रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २६ वर्षीय डम्मर कामी कहिल्यै स्कुल गएनन्। पढ्ने इच्छा नभएको होइन तर गरिबीका कारण पढ्न पाएनन्।
पाँच दाजुभाइमध्ये डम्मर काइँला हुन्। उनको घरनजिकै वन छ। गाउँलेहरू उनलाई ‘वनकाइँला’ भनेर चिन्छन्।
पढ्ने उमेरमा स्कुल पढ्न नपाए पनि केही न केही नयाँ काम गर्ने हुटहुटीले डम्मर गाडीमा काम गर्न थाले। स्थानीय रुटहरूमा चल्ने जीपमा सहचालक बनेर काम गर्दागर्दै उनी चालक भए। पछि ठूला गाडी पनि चलाए। बिहे पनि कमै उमेरमा भइगयो। परिवार ठिकै चल्दै थियो।
पाँच वर्षजति अघिको कुरा हो। पुर्ख्यौली घर रुकुम भएका र नेपालगञ्जमा बसेर व्यावसाय गर्ने तिकल विक (सिहाली) सँग डम्मरको चिनजान भयो। यही चिनजानले अहिले उनलाई निकै ठूलो समस्यामा पारेको छ। ५० लाख रुपैयाँको ऋणी छन्। वित्थैमा लागेको ऋणले उनी आहत छन्।
तिलकले चिनजानको केही दिनमै डम्मरलाई आफ्नो गाडीको चालक बनाए। मासिक ३० हजार रुपैयाँ तलब दिने भए। त्यो समय डम्मर २० वर्ष जतिका थिए।
डम्मरले आफ्नी श्रीमती कल्पनालाई पनि तिलककै घरमा सहयोगीको रूपमा काम गर्न बोलाए।
तिलक अनेक व्यवसायमा संलग्न थिए। उनकी श्रीमती कमला विक कर्णाली विकास बैंकको सेयर सदस्य छिन्। तिलकले नेपालगञ्जमा ‘प्रतीक टुर एन्ड ट्राभल्स’ र ‘प्रतीक निर्माण सेवा’ चलाएका छन्।
तिलकले वाचाअनुसार डम्मर र कल्पना दम्पतीलाई तलब भने दिएनन्। तलब नपाएको लामै समय बित्यो।
यही बीचमा तिलकले २०७६ साल चैतमा एकाएक भने- तिमीलाई पैसा दिन सकिन जग्गा पास गर्दिन्छु। कामको पारिश्रमिक बापत घडेरी पास गरिदिन्छु भनेपछि डम्मर र कल्पना खुसी भए।
नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा रहेको कित्ता नम्बर २८१ को ५४८ वर्गमिटर जग्गा डम्मरको नाममा पास गरिदिने कुरा भयो।
जग्गा पास गर्ने दिन तिलकले डम्मरलाई भनेछन्– अहिलेसम्म काम गरेको तलब बापत जग्गा पास गरिदिएको हुँ।
डम्मरले कर्मचारीले भनेका ठाउँमा ल्याप्चे लगाइदिए। उनी निकै खुसी भए। आफ्नो नामको जग्गाधनीपुर्जा केही दिनमा हातलाग्ने आश्वासन पाए।
त्यसअघि डम्मरले एउटा मोटरसाइकल किनेका थिए। मोटरसाइकल किन्न उनले जीवनबीमामा जम्मा भएको रकमबाट एक लाख १८ हजार रुपैयाँ झिकेका थिए।
नपुग रकम किस्ता तिर्ने गरी मोटरसाइकल लिएका थिए। जग्गा पास गरिदिएपछि तिलकले मोटरसाइकलको किस्ताको बाँकी दुई लाख रुपैयाँ पनि तिरिदिन्छु भने।
एक दिन तिलक डम्मरलाई लिएर कर्णाली विकास बैंक गए। बैंकका कर्मचारीले उनलाई कहाँकहाँ ल्याप्चे लगाउन भने त्यही लगाए। तिलकले त्यसै दिन मोटरसाइकलको किस्ता बापतको सबै रकम बुझाइदिए। आफ्नो नाममा घडेरी भयो। मोटरसाइकलको मूल्य चुक्ता भयो। डम्मर निकै खुसी भए।
त्यो दिन डम्बर खुसी भइरहेका थिए तर उनले बैंकमा लगाएका ल्याप्चेले उनलाई ऋणि बनाइसकेको थियो। डम्मरको नामको जग्गा धितो राखेर ५० लाख कर्जा निकालिएको थियो। हुन त डम्बरको बैंक खातामा पैसा जम्मा भयो। तर उनले त्यो दिन चेकमा ल्याप्चे पनि लगाएर आएका थिए।
केही समय अघि मात्र डम्बरले थाहा पाए आफू त फसिसकेको रहेछु भन्ने कुरा!
डम्मरको नाममा पास भएको जग्गा कर्णाली विकास बैंकका कर्जा विभाग प्रमुख मुकेश गौतमकी श्रीमती गिरिजाकुमारी जोशी गौतमको नाममा रहेछ। आफ्नो खाताबाट ४८ लाख रुपैयाँ बैंकका कर्जा विभाग प्रमुख गौतम लगायतका व्यक्तिमा नाममा सारिसकेछन्।
‘त्यो दिन तिलक सरले मलाई बैंकमा खाता खोल्न जाम् भन्नुभएको थियो, बैंकमा गएर ठाउँठाउँमा ल्याप्चे लगाएर आएको थिएँ,’ डम्मरले भने, ‘उहाँहरूले मेरो नामका तीन वटा चेक बुक पनि निकाल्न लगाउनुभएको थियो। खाली चेकहरूमा ल्याप्चे हान्न लगाउनुभयो।’
डम्मरको नामको एटिएम कार्ड पनि निकालेको पाइएको छ र उनले कार्ड देखेका छैनन्।
मनिकापुरका बासिन्दाहरूका अनुसार डम्मरको भनिएको जग्गाको मूल्य अहिले बढीमा २० लाख रुपैयाँ होला। स्थानीयबासीले अनुमान गरेको मूल्यभन्दा तेब्बर बढी मूल्यांकन गरेर बैंकले ५० लाख रुपैयाँ कर्जा दिएको देखिएको छ।
डम्मरको नामको जग्गा ‘कर्णाली विकास बैंक लिमिटेड, नेपालगञ्ज’ को नाममा रोक्का छ। अहिले आएर आफूलाई सबै कुरा थाहा भएको र पढ्न नजानेको आफूलाई षड्यन्त्र गरेको फसाएको डम्बरले बताए।
‘मैले जग्गाको पुर्जा नै हातमा पाइनँ। मैले किन ५० लाख कर्जा लिनुपर्ने थियो र,’ डम्मर भन्छन्, ‘तिलक र बैंकका कर्मचारी मिलेर बदमासी गरेका हुन्।’
सेतोपाटीलाई प्राप्त बैंक स्टेटमेन्टहरू हेर्दा डम्मरको खाताबाट २६ लाख रुपैयाँ बैंकका कर्जा विभाग प्रमुख गौतमको खातामा सारेको देखिन्छ। रकम सार्नुको कारण ‘जग्गा किन्ने प्रयोजन’ उल्लेख गरिएको छ। १४ लाख रुपैयाँ गौतमकी श्रीमती गरिजाकुमारीको खातामा सारेको देखिन्छ। डम्मरको नाममा तेस्रो किस्तामा आएको सात लाख ४४ हजार रुपैयाँ ‘अष्टलक्ष्मी बिल्डर्स’ का सञ्चालक किरण भण्डारीले निकालेको बैंक स्टेटमेन्टमा देखिन्छ। कर्जा विभाग प्रमुख गौतम र भण्डारी पुरानो चिनजानका साथी हुन्।
यता, डम्मरका अनुसार उनको नामको जग्गा धितो राखेर ऋण स्वीकृत गराएपछि उनी र उनकी श्रीमति कल्पनामाथि तिलकका परिवारले अभद्र व्यवहार गर्न थाले। अति भएपछि डम्मर र कल्पनाले तिलकको घर छाडे। आफ्नो भन्नु त्यही एउटा मोटरसाइकल थियो।
यही बीचमा बैंकका कर्जा विभाग प्रमुख गौतमले सानो काम पर्यो भनेर डम्मरलाई बोलाए।
मोटरसाइकल चढेर डम्मर बैंक पुगे। गौतमले भनेका ठाउँमा ल्याप्चे लगाए। लगत्तै प्रहरीले चोरीको आरोपमा डम्मरलाई पक्राउ गर्यो।
अनि बल्ल थाहा भयो, तिलकले त उल्टै आफ्नो मोटरसाइकल डम्मरले चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिए। मोटरसाइकल तिलकको हातमा परेपछि पक्राउको भोलिपल्ट डम्मर थुनाबाट छुटे अनि सार्वजनिक बसमा घर फर्के।
डम्मरले अहिले तिलकको योजनामा आफू अनपढ व्यक्तिलाई फसाउने षड्यन्त्र रचेकोले उनीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।
‘तिलकको डिजाइनमा म जस्तो अनपढ र गरिबलाई फसाउने खेल भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘मेरो नामको जग्गाबाट कर्जा निकालेर रकम हिनामिना गर्ने बैंकका कर्मचारीमाथि पनि कारबाही हुनुपर्छ।’
केही दिनयता डम्मर ढाड दुख्ने समस्याले पीडित छन्। उनले काम गर्न सकेका छैनन्।
‘मेरो ढाडमा दुई वटा नसा च्यापिएका छन्। उपचार गरिरहेको छु,’ उनले भने ‘मसँग औषधि किन्ने पैसा पनि छैन। म थलिएपछि मेरो घरको अवस्था नाजुक भएको छ।’
नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंक बाँके, बर्दिया र दाङमा सक्रिय छ। हालसम्म यसका १८ वटा शाखा छन्। यो बैंक मध्यपश्चिम र सुदूरपश्चिमको पहिलो विकास बैंक हो।
हामीले यसबारे बैंकका कर्जा विभाग प्रमुख गौतमसँग फोनमा कुरा गरेका थियौं।
उनले आफूले तिलक विकलाई जग्गा बेचेको बताए।
‘श्रीमती गिरिजाकुमारीको नामको जग्गा मैले बेचेको साँचो हो,’ उनले भने, ‘डम्मर नेपालगञ्ज आएपछि सबै कुरा मिल्छ, उसलाई नेपालगञ्ज पठाइदिनुस् न।’
'डम्मर आउँदा कसरी कुरा मिल्छ?'
गौतमले भने, ‘उसको (डम्मरको) नाममा जग्गा छ। मैले तिलकलाई बेचेको हो। अब उसले अर्काको (तिलकको) नाममा पास गरेपछि भइहाल्छ। ऋण अर्कोले बोक्छ। जग्गा फुकुवा हुन्छ।’
आफूलाई केही थाहा नदिई ल्याप्चे हान्न लगाएर ऋण निकालेको भन्ने डम्मरको आरोपबारे गौतमले, ‘डम्मरले झुट बोलेको हो। ऊ यहाँ आए त कुरै सकिन्छ नि, किन मिडिया गुहार्दै हिँड्नु पर्यो?’
गौतमका अनुसार तिलक र डम्बर नाताका मानिस हुन्, तिलक भिनाजु र डम्बर साला। आफूले तिलकलाई जग्गा बेचेको र तिलकले त्यो जग्गा डम्मरको नाममा राखेको गौतमको जिकिर छ।
तिलक र डम्बरको सम्बन्ध बिग्रिएपछि समस्या सिर्जना भएको पनि गौतमको भनाइ छ।
‘तिलकसँग डम्मरको सम्बन्ध के के भयो र आज ऊ (डम्मर) मिडियामा गइरहेको छ,’ गौतमले भने ‘ऊ यहाँ आएपछि मैले गर्नुपर्ने सहयोग गर्छु। जसको नाममा गरिदिनुपर्ने हो, गरिदिन्छु।’
आफूले जग्गा तिलकलाई बेचेको र जग्गा डम्मरको नामका पास भएकोले डम्मरको खाताबाट ४० लाख रुपैयाँ आफू र आफ्नी श्रीमतीको खातामा सारेको गौतमको भनाइ छ।
आफूले चार वर्षअघि नै बेचेको जग्गामा डम्मर र तिलकको विवाद भएको गौतमको भनाइ छ। उनले भने, ‘यसमा एक रुपैयाँ बदमासी भएको छैन।’
गौतमका अनुसार तिलकले कर्जा निकालेर उक्त जग्गा किनेका हुन्। कर्जाको किस्ता पनि उनैले तिर्दै थिए। तिलक र डम्मरको ठाकठुक परेपछि किस्ता आउन छाडेको छ।
उनले भने, ‘जग्गा आज एक करोडको छ। मैले त लोन (कर्जा) बोक्न नसकेर बेच्नु परेको हो।’
जग्गा र कर्जाको विवादबारे जिज्ञासा राख्दा तिलकले आफूले डम्मरबाट पैसा पाउन बाँकी रहेको बताए।
‘नाताले डम्मर मेरो सालो हो। ऊबाट मैले मैले पैसा लिनुपर्ने छ। डिटेल बुझ्न चाहनुहुन्छ भने त्यस (डम्मर) लाई नेपालगञ्ज लिएर आउनू न।’
आफूमाथि षड्यन्त्र गर्नेलाई कारबाही हुनुपर्ने उनको भनाइ छ। गौतम र तिलकले भनेझैँ कुरा मिलाउन डम्बर तयार छैनन्।