही पनि भैरवी गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक छैठौं तहमा कार्यरत छन्।
‘उहाँहरूमध्ये कतिपयको केही समयअघि बढुवा पनि भएको रहेछ, सुर्खेतमा उहाँहरू गोष्ठीमा सहभागी हुन आउनुभएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भने, ‘उहाँहरू सत्तरी खाना खान गएको भन्ने जानकारी आएको छ, अरू आधिकारिक कुरा भने आएको छैन।’
दुर्घटनापछि घाइते भएका वीरेन्द्रले नै प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई फोन गरेपछि उनी बेहोस अवस्थामा भेटिएका थिए।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले सुर्खेतमा जनस्वास्थ्य निरीक्षकहरूको सहभागितामा समीक्षा गोष्ठी आयोजना गरिएको थियो।
शनिबारदेखि नै सुरू भएको गोष्ठी सोमबार सम्म चल्ने छ। दुर्घटनामा मृत्यु भएको जनस्वास्थ्य निरीक्षकहरू सोही गोष्ठीमा पनि सहभागी थिए।
गोष्ठीमा दैलेख र सुर्खेतका स्वास्थ्य शाखा प्रमुखहरू सहभागी छन्।