उत्तरी गोरखामा भारी हिमपात भएको छ।
बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ का स्थानीय निमा दोर्जेले बताए।
‘मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ। अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ,’ उनले भने।
गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबास लगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो।
हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको छ।
‘पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ। केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ,’ उनले भने।
अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए।
हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीय खुसी भएका छन्।
‘हिमपात भएपछि घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ। वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ,’ उनले भने।