उमेरले ७० वर्ष नाघेका मित्रबहादुर कुँवर गत वर्ष आफ्नो परिवार खोज्दै पर्वतबाट चितवन आइपुगेका थिए। बुढेसकालमा सन्तानको माया पाउने आशा थियो। तर रत्ननगर नगरपालिकामा बस्ने छोराहरूले उनलाई आश्रयसम्म दिएनन्।
परिवारको हेलापछि खानबस्न हम्मे भयो। सडकमा आइपुगेका मित्रबहादुरले अन्त्यमा एउटा सहारा भेटे- असहाय वृद्ध कल्याण समाज।
करिब एक वर्षदेखि उनी रत्ननगर–१३ अमिलियास्थित उक्त संस्थाले चलाएको घरमा बसिरहेका छन्। यो वृद्धाश्रममा मित्रबहादुरजस्तै अरू १३ जना छन्। खाना, कपडा र बासबाट बञ्चित भएर अलपत्र परेका तथा परिवारको हेलामा परेका ७० देखि ९० वर्षसम्मका असहाय वृद्धवृद्धाका लागि यो घर हो।
रोचक के छ भने, उनीहरूको व्यवस्थापन गर्ने व्यक्ति पनि वृद्धा नै हुन्।
पूर्व–पश्चिम राजमार्गको टाँडी बजारबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि अमिलिया पुगिन्छ। यहीँ छ असहाय वृद्ध कल्याण समाज। हामी पुग्दा भवनको प्रांगणमा केही वृद्धवृद्धा घाम तपिरहेका थिए। भवनको एउटा कोठामा गीता पाठ गर्दै थिइन् अर्की एक वृद्धा।
हामी आइपुगेको जानकारी पाएपछि उनी सहयोगीको सहारामा बाहिर निस्किन्। कुर्सीमा बसेकी उनी शारीरिक रूपमा अशक्त थिइन्। तर उनको अनुहारको चमक त्यो अशक्तता बिर्साउने खालको थियो।
हाउभाउमा देखिएको आत्मविश्वास र बुलन्द आवाजले यो सुविधायुक्त वृद्धाश्रमको मुख्य मान्छे उनै हुन् भन्ने झल्को दिन्थ्यो। रहेछ पनि त्यही।
उनी हुन् ९० वर्ष नाघेकी नीरकला शर्मा।
उनको अथक प्रयासमा २० वर्षअघि बनेको रहेछ यो वृद्धाश्रम। उनले आफ्नै सक्रियतामा संस्थाका लागि भवन निर्माण मात्रै गरिनन्, यो उमेरमा पनि त्यही भवनको एउटा कोठामा बसेर वृद्धाश्रम हाँकिरहेकी छन्।
नीरकलाको परिचय यति मात्र होइन। उनी चितवन जिल्लाकै पहिलो महिला शिक्षक हुन्।
उनी २०२५ सालमा रत्ननगरस्थित नेपाल माविको अंग्रेजी शिक्षकमा नियुक्त भएकी थिइन्। त्यतिखेर चितवनमा अन्य केही स्कुल मात्रै थिए। शिक्षक पनि पुरुष मात्रै थिए। पहिलो महिला शिक्षकको रूपमा उनी नियुक्त भएकी थिइन्।
उनले २४ वर्षसम्म पढाइन्।
सानैदेखि अध्यात्ममा रूचि भएकी नीरकलाले सेवानिवृत्त भएपछि धेरै धार्मिक भ्रमण गरिन्। धार्मिक पुस्तकहरू पढिन्। यसले उनमा परोपकारको भावना विकास गर्यो रे।
'म दोश्रो विश्वयुद्धको समयमा हुर्किएकी मान्छे हुँ। त्यतिखेर युद्ध पीडितले दुःख पाएको, वृद्धवृद्धाहरू अलपत्र परेको देखे-सुनेकी थिएँ। मेरा हजुरबुबा, बुबाहरूले दुखीको सेवा गरेको सानैबाट देखेकी थिएँ,' निरकलाले भनिन्, 'सानैदेखि गीता पाठ गर्थेँ। यसले पनि मलाई परोपकार सिकाएको थियो। जीवनमा परोपकारको कर्म गरेरै छाड्छु भन्ने भावना यी सबै कुराबाट विकास भयो।'
सेवानिवृत्त भएको केही वर्षपछि उनले आफ्नो घरमा धार्मिक पुस्तक प्रवचनको दिवासेवा नै सञ्चालन गरेकी थिइन्। वरपरका मान्छेहरू उनले पढेको सुन्न आउँथे।
'म आध्यात्मिक भए पनि रूढिवादमा कहिल्यै विश्वास गर्दिनँ। धार्मिक पुस्तक म निकै सचेततापूर्वक वाचन गर्थेँ ताकि मेरो कुरामा रूढिवादको कुनै गन्ध नआओस्। परोपकार र सहयोगको भावना जागोस्। मेरो कुराबाट अरू मान्छेहरू पनि प्रभावित हुन थालेछन्,' उनले भनिन्, 'बिस्तारै मैले उनीहरूलाई आफूले कल्पना गरेको परोपकारको योजना सुनाएँ। गाँस, बास र कपासबाट बञ्चित असहायहरूका लागि काम गर्न प्रस्ताव गरेँ।'
तीमध्ये केहीले उनको योजनामा साथ दिने भए। उनको सक्रियतामा राधाकृष्ण मन्दिर बन्यो। मन्दिरको संस्थापक भएर उनले अशक्त, अपांगता भएका र बेसहाराहरूको सेवा गरिन्। २०५९ सालमा स्थानीयवासी र विभिन्न पेसामा सक्रिय आफ्ना विद्यार्थीहरूलाई पनि साथमा लिएर उनले असहाय वृद्ध कल्याण समाजको तदर्थ समिति बनाइन्। यो समितिले संस्थाको भवन निर्माणका लागि आर्थिक संकलन सुरू गर्यो।
२०६१ सालमा अमिलियामा ६ कट्ठा जमिन किन्न सफल भयो। जमिन किन्दा नीरकलाले आफ्नो तलब, पेन्सनको पैसा पनि मिसाइन्। विपन्न युवालाई राहत हुनेगरी एउटा रिक्सा किनेर ठेक्कामा चलाउन दिएकी थिइन्। त्यसबापत आएको पैसा पनि जमिन किन्नमै खर्च गरिन्।
सहयोग संकलन गर्दै जुटाएको रकमले त्यो जमिनमा भवनको जग उठ्न थाल्यो।
'मैले यहाँ पढाउँदै गर्दा एकपटक गोरखाको एक स्कुलमा पुगेर त्यहाँको शैक्षिक स्तर सुधार्न काम गरेकी थिएँ। त्यही गुन सम्झिएर त्यहाँका पद्मनारायण मल्ल नामका व्यक्तिले संस्थाको भवन बनाउन साढे सात लाख रूपैयाँ सहयोग गरे। एलजी कम्पनीले जिल्ला विकास समिति र रत्ननगर नगरपालिकामार्फत पाँच लाख रूपैयाँ सहयोग गर्यो। संस्थाको एउटा घर तयार भयो,' नीरकलाले सुनाइन्।
थप भवन र व्यवस्थापनका लागि २०६८ सालमा धनधान्याचल महायज्ञ लगाइयो। यसबाट एक करोड ८७ लाख रूपैयाँ बोलकबोल भयो। उठेको रकमले भवन बनाउने, संस्था चलाउने काम सुरू भयो।
'बोलकबोल भएमध्ये ४५ लाख रूपैयाँ अझै उठ्न बाँकी छ। उठेको पैसाले नयाँ भवन बन्यो,' नीरकलाले सुनाइन्।
२०७३ वैशाखमा अलपत्र दुई जना वृद्धलाई भित्र्याएर वृद्धाश्रमको विधिवत् उद्घाटन गरियो। सोचेको योजना सम्पन्न भएपछि उनी संस्थाको अध्यक्षबाट बिदा भइन्। अहिले संरक्षक बनेर सेवामा सक्रिय छिन्। यहाँ अहिले ८ जना वृद्धा र ६ जना वृद्धले आश्रय लिइरहेका छन्। उनीहरूले दैनिक चार पटक खाना, पौष्टिक आहार, उपचार सेवा प्राप्त गरेका छन्। दुई जना सहयोगी र एक जना व्यवस्थापक पनि छन्।
नीरकलाले आफ्नी आमाको नाममा 'गायत्री ट्रस्ट' पनि स्थापना गरेकी छन्। २०७१ सालमा स्थापित यो ट्रस्टले शिक्षाबाट बञ्चित विपन्न बालबालिका र अपांगता भएकाहरूलाई पढाइमा सहयोग गर्छ। आफ्नो लागि आमाले गरेको दुःख र भगिरथ प्रयासलाई सम्झिएर ट्रस्ट स्थापना गरेकी थिइन् उनले।
व्यक्तिगत खर्च कटौती गर्दै पेन्सनबापत पाएको पैसा जम्मा गरेर, सहयोगीहरूबाट संकलन गरेर दस लाख रूपैयाँको अक्षय कोष तयार पारेकी छन्। यसको ब्याजले पनि वर्षमा कम्तीमा दुई पटक सहयोग गर्ने गरेको उनले बताइन्।
'यो कोषलाई ५० लाख रूपैयाँसम्म पुर्याउने लक्ष्य छ। आफूँ रहँदा यति गर्न सकेँ भने म मरेपछि पनि संस्थाले विपन्न र अपांगता भएकालाई पढ्न सहयोग गर्ने थियो,' उनले भनिन्।
नीरकलाको जन्म १९९० सालमा भारतको दार्जिलिङमा भएको हो। उनका पुर्खाहरूको थलो लमजुङ हो। उनीहरू कामको सिलसिलामा भारत पुगेका थिए। ब्रिटिस साम्राज्यले शासन चलाएको दार्जिलिङ क्षेत्रमा तीव्र विकास भइरहेको थियो। विद्यालय, अस्पतालहरू प्रशस्त खुलेका थिए। उनका बुबा खर्साङस्थित एक विद्यालयमा पढाउँथे। नीरकला घरदेखि माथिको डाँडामा रहेको प्राथमिक विद्यालयमा भर्ना भइन्।
कक्षा चारमा पढ्दै गर्दा उनलाई पैदल हिँड्नमा समस्या हुन थाल्यो।
पहिले ओरालो बाटो हिँड्न, पछि उक्लिन पनि समस्या भयो। घर नजिकैको अस्पतालमा देखाउँदा हड्डीमा समस्या भएको थाहा भयो। रोग के हो पत्ता लागेन। उनलाई बोनम्यारोमा समस्या भएको कुरा पछि मात्रै थाहा भयो। त्यतिखेर यो रोगको औषधि थिएन। आराम गर्ने र पौष्टिक आहरा खानेभन्दा अरू उपचार हुन सकेन। दस वर्षको छँदै बायाँ खुट्टामा देखिएको समस्या फैलिँदै गएर एक वर्षमा दायाँ खुट्टासम्म पुग्यो। १४ वर्षको हुँदा कुम पनि नचल्ने भयो। १५ वर्षको हुँदा उठ्नै नसक्ने भइन्। उनको पढाइ नै अवरूद्ध भयो।
२००४ सालमा तत्कालीन श्री ३ महाराज पद्म शमशेरले भारतसँग सीमा जोडिएका नेपाली बस्तीहरूमा विद्यालय स्थापना गरे। त्यसपछि भारतमा कार्यरत धेरै नेपाली शिक्षक देश फर्किएका थिए। यही सिलसिलामा उनको परिवार दार्जिलिङ छाडेर झापाको भद्रपुर आइपुग्यो। बाबुले त्यहीँको विद्यालयमा पढाउन थाले।
'त्यतिखेर म उठ्न पनि सक्दिनँ थिएँ। दिसापिसाब ओछ्यानमै गर्नुपर्थ्यो। आमाले मेरा लागि धेरै दुःख गर्नुभयो। बुबाले उपचारको प्रयास जारी राख्नुभएको थियो,' नीरकलाले भनिन्, 'बिस्तारै अस्पतालहरूमा नयाँ सेवाहरू थप भएछन्। डाक्टरले मेरो नसा जाँच गरेर हेरे। नसा मरेको रहेनछ, सन्चो हुने आशा पलाउन थाल्यो।'
लामो समय ओछ्यान पर्दा दोब्रिएका उनका हात खुट्टा तन्काउन धेरै समय लाग्यो। करिब दुई वर्षमा बैसाखीको सहारामा सामान्य हिँड्न सक्ने भइन्। २०१५ सालको निर्वाचनमा बिपी कोइरालाको समर्थनमा भोट हाल्न बैसाखी टेकेर मतदानस्थल पुगेको उनी सम्झन्छिन्।
शारीरिक अवस्थामा सुधार आउन थालेपछि उनी गीता पाठ गर्न थालिन्। अन्य धार्मिक पुस्तकहरू पनि पढिन्। छिमेकी, शिक्षकहरूले उनलाई स्कुल गएर पढ्न उत्साहित गर्न थाले। बाबुले पनि प्रोत्साहन गरे। सबैको आग्रहमा नीरकलाले २९ वर्षको उमेरमा घरमै बसेर स्कुले किताब पढ्न थालिन्।
'बुबाले ६ कक्षाका किताबहरू किनेर ल्याइदिनुभएको थियो। मैले एक महिनामा सबै कण्ठस्थ बनाएँ। अरू दुई महिनामा कक्षा ७ र ८ का किताब पनि घरमै बसेर कण्ठ पारेँ। मेरो क्षमता जाँच गरेपछि विद्यालयले मलाई कक्षा ९ मा भर्नाका लागि सिफारिस गर्यो,' नीरकलाले सुनाइन्, '३१ वर्षको उमेर एसएलसी परीक्षा उत्तीर्ण भएँ।'
लामो समय रोकिएपछि पुनः पढाइ सुरू गरेकाले शैक्षिक प्रमाणपत्रमा भने उनको उमेर वास्तविकभन्दा ८ वर्ष घटाइएको छ।
भद्रपुरमा थोरै परीक्षार्थी भएकाले त्यतिखेर परीक्षा दिन उनलाई धरान पुग्नुपरेको थियो।
'आमा बिरामी भएर थला पर्नुभएको थियो। परीक्षा सकेपछि उपचार गर्न लैजाने सोचेकी थिएँ। तर परीक्षा सकेर फर्किँदा आमा बितिसक्नुभएछ,' उनले भनिन्।
त्यो बेला भद्रपुरमा समाजसेवामा कहलिएकी एक महिला थिइन्। उनी 'मेची आमा' भनेर चिनिन्थिन्।
'मेरी आमाको अन्तिम अवस्थामा उहाँ हाम्रो घरमा पुग्नुभएको रहेछ। आमासँग मलाई संरक्षण दिने वचन दिनुभएको रहेछ,' नीरकलाले भनिन्।
मेची आमा त्यतिखेर महिला संघको केन्द्रीय सदस्य, मेची अञ्चल सभापति थिइन्। राजसभाको सदस्यमा पनि मनोनित भएकी थिइन्।
मेची आमाको वचनअनुसार काम गरेर नै आफ्नो जीवन बदलिएको नीरकला बताउँछिन्। उनकै आड र भरोषामा काठमाडौं पुगेर शिक्षा र स्वास्थ्य सेवा प्राप्त गरेको उनले बताइन्।
शिक्षा कलेजको छात्रावासमा बसेर प्रविणता प्रमाण-पत्र तह (आइए) को पढाइ सुरू गर्न मेची आमाले नै सघाएकी थिइन्। उनीमार्फत हिमालयन शाहकी पत्नी प्रिन्सेप शाह (राजा वीरेन्द्रकी काकी जो नेपाल रेडक्रस सोसाइटीकी संस्थापक सभापति थिइन्) ले पनि सहयोग गरिन्। अन्ततः दोस्रो श्रेणीमा आइए पास गरिन्।
बिएड भर्ना भएको केही समयमा बेलायतबाट आएका हाडजोर्नी सर्जन डाक्टर मार्टिनले उनको शल्यक्रिया गरेका थिए। उपचारपछि उनको खुट्टामा धेरै सुधार आयो। २०२५ सालमा उनले बिएड उत्तीर्ण गरिन्। त्यहाँ सँगै पढ्ने साथीहरूले नै नीरकलालाई चितवन बोलाएका थिए।
'शारीरिक अवस्था ठीक नभएकी मलाई जिल्लाकै पहिलो महिला शिक्षकका रूपमा नयाँ ठाउँमा आएर पढाउनु सजिलो कुरा थिएन। तर मलाई यहाँका शिक्षक, विद्यार्थी सबैले धेरै माया गर्नुभयो। हामी सकेको सहयोग गर्छौं भन्नुभयो। त्यसलाई स्वीकार गरेर बसेँ,' नीरकलाले भनिन्, 'केही वर्षमा यहीँ एउटा घर बनाएँ। बिस्तारै वृद्धाश्रम र ट्रस्ट खोलेर आफूले चाहेको परोपकारको काम गर्न सकेँ।'
उनी मासिक तीन सय ७५ रूपैयाँ तलबमा शिक्षक नियुक्त भएकी थिइन्। सेवानिवृत्त हुनुअघि मासिक ७ हजार ५०० रूपैयाँ पाउँथिन्। अहिले पेन्सन मासिक ३१ हजार रूपैयाँ पुगेको छ।
नेपाल माविमा पढाउँदा उनलाई शिक्षक, विद्यार्थी सबैले 'सिस्टर' भनेर बोलाउँथे। उनी आफूलाई सिस्टर भनेको सुनेर दंग पर्थिन्। चितवनमा सुरूआती दिनबाटै सबैकी सिस्टर बनेकी नीरकलालाई उनले गरेको परोपकारी कामका कारण यस क्षेत्रकी 'मदर टेरेसा' को उपमा पनि दिइन्छ।
'अब त मेरो उमेर पनि धेरै बित्यो। अब वृद्धाश्रम र ट्रस्ट समाजलाई जिम्मा लगाउँछु। सामाजिक संस्था भएकाले समाजले नै चलाउनेछ। म मरेपछि पनि चलाइरहनेछ,' उनले भनिन्, 'म आध्यात्मतिरै लाग्न चाहन्छु। गीता पढ्छु, कृष्णलाई पुज्छु, प्रणामी मान्न थालेकी छु।'
असहाय वृद्ध कल्याण समाजमा बसिरहेका वृद्धवृद्धाहरूः